महोत्तरी। महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राको चौथो दिन महोत्तरी प्रवेश गर्ने यात्री मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनमा पाँच रात बस्नेछन् । ती स्थानमा बास, खाना, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार यात्रालाई व्यवस्थित बनाउन स्थानीय तह, मठमन्दिर र प्रशासनबीच समन्वय भइरहेको छ । मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनका स्थानीय तहले यात्राका लागि आवश्यक तयारी गरेका छन् । कञ्चनवनमा होली महोत्सव पनि आयोजना गरिनेछ ।
फागुन औँसीदेखि पूर्णिमासम्म चल्ने यो यात्रामा महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाका १५ स्थानमा रात्रिबास गर्ने परम्परा छ । धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट श्रीरामको प्रतिमा डोलामा राखेर यात्रा सुरु गरिन्छ । जनकपुरबाट सीताको प्रतिमा पनि साथमा लगिएपछि यात्रा विधिवत् सुरु भएको मानिन्छ ।
नेपाल र भारतका साधुसन्त र सर्वसाधारण सहभागी हुने यो यात्रामा कुल १३३ किलोमिटर दूरी पैदल पार गरिन्छ । यात्रामा राम–सीताका भजन गाइँदै विभिन्न धार्मिक स्थलको परिक्रमा गरिन्छ ।
परम्पराअनुसार यो यात्रा फागुन पूर्णिमाका दिन सम्पन्न हुन्छ । त्यसपछि होलिका दहन गरी भोलिपल्ट होली पर्व मनाइन्छ ।
मिथिला क्षेत्रको प्रमुख धार्मिक यात्राका रूपमा चिनिने माध्यमिकी परिक्रमा व्यवस्थापन स्थानीय तह, मठमन्दिर र जनकपुर क्षेत्र विकास परिषद्को समन्वयमा भइरहेको छ ।





























प्रतिक्रिया