तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ मंसिर २१ देखि २७ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यस हप्तामा मेष राशिका लागि समय केही उतार–चढावयुक्त देखिन्छ । केही दिनदेखि टल्किन नसकेको समस्या यो हप्तामा पनि बनेर रहने सम्भावना छ, जसले गर्दा मनमा अलिकति निराशा वा खिन्नता पैदा हुनसक्छ । योजनाबद्ध कामहरू निर्धारित समयमा पूरा नहुँदा आत्मविश्वासमा पनि असर पर्न सक्छ । आशा गरेको सहयोग नपाउँदा मन भारी हुने सम्भावना छ, तर धैर्यले काम लिन सकेमा स्थिति सजिलै सम्हालिन सक्छ ।

काम–कारोबारका हिसाबले हेर्दा यो हप्ता सामान्य गतिमा चल्नेछ। कुनै ठूलो उछाल नआए पनि स्थिरता भने रहने देखिन्छ। नोकरीपेशा मानिसहरूले कार्यालयमा बोलिने हरेक शब्द र व्यवहारमा विशेष ध्यान दिनुपर्छ। विशेषगरी वरिष्ठ वा सहकर्मीहरूसँग अनावश्यक विवाद वा गलतफहमी हुन नदिन संयम र विनम्रता आवश्यक छ। आफ्नो विचार दिनुपर्ने अवस्थामा पनि धेरै कठोर वा तिखो शैली अपनाउनुभन्दा सन्तुलित प्रस्तुति राम्रो हुन्छ।

हप्ताको शुरूतिर कामकाजका कारण हतार–हतारमा नजिक वा टाढाको यात्रा गर्नुपर्ने परिस्थिति बन्न सक्छ। यात्रा अनिवार्य जस्तै अनुभूति भए पनि यसको फल भने अपेक्षाकृत कम हुने देखिन्छ, जसले थकान बढाउन सक्छ। हप्ताको मध्यतिर स्वास्थ्य केही कमजोर बन्ने सम्भावना भएकाले शरीरमा हल्का ज्वरो, थकान वा मौसमी समस्या देखा परे बेवास्ता गर्नुभन्दा तुरुन्तै ध्यान दिए राम्रो हुन्छ। खानपान र आराममा अलि सचेत रहनु बुद्धिमानी हुनेछ ।

प्रेम सम्बन्धमा उतावलोपनाले अनावश्यक दूरी बढाउन सक्छ, त्यसैले मनमा आएको कुरा तुरुन्तै बोल्नुभन्दा सोचेर बोल्नु उत्तम हुनेछ। देखावटीपन वा अत्यधिक अपेक्षाले सम्बन्धमा तिक्तता आउन सक्छ। वैवाहिक जीवनमा पनि केही संवेदनशीलता देखिने भएकाले जीवनसाथीको स्वास्थ्य र मनोभाव दुवैमा ध्यान दिनु आवश्यक छ।

उपाय- हनुमान चालिसा नित्य पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता मिश्रित परिणाम लिएर आउनेछ । हप्ताको सुरुवातमै कामकाजको चाप केही बढी रहने संकेत छन्। साना–ठूला सबै खाले काममा अपेक्षितभन्दा धेरै दौडधुप गर्नुपर्ने परिस्थितिले थकान बढाउन सक्छ।

स्वास्थ्य र सम्बन्धको हिसाबले हप्ताको प्रारम्भ खासै अनुकूल नदेखिने भएकाले परिवारका सदस्यसँग सानो कुरामा पनि मनमुटाव हुन सक्ने सम्भावना छ। माता–पिता वा घरका ज्येष्ठबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ, साथसाथै पैतृक सम्पत्तिसम्बन्धी विवाद पनि सतहमा आउन सक्छन्।

पढाइ–लेखाइ वा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकाहरूका लागि यो समय अनुकूल छैन। पढाइप्रति ध्यान कमजोर हुन सक्छ, जसले मनचाहा नतिजाका लागि सामान्यताभन्दा बढी परिश्रम गर्न बाध्य पार्न सक्छ। व्यापार–व्यवसाय गर्नेहरूले जोखिमपूर्ण लगानी वा नयाँ योजना तुरुन्तै अघि बढाउँदा सावधानी अपनाउनु आवश्यक छ। हप्ताको उत्तरार्धमा अचानक केही खर्च बढ्ने योग छ, जसले तयार पारेको बजेट एकाएक बिगार्न सक्छ।

