बरहथवा। सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश मोटरसाइकल चालक तथा सवार व्यक्ति रहेका छन्। जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको छ। सवारी चालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना बढेको जनाइएको छ। यसलाई नियन्त्रण गर्न विद्यालयका बालबालिका, स्थानीय र पैदलयात्रीलाई सहभागी गराएर दर्जनौँ पटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका सवारी साधनबाट ४८ लाख २८ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरिएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका तथा क्षमताभन्दा बढी सामान बोकेका ट्रकलगायत सवारी साधनलाई कारबाही गरिएको छ । पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको थियो।
प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको व्यवस्था कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीका यात्रुवाहक बस जाँच गर्दा २२ वटा बसले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको छ ।





























प्रतिक्रिया