रौतहट । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्डको मुडवलबा मोड नजिकै शनिबार राति सडक किनारमा डोरीले बाँधिएको महिलाको शव फेला परेको छ।
सुटकेसभित्र २६ वर्षीया रुबीकुमारी साहको शव भेटिएको हो । यो घटना रौतहटमा यो साता मात्र फेला परेको तेस्रो शवसँग सम्बन्धित रहेको छ, जसले जिल्लाको शान्त वातावरण माथी नै गम्भीर प्रश्नहरू खडा गरेको छ ।
शनिबार राति करिब ८ देखि साढे १० बजेको समयमा गौर–सिरसिया सडकखण्डको मुडवलबा गेट नजिक सडक किनारमा एउटा शंकास्पद सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, सुटकेस डोरीले कस्सिएर बाँधिएको र बेवारिसे अवस्थामा भेटिएकाले तत्काल खोल्न जोखिमपूर्ण ठानिएको थियो । सवै सुरक्षा आत्मसाथ गरेर सुटकेस खोल्दा भित्र सल र डोरीले घाँटी बाँधिएको अवस्थामा महिलाको शव फेला परेको हो । मृतक महिलाको नाकमा रगतका धब्बा थिए र उनको अनुमानित उमेर २५–३० वर्षको देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले शव धेरै पुरानो नभएको र सम्भवतः शुक्रबार दिउँसो वा साँझतिर हत्या भएको हुन सक्ने संकेत गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा मृतकको पहिचान रौतहटको माधव नारायण नगरपालिका–२, माधवपुर माइत भएकी २६ वर्षीया रुबीकुमारी साहको रूपमा भएको छ । डिएसपी कार्कीका अनुसार, रुबीको विवाह भारतको मुजफ्फरपुरमा भएको थियो र उनी एक छोराकी आमा थिइन् । करिब एक महिनादेखि उनी गौरमा डेरा लिएर बस्दै आएकी थिइन् । उनकी आमाले दुई दिनअघि रुबी बेपत्ता भएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् । उनका एक जना छोरा रहेको पनि पत्ता लागेको छ। २६ बर्षिय रुवीको हत्या कसले र किन गरेको भन्ने सन्दर्भमा रौतहट प्रहरीले अनुसन्धान थालिसकेको छ।
प्रहरीले घटनास्थल नजिकैको एक विद्यालयको सीसीटीभी फुटेज जाँच गरिरहेको छ, जसले हत्यारा वा शंकास्पद गतिविधिबारे केही सुराक प्रदान गर्न सक्छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार रुबीको हत्या गरेर उनको शव सुटकेसमा कोचेर सडकमा फालिएको हुन सक्छ । घाँटीमा सल र डोरीले बाँधिएको अवस्था र नाकमा रगतका धब्बाले यो सुनियोजित हत्या भएको संकेत गरेको छ ।
यो घटना रौतहटमा छोटो समयमा भएको तेस्रो रहस्यमयी मृत्युसँग जोडिएको छ यसअघि, सप्तरीका उपेन्द्र भगतको शव नेपाल लजमा मृत अवस्थामा भेटिएको थियो भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो ।





























प्रतिक्रिया