प्रेमसम्बन्धमा स्थिति सामान्य रहनेछ। तर विचार नमिल्दा जीवनसाथीसँग हल्का असमझदारी देखिन सक्छ। भावनात्मक रूपमा भने यो हप्ता वृष जातकका लागि केही गहिरो रहन्छ। मन आध्यात्मिकता, शान्ति र अन्तर्मनका प्रश्नतर्फ आकर्षित हुन सक्छ। आर्थिक पक्षले हेर्दा लगानीबाट केही फाइदा प्राप्त हुने संभावना छ। स्वास्थ्यमा मौसमको कारण साना समस्या देखीन सक्छ्न ।

करियरमा बनाइएको मेहनत हाकिम्हरुले बुझ्नेछन् र सराहना गर्ने सम्भावना छ। घरमा सामान्य शान्ति रहनेछ र प्रेमसम्बन्धमा आत्मीयता बढ्ने संकेत छन्। विवाहित जीवनमा पनि आपसी बुझाइ कायम रहनेछ।

उपाय- यस हप्तामा भोजनका लागि चामलको दान गर्नु शुभ मानिन्छ।

मिथुन राशि

यो हप्ता मिथुन राशिका लागि उत्साह, जोश र नयाँ सुरुवातको भावना बलियो रूपमा देखिन्छ । मन धेरै चनाखो रहनेछ, नयाँ काम सुरु गर्ने इच्छा बढ्नेछ र पहिले देखिएका अवसरहरू अब हातमा पर्न थालेजस्तो महसुस हुनेछ । आत्मविश्वास बढ्ने भएकाले काममा लिएको निर्णय पनि प्रभावकारी बन्नेछ ।

आर्थिक रूपमा हेर्दा अलिकति राहत मिल्ने संकेत देखिन्छ । रोकिएको रकम फिर्ता हुने, वा कुनै पुरानो लेनदेन स्पष्ट हुने सम्भावना हुन्छ । तर खर्च पनि सँगै बढ्न सक्छ, त्यसैले अनावश्यक खर्चबाट सकेसम्म टाढा बस्नु उपयुक्त हुन्छ।

स्वास्थ्यतर्फ ध्यान पुर्‍याउनै पर्ने समय हो। विशेषगरी टाउको दुख्ने, माइग्रेन जस्तो समस्या सताउन सक्छ। धेरै घाममा हिँड्नु परेमा सावधानी अपनाउनु राम्रो हुन्छ ।

कामकाज, करियर र दायित्वका दृष्टिले हेर्दा तपाइँलाई नयाँ जिम्मेवारी वा नयाँ काम हात पार्ने सम्भावना देखिन्छ। तपाईंको बोल्ने शैली वा काम गर्ने तरिकाले वरिपरिका मानिसहरू प्रभावित हुनेछन्।

प्रेमतर्फ हेर्दा तपाईंको व्यवहार र संवेदनशीलताले सम्बन्ध अझ नजिक ल्याउनेछ। पुरानो मनमनको आकर्षण पनि खुला रूपमा बाहिरिन सक्छ। दाम्पत्य जीवनमा न्यानोपन बढ्नेछ र सँगै कहाँ–काहीँ जानुपर्ने संकेतसमेत देखिन्छ।

उपाय- प्रतिदिन गणेशजीको पूजा गरी दुबो अर्पण गर्नु, गणेश चालीसा वा ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नु लाभदायक हुनेछ ।

कर्कट राशी

यो हप्ता सामान्य तर केही चापसहितको देखिन्छ । हप्ताको सुरुवातमै कामकाजसँग जोडिएको व्यस्तता बढ्नेछ। कार्यक्षेत्रमा अचानक जिम्मेवारी बढेर आउने सम्भावना छ, जसलाई पूरा गर्न तपाईंले सामान्यभन्दा बढी समय र मेहनत दिनुपर्न सक्छ। घर–परिवारतर्फ पनि प्रारम्भिक दिनहरूमा केही व्यस्तता रहनेछ र कुनै ज्येष्ठ वा बिरामी व्यक्तिको स्वास्थ्यले मनमा हल्का चिन्ता पैदा गर्नसक्छ ।

