आन्दोलनमा मारिएकाहरुले कसरी पाउँछन् राहत रकम ?

आन्दोलनमा मारिएकाहरुले कसरी पाउँछन् राहत रकम ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जेनजी आन्दोलनमा मारिएका शहीदहरुका आफन्तले राहत प्राप्त गर्नका लागि केही प्रक्रिया पु-याउनु पर्ने भएको छ ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रति परिवार १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख दिने निर्णय गरेको छ । यो रकम अब प्रक्रिया मार्फत आफन्तजनले प्राप्त गर्नेछन् । मन्त्रिपरिषद्को त्यो निर्णय मंगलबार मात्रै गृह मन्त्रालयमा पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिए । अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पुर्‍याउन पर्ने देखिएको छ ।

निर्णयमा लेखिएको छ, ‘शहीदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’

यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ । प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखी पठाउँछ ।

मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन् ।

त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Logo