भक्तपुर। हनुमानघाटस्थित त्रिवेणीधाममा आज एकमहिने कठिन माधवनारायण मेला तथा व्रत सम्पन्न भएको छ। नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भई हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधवनारायण व्रत आज समापन भएको हो।
मेलाको सुरुवातमा महिला र पुरुष व्रतालुले त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेका थिए। समापनका दिन आज व्रतालुले पुनः स्नान, सूर्यलाई जलार्पण, माधवनारायणको पूजा र होमयज्ञ गरी व्रत पूरा गरेका छन्।
शिलालेख र ग्रन्थअनुसार साँखुको शालिनदीभन्दा पहिलेदेखि यो मेला सुरु भएको उल्लेख छ। तत्कालीन राजा रणजित मल्ल स्वयं उपस्थित भएर व्रत सुरु गराएको विवरण पनि शिलालेखमा पाइन्छ। माधवनारायण व्रत बस्नेले त्रिवेणी कुण्डमा दैनिक पूजा गर्ने र माधवनारायण तथा श्रीस्वस्थानीको कथा वाचन गर्ने परम्परा रहँदै आएको छ।
नेपाल संवत् ७२२ मा रणजित मल्लले व्रतको व्यवस्थापन गरेको उल्लेख शिलालेखमा रहेको छ। त्रिवेणीघाटमा स्नान गरी मनले चाहेको कुरा पूरा हुने जनविश्वासका कारण यहाँ व्रत बस्ने र स्नान गर्न आउने चलन रहँदै आएको छ।
व्रतका क्रममा व्रतालुले खाली खुट्टा तिल माधवदेखि तलेजु भवानीसम्म यात्रा गर्ने, सप्तमीमा पनौती पुगेर त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्ने, अष्टमीमा फर्कने, दशमीमा पशुपति स्नान गरी जयवागेश्वरीसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी चाँगुनारायण दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ।
केही व्रतालु एक महिना त्रिवेणीघाटमै बसेर व्रत पूरा गर्छन् भने कतिपय व्रतालु दैनिक बिहान स्नान गर्न आउने र विभिन्न कलश यात्रामा सहभागी हुने गर्छन्। त्रिवेणीधाममा एक महिनासम्म गणेश, कुमार, फूल ल्याउने माली र पाँच जना गुरु पुरोहितमार्फत पूजा तथा व्रतको व्यवस्थापन गरिएको थियो।
त्रिवेणीधाममा महिलाका लागि मात्रै व्रत बस्ने व्यवस्था छ। यस वर्ष महिला र पुरुष गरी ३५ जनाले माधवनारायण व्रत बसेका छन् भने समापनका दिन २०० भन्दा बढी महिलाले स्नान गरी व्रत पूरा गरेका छन्।
हनुमन्ते खोलामा ढल बग्न थालेपछि व्रत बस्नेको संख्या घट्दै गएको व्रतालुको भनाइ छ। भक्तपुर नगरपालिकाले ढल व्यवस्थापन गरे व्रतालुको संख्या बढ्ने अपेक्षा गरिएको छ। मेला सञ्चालनका लागि नगरपालिकाले डोजर प्रयोग गरी स्नानका लागि खाल्डो बनाएको र राति बग्ने पानी तथा इनारको पानी राखेर स्नानको व्यवस्था गरिएको थियो।































प्रतिक्रिया