हप्ताको मध्यतिर साथीभाइ वा कार्यसाथीको व्यवहार केही बदलिएकोजस्तो लागेर मन खिन्न हुन सक्छ। यस्तो अवस्थामा अरूको भर पर्नुभन्दा आफ्नो काम आफूले नै सम्हाल्नु उत्तम हुन्छ । सम्बन्धहरूलाई सहज बनाइराख्न तपाईंले नै पहल गर्नुपर्छ, किनकि सानो प्रयासले पनि तीतोपन हटेर सम्बन्ध फेरि सामान्य बन्नेछ।

हप्ताको उत्तरार्धमा भने एकाएक केही ठूला खर्चहरू आउन सक्छन्, जसले आर्थिक हिसाब–किताब अलिकति हल्लिन सक्छ। त्यसैले अन्त्यतिर गरिने धन–लेनदेन, कागजपत्र वा समझदारीका कामहरूमा विशेष ध्यान दिनुपर्छ। यात्राको योग पनि देखिएर आउनेछ तर थकान वाढ्न सक्छ।

यो हप्ता कर्कट राशिका लागि स्थिरता र व्यवहारिक सोच महत्त्वपूर्ण रहनेछ। काममा वास्तविक प्रगति हुनेछ र तपाईंले समयमै सही निर्णय लिन सक्नुहुन्छ। धन–सम्पत्तिको हिसाबले पुरानो कुनै लगानी वा रोकिएको रकमबाट फाइदा मिल्न सक्छ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या हुन नदिन मसालेदार वा भारी खानाबाट जोगिनु राम्रो हुन्छ।

करियरमा तपाईंले दिएको सुझावलाई कार्यालयमा मान्यता र महत्त्व दिने सम्भावना छ। प्रेमतर्फ हेर्दा पार्टनरसँग भएको भावनात्मक कुराकानीले मन हलुका र दिन विशेष बन्नेछ। घरमा आत्मीयजन वा आफन्त आउन सक्ने संकेत छ, जसले वातावरण खुसीमय बनाउनेछ। वैवाहिक सम्बन्धमा पनि आपसी बुझाइ र भरोसा अझ बढ्नेछ।

उपाय- यस हप्तामा लक्ष्मी मन्त्र जप गर्नाले मनमा शान्ति र आर्थिक पक्षमा मजबुती आउने विश्वास गरिन्छ ।

सिंह राशि

सिंह राशिका लागि यो हप्ता ऊर्जा, उत्साह र सकारात्मकताले भरिएको समय बनिदिनेछ । मन नयाँ कामतर्फ आकर्षित हुनेछ र आत्मविश्वास स्वाभाविक रूपमा बढ्नेछ। घर–परिवारदेखि लिएर कार्यक्षेत्रसम्म तपाईंको बोली, व्यवहार र व्यक्तित्वले वरिपरिका मानिसहरू प्रभावित हुनेछन् । हप्ताको सुरुवातमै कुनै नयाँ काम सुरु गर्ने सोच बलियो भएर आउनेछ र नजिकका मानिसहरूको सहयोग पनि सहजै प्राप्त हुनेछ ।

करियरका हिसाबले हेर्दा तपाईंका कामको प्रशंसा बढ्नेछ । वरिष्ठ वा सहकर्मीहरूले तपाईंको लगन र क्षमता स्वीकार्नेछन्, जसले पदोन्नति वा नयाँ जिम्मेवारी हात पार्ने सम्भावना धेरै बनाउँछ । विदेश सम्बन्धी काम गर्नेहरूका लागि यो हप्ता विशेष शुभ रहनेछ। उच्च शिक्षातर्फ लागिरहेकाहरूका लागि पनि प्रयास सफल हुने योग बनिरहेको छ ।

