दमौली। डिभिजन वन कार्यालय तनहुँले वन डढेलो नियन्त्रणका लागि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
वन क्षति न्यूनीकरण र समुदायलाई जिम्मेवार बनाउने लक्ष्यसहित स्थानीय तहसम्म पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख मनोज रानाभाटले बताए।
जिल्लामा ६२५ सामुदायिक वन छन्। बाँदरलगायत वन्यजन्तुले बालीमा क्षति पुर्याएको भन्दै केही स्थानमा जानाजानी डढेलो लगाउने प्रवृत्ति देखिएकाले सचेतना आवश्यक रहेको उनले बताए।
कतिपय किसानले वन्यजन्तुबाट जोगिन आगो लगाउने गरेका छन्, जसले वनमा ठूलो क्षति पुर्याउने र वातावरणीय सन्तुलन बिगार्ने जोखिम बढाउने उनले बताए।
सप्ताहव्यापी कार्यक्रममार्फत डढेलो लाग्न नदिन र लागेमा सुरक्षित रूपमा नियन्त्रण गर्ने उपायबारे जानकारी दिइनेछ। समुदायलाई परिचालन गरी सूचना, नियन्त्रण विधि र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने योजना छ।
प्रत्येक सामुदायिक वनमा आगलागीको जोखिम, क्षति र नियन्त्रणका उपायबारे जानकारी गराइनेछ। सबै सदस्य सचेत नभए डढेलो नियन्त्रण प्रभावकारी नहुने भएकाले समुदायसँग सहकार्य बढाइने जनाइएको छ।
घर आसपासको पातपतिङ्गर सफा गर्न लगाइएको आगो वन क्षेत्रमा फैलिने समस्या पनि देखिएको छ। वन डढेलोलाई साझा चुनौतीका रूपमा लिएर सामूहिक प्रयास आवश्यक रहेको कार्यालयको भनाइ छ।
वन डढेलोले तापक्रम वृद्धि गर्नुका साथै वन्यजन्तुको वासस्थान नष्ट गर्ने, माटो कमजोर बनाउने र बाढी, पहिरो, भूक्षयजस्ता जोखिम बढाउने गर्दछ। यसले जैविक विविधतामा ह्रास ल्याउने र नजिकका बस्तीमा समेत क्षति पुर्याउन सक्छ।
गर्मी मौसममा बिडी–चुरोट ननिभाई फाल्ने, वन्यजन्तु भगाउन आगो लगाउने र नयाँ घाँस उमार्न आगो प्रयोग गर्ने कार्यले डढेलोको जोखिम बढाउने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।





























प्रतिक्रिया