रेश्मिका परियार हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

रेश्मिका परियार हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

केन्द्रबिन्दु
24
Shares

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले दोषीलाई तत्काल कारबाही गर्न र छानबिन अघि बढाउन माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईका अनुसार अनुसन्धानमा ढिलाइ भएको भन्दै बुधबार ज्ञापनपत्र बुझाइएको छ।

गत भदौ ३० गते साँझ पञ्चमी बजारस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा काम गर्ने रेश्मिका कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित ‘रमिते’ भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक तथ्यअनुसार उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको भए पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन भन्दै पीडित परिवार र दलित अधिकारकर्मीहरूले आरोप लगाएका छन्।

संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले घटनामा संलग्न व्यक्तिहरू खुलेआम हिँडिरहेको भन्दै पीडित परिवार असुरक्षित भएको बताएका छन्। उनले दोषीलाई चाँडो कारबाही गर्न र परिवारलाई सुरक्षा दिन माग गरेका छन्।

दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले घटनाको निष्पक्ष र सूक्ष्म छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेर दबाबबिनै सत्य बाहिर ल्याउन माग गरिएको बताइन्।

Logo