व्यवसायमा हप्ताको उत्तरार्ध अझै लाभदायी हुनेछ । कुनै ठूलो व्यापारिक सम्झौता वा नयाँ अवसर हात पर्ने संकेत छ । रोकिएको रकम फिर्ता आउने वा संचित धनमा वृद्धि हुने सम्भावना पनि छ । यति हुँदाहुँदै पनि खर्च भने सँगसँगै बढ्न सक्छ, त्यसैले आर्थिक हिसाब मिलाएर अघि बढ्नु राम्रो हुन्छ।

प्रेम र परिवारको पक्ष अत्यन्त सहज र मधुर रहनेछ। पार्टनरसँग न्यानोपन बढ्नेछ र मनमा लुकिरहेको आकर्षण खुला रूपमा व्यक्त हुन सक्छ। दाम्पत्य जीवनमा सँगै सानो यात्रा गर्ने योग पनि देखिन्छ। घरभित्र कुनै विषयमा ठूलाबुबा वा ज्येष्ठ व्यक्तिको सल्लाहले समाधान निकालिनेछ र सम्बन्धहरू अझ बलियो बन्नेछन् ।

उपाय- मनमा सकारात्मकता बढाउन हप्ताभर हनुमान चालीसा वा आदित्य हृदय स्तोत्र पढ्नु लाभदायी रहनेछ।

कन्या राशि

यो हप्ता कन्या राशिका लागि जीवन थोरै छिटपुट रंगमा बग्ने छ, कति बेला शान्त, कति बेला चहलपहल । हप्ताको सुरुवाततिर तपाईंका योजना एकैचोटि अगाडि बढ्ने संकेत देखिन्छ। केही कामहरू जसले ढिलो गरिरहेका थिए, ती पुनः सक्रिय हुने सम्भावना छ । तर यसैबीच मनमा सानो चिन्ता पनि उठ्न सक्छ—काम धेरै, समय थोरै भन्ने अनुभव हुन सक्छ।

घर–परिवारतर्फ पनि केही कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ । कसैको मन बुझाएर बोल्नुपर्ने, कसैलाई समय दिनुपर्ने—यस्ता परिस्थितिहरू आउनेछ । तर यो सबै मिलाएर हेर्दा, सम्बन्धहरू अझै बलियो बन्ने संकेत छ।

वृत्तिगत रूपमा हेर्दा, अफिस/व्यवसाय दुवैमा गति राम्रो रहनेछ। तपाईंले गरेको प्रयास देखिनेछ, र कामको प्रशंसा पनि पाइने छ। कुनै पुरानो रोकिएको कागजी प्रक्रिया वा निर्णय यस हप्तामा सजिलो रूपमा अगाडि बढ्न सक्छ। व्यापार गर्नेहरूका लागि नयाँ ग्राहक वा नयाँ अवसर देखापर्न सक्छ। पैसाको आवागमन चलायमान रहन्छ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ।

स्वास्थ्य पक्षमा हल्का थकान वा सानो तनाव महसुस भए पनि ठूलो समस्या देखिँदैन। आराम र सही खानपानमा ध्यान दिनु राम्रो हुनेछ। प्रेम जीवनका लागि यो हप्ता सहज छ। मनको कुरा खुला रूपमा व्यक्त गर्न सके सम्बन्ध अझ नजिकिने छ। वैवाहिक जीवनमा पनि सहयोग र समझदारी देखिन्छ।

समग्रमा—कन्या राशिका लागि यो हप्ता जिम्मेवारी र अवसरका बीच सन्तुलन मिलाउँदै अघि बढ्ने समय हो। धैर्य, संयम र स्थिर मनोबलले तपाईंलाई हप्ताभर राम्रो साथ दिनेछ।

उपाय- प्रत्येक दिन दुर्गा चालिसा पाठ गर्नु शुभ हुनेछ।

तुला राशि

यो हप्ता तुला राशिका लागि धैर्य, व्यवस्थापन र भावनात्मक सन्तुलनको परीक्षा जस्तै बन्न सक्छ । मन केही संवेदनशील रहन सक्छ, तर घर–परिवारको साथ र समर्थनले हप्ता सहजै कट्टिने छ।

