काठमाडौं । काठमाडौं महानगरपालिकाले ४२ हजार ८५६ सय विद्युतीय सिफारिस जारी गरेको छ ।
आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘सिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क दिएका हुन् ।
महानगरले यो प्रणाली २०८१ माघ १३ गतेबाट कार्यान्वयनमा ल्याएको हो । त्यस दिनदेखि अहिलेसम्म ३५ हजार ४४ जनाले विभिन्न सिफारिसका लागि अनलाइनबाट आवेदन दिएका छन् ।
जसमध्ये गएको वर्ष २३ हजार ८६३ वटा र यस वर्ष १८ हजार ९९३ वटा गरी ४२ हजार ८५६ वटा सिफारिस अनलाइनबाटै स्वीकृत भएका हुन् । चालु आर्थिक वर्षमा मात्र अनलाइनबाट सिफारिस माग गर्नेको संख्या २० हजार ३९८ जना सेवाग्राही छन । यो प्रणालीमा १९५ प्रकारका सेवासँग सम्बन्धित ढाँचा राखिएका छन् ।
यी विवरण सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले, सरकारसँग नागरिकका धेरै काम वडाबाटै सकिने भएकोले नागरिक सेवा सन्तुष्टिमा ध्यान दिन आग्रह गरे ।
विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै उनले भने, ‘अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।’
बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, गत आ. व. को अन्तिम लेखा परीक्षणको तयारी गर्न, वेरुजु फर्छ्याैट गराउने प्रक्रिया अगाडि बढाउन आग्रह गरे । बैठकमा चालु आ. व. को कार्यक्रम कार्यान्वयन, अहिलेसम्म प्राप्त उपलब्धि, महानगरपालिकाको गुनासो व्यवस्थापन प्रणाली र हेल्लो सरकारमा प्राप्त भएका गुनासा फर्छ्याैट , वेरुजु फर्छ्याैटलगायत विषयमा वडाले देखेका र भोगेका समस्या तथा समाधानका विषयमा छलफल भएको थियो ।
छलफलमा राजस्व विभागका प्रमुख दिपक अधिकारी, बहाल कर संकलनमा गएको वर्षसम्मका नीतिगत द्विविधा लेखा परीक्षकहरुलाई बुझाउनु पर्नेमा जोड दिए ।































प्रतिक्रिया