माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजाआराधना

माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजाआराधना

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका वर्तालुले चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजाआराधना गरेका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधवनारायणका वर्तालुले सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ ।

वर्तालुले आज चाँगुनारायणमा पूजाआराधना सकेपछि साँखु गई आ–आफ्नै घरमा पुगेर भोजन गर्ने व्रत विधि रहेको छ । वर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । भीमसेन जात्रा साँखु बजार घुमाउने प्रचलन रहेको छ ।

माधवनारायणका वर्तालु तेस्रो तीर्थयात्राका लागि बिहीबार राति १० बजे चाँगुनारायण मन्दिर पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा वर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।

माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि वर्तालु माघ शुक्ल एकादशीका दिन राति १० बजे चाँगुनारायण पुगेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । यस वर्षको यो अन्तिम तीर्थयात्रा पनि हो ।

पौष शुक्ल पूर्णिमा अर्थात् गत पुस १९ गतेदेखि साँखुस्थित शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने भक्तजनको घुइँचो छ ।

जसका कारण साँखु एवं शालीनदी जाने सार्वजनिक यातायातमा भीड छ । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । मेलाको मौका पारेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा उठाएको गुनासो भक्तजनले गरेका छन् ।

सार्वजनिक बिदा र शनिबारका दिन धेरै भक्तजन साँखुस्थित शालीनदी जाने गर्छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ ।

शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।

Skip This
Skip This
Logo