हप्ताको सुरुवातमै आफ्नै निजी समस्याहरू मिलाउने प्रयासमा व्यस्त रहनुपर्ने देखिन्छ। त्यही बेला कार्यक्षेत्रमा पनि अतिरिक्त काम थपिन सक्छ, जसले सुरुमा अलिकति दबाब दिन सक्छ। तर राम्रो कुरा के भने—तपाईंका साथी–सहकर्मीहरू साथ दिन तयार रहनेछन्, जसको सहयोगले तपाईं धेरै कुरा मिलाउँदै अगाडि बढ्न सफल हुनुहुन्छ ।

हप्ताको मध्यतिर सन्तानसँग सम्बन्धित कुनै चिन्ता हट्नेछ र मन हलुका हुनेछ। यसै समयमा काम–धन्दाको सिलसिलामा लामो दूरीको यात्रा पनि हुन सक्छ, जुन फलदायी र नयाँ सम्बन्ध–सम्पर्क बढाउने किसिमको देखिन्छ।

हप्ताको उत्तरार्ध सुरुवातको तुलनामा धेरै राम्रो रहन्छ। लामो समयदेखि मनमा राखेको कुनै इच्छा पुरा हुन सक्छ र घरभित्र खुसीको वातावरण बन्नेछ। पैतृक सम्पत्ति वा घर–जग्गासम्बन्धी विवाद आपसी सहमतिमा टुंगिन सक्छ । पैसाको हिसाबले पनि आय बढ्ने योग छ, र पहिले गरेको लगानीबाट फाइदा हात पर्न सक्छ।

प्रेम सम्बन्धमा विश्वास र नजिकपना बढ्नेछ। कसैको सानो रिस–अफ्ठ्यारो भए पनि तपाईंले सहजै मनाइदिन सक्नुहुन्छ। वैवाहिक जीवन शान्त र समझदारीपूर्ण रहनेछ। घर–परिवारमा कसैको उपलब्धि वा सफलता हुँदा वातावरण अझ उत्साहपूर्ण बन्नेछ।

स्वास्थ्यतर्फ पुरानो कुनै समस्या एक–आध दिन उतार–चढाव गर्न सक्छ, त्यसैले त्यसमा ध्यान दिनु उचित हुन्छ। आर्थिक रूपमा एक्कासी खर्च बढ्न सक्छ, त्यसले सतर्क रहनुपर्छ।

उपाय- हप्ताभर मन शान्त राख्न र ग्रहफल अनुकूल राख्न स्फटिक शिवलिङ्गको पूजा वा शिव चालीसा पाठ गर्नु राम्रो मानिन्छ।

वृश्चिक राशि

यो हप्ता वृश्चिक राशिका लागि ठूला सकारात्मक परिवर्तनको समय हाे । धेरै दिनदेखि मनमा अड्किएका कुरा एक–एक गर्दै खुल्दै जाने संकेत प्रबळ छन्।यदि तपाईं कामको खोजीमा अलमलिनुभएको थियो भने—यो हप्तामा मनपर्ने जागिर वा अवसर भेटिने सम्भावना बलियो छ। पहिले नै काम गरिरहनुभएको छ भने, कार्यक्षेत्रमा मान–सम्मान बढ्ने, जिम्मेवारी थपिने र वरिष्ठ–कनिष्ठ सबैको सहयोग पाउने योग छ।

धनसम्बन्धी कुरा पनि राम्रो देखिन्छ। कुनै ठाउँमा रोकिएको पैसा अप्रत्याशित रूपमा फिर्ता आउन सक्छ। यसले आर्थिक अवस्था मजबुत बनाउनेछ र बचत बढ्ने संकेत छ।

पढाइमा लागेको विद्यार्थी वर्गका लागि त झनै शुभ समय हो। धेरै समयदेखि प्रतीक्षा गरिरहेको परिणाम वा खबर यसै हप्तामा प्राप्त हुन सक्छ। ध्यान केन्द्रित भएर पढाइमा जुट्न सकिनेछ।

व्यवसाय गर्नेहरूका लागि हप्ताको उत्तरार्ध विशेष लाभदायी देखिन्छ। कुनै ठूलो डिल पक्का हुन सक्छ वा पुरानो योजना सफलतापूर्वक अघि बढ्ने संकेत छ।

