पर्वत
६ महिना भन्दा लामो खडेरीका कारण समयमा बालीनाली लगाउन नपाएका पर्वतको दुर्गम गाउँका किसानले पानी पार्न माइथानमा बोकाको बली दिएका छन् । पर्वतको महासिला गाउँपालिका वडा नं ५ का बासिन्दाले गाउँको बतासे डाडाँमा रहेको माईथानमा बोकाको बलि दिएका हुन । बोकाको बलि दिएको तीन दिन भित्र आकाशबाट पानी पर्ने बिश्वास त्यस क्षेत्रमा रहेको छ ।
असोज देखि पानी नपरेपछि पानी पर्ने बिश्वासमा बोकाको बलि दिइएको स्थानियले बताएका छन् । लामोे खडेरी परेपछि पानी पार्न माइको थानमा पुजा गर्ने पुरानो चलन भएकाले यसपटक पनि पानी पर्ने आशामा बोकाको बलि दिएको स्थानिय बद्री अधिकारीले जानकारी दिए । ‘पुस्तौ देखि यही चलन चल्दै आएको छ’ उनले भने ‘बोकाको बलि दिएको पुजा गरेपछि हरेक पटक तीन दिनमा पानी परेकै छ’ गाउँलेले हरेक घरबाट नगद संकलन गरेर बोकाको बलि दिएका हुन् ।
यस अघि पाँच बर्ष पहिले पनि यसरी नै लामो खडेरी पर्दा माइको थानमा बलि दिइएको थियो । त्यसभन्दा अघि २० बर्ष पहिले पनि यसरी नै बलि दिइएको थियो । पुर्खाहरुले पानी नपरेपछि बलि दिन चलन चलाएका कारण नयाँ पुस्ताले समेत पानी पार्न बलि दिदै आएको छ । ‘स्थानियबासीमा बिश्वास भएका कारण बलि दिने चलन फेरी शुरु भएको हो’अधिकारीले भने ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया