नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म सञ्चालन भएको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ। गैँडाकोट नगरपालिका र नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीस्थित राइनो क्रुजमा कार्यक्रम गरिएको थियो।
उत्सवमा करिब एक सयभन्दा बढी स्रष्टाले कविता, गजल, गीत तथा कार्यपत्र प्रस्तुत गर्दै साहित्य र पर्यटनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका थिए। उद्घाटन सत्रमा नगरप्रमुख मदनभक्त अधिकारीले बहुभाषिक र बहुसांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए।
कार्यक्रमलाई नदीमाथि आयोजना गरिएको नयाँ अभ्यासका रूपमा लिइएको छ। आयोजक पक्षका अनुसार यसले स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुगेको छ।
इतिहाससँग जोड्दै कार्यक्रममा २०२२ सालमा देवघाटमा डुङ्गामा गरिएको काव्यवाचन कार्यक्रमको स्मरण गरिएको थियो। त्यसयता यस्तो अभ्यास पुनः भएकोले कार्यक्रमलाई विशेष मानिएको छ।
दुई दिनसम्म चलेको उत्सवमा सहभागी स्रष्टाहरूले पर्यटन, प्रकृति र समकालीन समाजका विषयमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। साथै ‘नेपाली पर्यटन काव्यस् सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन र साहित्यबीचको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गरिएको थियो।
कार्यक्रममा काव्यवाचनसँगै विमर्श पनि गरिएको थियो। सहभागीहरूले नेपालमा पर्यटन काव्यको सम्भावना उच्च भए पनि यस क्षेत्रमा अध्ययन र पहल अझै आवश्यक रहेको औंल्याएका छन्।
उत्सवपछि सहभागीहरू मौलाकालिका मन्दिर पुगेर आसपासका क्षेत्रको अवलोकन गरेका थिए।





























प्रतिक्रिया