प्रेम जीवनमा नजिकपना बढ्नेछ। पार्टनरसँग मनको कुरा सहजै खुल्नेछ। वैवाहिक वा दाम्पत्य जीवनमा पनि आपसी समर्पण र समझदारी बढ्नेछ। हप्ताको अन्त्यतिर अचानक तीर्थयात्रा वा धार्मिक स्थान भ्रमणको योग बन्न सक्छ, जसले मनलाई शान्ति र ऊर्जा दिनेछ।स्वास्थ्य पक्ष सामान्य रहन्छ, तर अत्यधिक थकानबाट जोगिनु उत्तम हुनेछ।

उपाय- हरेक दिन हनुमानजीको आराधना गर्दै सुन्दरकाण्ड पाठ गर्नेले मनाेबल, निर्णय क्षमता र ग्रह–अनुकूलता दुवै बढाउँछ।

धनु राशि

यो हप्ता धनु राशिका लागि उत्साह, परिवर्तन र प्रगतिमा भरिएको समय हो। हप्ताको सुरुवातमै धेरै दिनदेखि रोकेर राखिएको कुनै काम अघि बढ्नेछ। मनमा साहस र ऊर्जा बढ्नेछ, जसले निर्णयहरू सही दिशामा लैजान मद्दत गर्छ।

यदि तपाईं जागिरमा हुनुहुन्छ भने नयाँ कामको जिम्मेवारी वा कुनै महत्वपूर्ण प्रोजेक्ट हात पर्न सक्छ। वरिष्ठहरूले तपाईंप्रति भरोसा बढाउनेछन्। व्यवसायमा नयाँ अवसर देखिन सक्छ, विशेष गरेर हप्ताको मध्यतिर आर्थिक लाभको संकेत बलियो छ।

विद्यार्थीहरूले अध्ययनमा राम्रो एकाग्रता पाउनेछन्। कुनै प्रतियोगी परीक्षाको नतिजा पक्षमा आउने सम्भावना छ। घर–परिवारमा रमाइलो माहोल रहनेछ, खासगरी परिवारका सदस्यसँग मेलमिलाप र समझदारी बढ्नेछ।

प्रेम सम्बन्धमा केही मिठास थपिनेछ। पुराना गिलासिकुवा हटेर नजिकपना बढ्ने संकेत छ। वैवाहिक जीवन पनि शान्त र सहज रहनेछ। हप्ताको अन्त्यतिर यात्रा, भेटघाट वा कुनै विशेष कार्यले मन हलुका हुनेछ।

उपाय- बिहान बेलुका गायत्री मन्त्र जप गर्नु लाभदायी हुन्छ।

मकर राशि

यो हप्ता मकर राशिका लागि केही चुनौती, केही अवसर, र धेरै धैर्य आवश्यक पर्ने समयजस्तै छ । सुरुवातमा कामको चाप बढ्न सक्छ र जिम्मेवारी पनि दोब्बर हुने देखिन्छ । तर तपाईंको अनुशासन र लगनशक्तिका कारण धेरै कुरा मिल्दै जान्छ।

अफिसमा सानो–तिनो विवाद वा मतभेद हुन सक्छ, त्यसैले संयमित भएर बोल्नु उत्तम हुन्छ। पैसाको हिसाबमा खर्च केही बढ्न सक्छ, त्यसैले अनावश्यक खर्चबाट बच्नुपर्छ।

हप्ताको मध्यतिर धेरै दिनदेखि रोकिएको काम पूरा हुने संकेत छ। विद्यार्थी तथा प्रतिस्पर्धी परीक्षाका तयारीमा लागेकाहरूका लागि अनुकूल समय रहन्छ। व्यवसाय गर्नेहरूका लागि व्यवहारिक निर्णय महत्वपूर्ण छ—हड्बडीमा गरेको काममा हानि हुन सक्छ।

घर–परिवारमा शान्त माहोल रहनेछ। कुनै सानो–मोटो स्वास्थ्य समस्या जस्तै थकान, शरीर दुख्ने, पेटसम्बन्धी समस्या सताउन सक्छ—विश्राम र खानपानमा ध्यान दिनु उत्तम हुन्छ।

प्रेम सम्बन्धमा स्पष्टता देखिन थोरै समय लाग्न सक्छ, तर अन्त्यतिर सम्बन्ध सहज बन्नेछ। वैवाहिक जीवन सामान्य रूपमा चल्नेछ।

उपाय- शनिबार पीपलको बोटमा दीयो जलाउने वा शनि स्तोत्र पाठ गर्नेले बाधाहरू कम गर्छ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो हप्ता आत्मविश्वास, योजना र नयाँ प्रयोगहरूको समय हो।हप्ताको सुरुवातमै कुनै राम्रो खबर सुन्न पाइन सक्छ, जस्तैः काम, पढाइ वा व्यक्तिगत जीवन सम्बन्धी कुनै सुखद घटना।

कार्यक्षेत्रमा तपाईंको क्षमता चिनिनेछ। सहकर्मी र वरिष्ठ दुवैले तपाईंको कामको प्रशंसा गर्नेछन्। धेरै समयदेखि रोकिएको अवसर फेरी सक्रिय हुन सक्छ। व्यवसायमा नयाँ योजना बनाउने वा पुरानो योजनामा सुधार गर्ने समय राम्रो छ।

आर्थिक रूपमा स्थिती स्थिर रहनेछ, तर हप्ताको अन्त्यतिर केही आकस्मिक खर्च आउन सक्छ—सावधानी अपनाउनु राम्रो हुन्छ। प्रेम जीवनमा रमाइलो समय आउनेछ। पार्टनरसँग खुला संवादको कारण नजिकपना बढ्नेछ। अविवाहितका लागि नयाँ मित्रता वा आकर्षण जन्मिन सक्छ।

घर–परिवारमा मेलमिलाप रहनेछ। कुनै पारिवारिक व्यक्ति वा बुजुर्गको आशीर्वाद मिल्नेछ। यात्रा सम्बन्धी योजनाहरू पनि बन्न सक्छन्। स्वास्थ्य सामान्य रहन्छ तर निद्रा र मानसिक तनावप्रति ध्यान दिनु आवश्यक हुन्छ।

उपाय- हरेक दिन ॐ नमः शिवाय मन्त्र जप गर्नु लाभदायी हुन्छ।

मीन राशि

यो हप्ता मीन राशिका जातकहरूका लागि निर्णय गर्ने र नयाँ कदम चाल्ने उत्तम समय हो । चुनौतीहरू आउँछन्, तर धैर्य र सूझबूझले सफलता पक्का हुनेछ।सुरुवातमा केही कामको बोझ बढ्न सक्छ, तर तपाईंको मेहनत र लगनशक्तिले सबै काम पूरा हुनेछ। घर–परिवारबाट सहयोग मिल्नेछ, जसले मन हलुका बनाउँछ।

कार्य क्षेत्रमा सीनियरहरूले तपाईंको क्षमता देख्नेछन् र अवसर दिन तयार रहनेछन्। नयाँ तालिम, वर्कशप वा प्रशिक्षणको अवसर पाइनेछ, जसले तपाईंको कौशल बढाउनेछ। उच्च शिक्षा वा अनुसन्धानमा लागेका विद्यार्थीहरूले यस हप्तामा फाइदा पाउनेछन्।

हप्ताको मध्यतिर अचानक यात्राको योजना बन्न सक्छ साना–ठूला भेटघाट, तीर्थाटन वा पारिवारिक कार्यक्रम हुने संकेत छ। व्यवसाय र सामाजिक काममा तपाईंको प्रयासको प्रशंसा हुनेछ।

प्रेम जीवनमा नजिकपना बढ्नेछ। साथी वा पार्टनरको आवश्यकतालाई बुझ्दा सम्बन्ध अझ गहिरो हुनेछ। वैवाहिक जीवन सुखमय रहनेछ। माता–पिता र बुजुर्गबाट स्नेह र सहयोग मिल्नेछ। आर्थिक रूपमा बचत बढाउन ध्यान दिनु आवश्यक छ। स्वास्थ्यमा ब्लड प्रेशर र सामान्य थकानको ख्याल गर्नु राम्रो हुन्छ।

उपाय- प्रतिदिन भगवान विष्णु र तुलसीको पूजा गर्नुहोस्।

Skip This
Skip This
Logo