भजन संरक्षणमा जुट्दै रामेछापका युवा

भजन संरक्षणमा जुट्दै रामेछापका युवा

केन्द्रबिन्दु
24
Shares

मन्थली। लोप हुँदै जान लागेको लोक तथा चुड्का भजन संरक्षणका लागि जिल्लाका युवाहरू जुटेका छन् । यस क्षेत्रमा रुचि राख्ने युवाहरूले मन्थलीमा भेला आयोजना गरी भजनको संरक्षणका लागि जुटेका हुन् ।

‘धर्म, संस्कृति हाम्रो पहिचान, पहिचान जोगाउनु नै हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापले आयोजना गरेको पहिलो अधिवेशनबाट निर्वाचित नयाँ टोली यसको संरक्षणमा जुटेको हो ।

यसअघि गाउँघरमा लगाइने रुद्रीपूजा होस् कि सत्यनारायणको पूजा होस्, लाखबत्ती बालेको दिन होस् कि, गृह प्रवेश गरेको दिन होस्, सप्ताहको साङ्गेको दिन होस् रातभर जाग्राम बस्नुपर्ने बेलामा यस्तै वालन भजन, खैजेडी भजन तथा चुड्का भजन गाएर तथा नाचेर रात कटाउने चलन थियो । तर हिजोआज यी सबै हराएर पश्चिमेली शैलीका उछृङ्खल गीत र भजनले स्थान पाउँदै गएको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

लोप हुन लागेको पुराना भजनलाई संरक्षण गर्ने मुख्य उद्देश्यसाथ युवा भेलाको आयोजना गरिएको राष्ट्रिय लोक तथा चुड्का भजन संरक्षण प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष योगेन्द्रराज न्यौपानेले बताए। उनले भने, “हाम्रो प्रयासमा स्थानीय तहहरूले जिल्लाको कला र संस्कृति जोगाउने खालका कार्यक्रमलाई सहयोग गर्नसके यस्ता भजनकीर्तनहरूको संरक्षण गर्न सकिन्छ ।”

बूढापाकाले नसक्नु युवा पुस्तामा यसप्रतिको रुचि नहुनुले यस्ता भजन लोप हुँदै जानुका कारण भएको राष्ट्रिय लोक तथा चुड्का भजन संरक्षण प्रतिष्ठानका सचिव केशवप्रसाद घिमिरेले बताए। हिन्दूहरूको पहिचान बोकेको धर्म, संस्कृति जोगाउने यस्ता वालन भजन, खैजेडी भजन तथा भजनकीर्तन जोगाउनु हामी सबैको कर्तब्य हो, उनले भने ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले यस्ता संस्कृति जोगाउन नगरपालिकाबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Skip This
Skip This
Logo