२०८२ चैत्र २९ देखि वैशाख ५ सम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो साता तपाईंले व्यापारमा भएको घाटा पूर्ति गर्ने अवसर पाउन सक्नुहुन्छ । भविष्यलाई ध्यानमा राखेर ठूलो लगानी गर्ने योजना बन्न सक्छ। जागिर गर्नेहरूको तलब बढ्ने सम्भावना छ। परिवारसँग सम्बन्धित कुनै कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। धार्मिक विश्वास अझ मजबुत हुनेछ र सामाजिक गतिविधिहरूमा रुचि बढ्नेछ। साथीहरूले सहयोग गर्ने प्रयास गर्नेछन्। वैवाहिक जीवन सुखद रहनेछ। उच्च शिक्षामा देखिएका समस्याहरू समाधानतर्फ जाने संकेत छन्।
तर यो साता तपाईंले आफ्नो बोली र व्यवहारमा विशेष ध्यान दिन आवश्यक छ। सानो कुरामा रिसाउने वा अहंकारका कारण कसैलाई कठोर शब्द बोल्दा सम्बन्धमा समस्या आउन सक्छ। विशेषगरी पुराना र नजिकका सम्बन्धमा दूरी आउन सक्ने सम्भावना भएकाले संयम अपनाउनु राम्रो हुनेछ।
स्वास्थ्यतर्फ पनि लापरवाही नगर्नुहोस्, विशेषगरी हप्ताको बीचतिर ध्यान दिनु आवश्यक छ। काम गर्नेहरूका लागि यो समय अलि दबाबपूर्ण हुन सक्छ, अतिरिक्त जिम्मेवारी आउन सक्छ र कामको बोझ बढ्न सक्छ। तर धैर्य राखेर मेहनत गर्दा भविष्यमा राम्रो फल प्राप्त हुनेछ।
आर्थिक हिसाबले यो साता मिश्रित रहनेछ। बीचतिर अचानक खर्च बढ्न सक्छ जसले बजेट प्रभावित हुन सक्छ। तर साथसाथै आम्दानीका नयाँ स्रोत पनि बन्न सक्छन्। त्यसैले खर्चमा नियन्त्रण राख्नु अत्यन्त जरुरी छ।
साताको अन्त्यतिर परिवारसँग समय बिताउने अवसर मिल्नेछ। अचानक यात्रा पनि हुन सक्छ, जसले मानसिक शान्ति दिनुका साथै पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ।कुनै विषयमा द्विविधा भएमा राम्रोसँग जाँच गरेर मात्र निर्णय लिनुहोस्। कार्यक्षेत्रमा थप जिम्मेवारी आउन सक्छ। मुटुसम्बन्धी समस्या भएकाहरूले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। जीवनसाथीमाथि विश्वास कायम राख्नुहोस् र नकारात्मक सोचलाई टाढा राख्नुहोस्। ऋण तिर्ने दबाब रहन सक्छ र लुकेका शत्रुहरू पनि बढ्न सक्छन्, त्यसैले सचेत रहनुहोस्। लोकप्रिय बन्ने प्रयासमा केही बोल्दा सावधानी अपनाउनुहोस्।
उपाय- दैनिक रूपमा गाई र कुकुरलाइ रोटी खुवाउनु शुभ हुनेछ।
वृष राशि
यो साता वृष राशिका व्यक्तिहरूका लागि समग्रमा शुभ, सफल र सन्तोषजनक रहने
संकेत देखिन्छ । हप्ताको सुरुवात निकै सकारात्मक ऊर्जाका साथ हुनेछ र यस समयमा तपाईंले करियर वा व्यवसायसँग सम्बन्धित जुनसुकै काममा प्रयास गर्नुहुन्छ, त्यसमा सफलता पाउने सम्भावना बलियो रहनेछ। लामो समयदेखि अड्किएका कामहरू अगाडि बढ्नेछन् र तपाईंको मेहनतको फल देखिन सुरु हुनेछ।
हप्ताको सुरुवाती दिनहरूमा तपाईंले आफ्नो सुख–सुविधा बढाउने कुनै विशेष वस्तु किन्ने सम्भावना छ । भौतिक सुख–सुविधामा वृद्धि हुने संकेत छ। घर–परिवारमा खुशीको वातावरण रहनेछ र कुनै शुभ कार्य वा उत्सवको आयोजना हुन सक्छ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ, जसले सम्बन्धलाई अझ मिठास बनाउनेछ।
पैतृक सम्पत्तिसँग सम्बन्धित समस्याहरूमा पनि राहत मिल्नेछ। यदि यस क्षेत्रमा केही अवरोधहरू थिए भने ती हट्ने सम्भावना छ। जग्गा–जमिन वा घर खरिद–बिक्रीबाट मनपर्ने लाभ प्राप्त हुन सक्छ। लगानीका लागि समय अनुकूल देखिए पनि ठूलो निर्णय गर्दा सोचविचार गरेर मात्र अघि बढ्नु राम्रो हुनेछ।
शिक्षा क्षेत्रमा रहेका विद्यार्थीहरूका लागि यो साता राम्रो समाचार ल्याउनेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले राम्रो नतिजा पाउन सक्छन् वा कुनै नयाँ उपलब्धि हासिल गर्न सक्छन्। तपाईंको मेहनत र लगनले राम्रो परिणाम दिनेछ र आत्मविश्वास बढ्नेछ।
हप्ताको पछिल्लो भागतिर परिवारका कुनै ज्येष्ठ सदस्यको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ, त्यसैले उनीहरूको हेरचाहमा ध्यान दिनु आवश्यक हुनेछ। यसैबीच अचानक यात्रा हुने सम्भावना पनि छ, जुन छोटो वा लामो दूरीको हुन सक्छ र आवश्यक पनि सावित हुन सक्छ।
यो साता पारिवारिक निर्णयहरूमा तपाईंको भूमिका महत्वपूर्ण रहनेछ। तपाईंका विचार र सुझावलाई परिवारले महत्व दिनेछन्, जसले तपाईंको आत्मविश्वास बढाउनेछ र घरमा तपाईंको स्थान बलियो बनाउनेछ। हप्ताको सुरुवातमै केही राम्रो समाचार प्राप्त हुन सक्छ। विरोधीहरूलाई परास्त गर्ने अवसर मिल्नेछ।
शिक्षा र परिवारका दृष्टिले यो साता महत्वपूर्ण रहनेछ। भविष्यका योजना बनाउनका लागि पनि समय उपयुक्त छ। विवाहयोग्य व्यक्तिहरूका लागि विवाह सम्बन्धी कुरा अघि बढ्न सक्छ। मान–सम्मानसँगै धन लाभ पनि हुनेछ र आफ्नै प्रयासले ठूलो उपलब्धि हासिल गर्न सक्नुहुन्छ।
तर साता सुरुमा सानो चोटपटक लाग्ने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस्। यात्रामा केही कठिनाइ आउन सक्छ। व्यवसाय गर्नेहरूले आफ्ना कर्मचारीहरूको गतिविधिमा ध्यान दिनुपर्छ। उच्च अधिकारीहरूसँग अनावश्यक विवाद नगर्नु राम्रो हुनेछ। अत्यधिक लोभ नगर्नुहोस्। घरका ज्येष्ठ व्यक्तिहरूको सल्लाह लिन नबिर्सनुहोस्, नत्र उनीहरूलाई अपमानित महसुस हुन सक्छ। अनावश्यक काममा समय नखर्चनुहोस्।
उपाय- सूर्योदयभन्दा अगाडि उठेर स्नान गर्नुहोस् र आदित्य हृदय स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
मिथुन राशि
यो साता मिथुन राशिका व्यक्तिहरूका लागि सकारात्मक र लाभदायक रहनेछ। भाग्यको साथ मिल्नेछ र महत्त्वपूर्ण कामहरू पूरा हुने सम्भावना बलियो रहनेछ। तपाईंको प्रयास सफलतामा परिणत हुने संकेत देखिन्छ।
करियर र व्यवसायतर्फ यो साता राम्रो रहनेछ । जागिर गर्नेहरूका लागि उन्नतिको अवसर आउन सक्छ, विशेषगरी महिलाहरूले ठूलो सफलता हासिल गर्न सक्छन् जसले कार्यस्थल र परिवार दुवैमा सम्मान बढाउनेछ। व्यवसायीहरूलाई ठूलो डिल प्राप्त हुन सक्छ, तर ठूलो लगानी गर्नुभन्दा अघि राम्रोसँग सोचविचार गर्नु आवश्यक छ।
आर्थिक अवस्थातर्फ धन लाभको योग छ। आम्दानी बढ्ने सम्भावना रहे पनि खर्चमा नियन्त्रण राख्नु आवश्यक हुनेछ। सही योजना बनाएर अघि बढेमा आर्थिक स्थिति अझ मजबुत बन्न सक्छ। प्रेम र वैवाहिक जीवन सुखद रहनेछ। प्रेम सम्बन्धहरू अझ बलियो हुनेछन् र आपसी विश्वास बढ्नेछ। अविवाहित व्यक्तिहरूको जीवनमा नयाँ सम्बन्ध सुरु हुन सक्छ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ र परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।
स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। तपाईं शारीरिक र मानसिक रूपमा ऊर्जावान महसुस गर्नुहुनेछ, तर कामको चापका कारण थकान हुन सक्छ, त्यसैले आरामका लागि समय छुट्याउनु आवश्यक छ।
शिक्षा क्षेत्रमा विद्यार्थीहरूका लागि समय अनुकूल छ। ध्यान केन्द्रित गर्न सकिनेछ र परीक्षामा राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। मेहनतको राम्रो फल पाइनेछ। यो साता तपाईंले मानिसहरूको नेतृत्व गर्नुपर्ने अवस्था पनि आउन सक्छ। सहकर्मीहरूसँग सम्बन्ध राम्रो रहनेछ। दान–पुण्य र सेवामूलक कार्यमा रुचि बढ्नेछ। व्यवसायमा परिवर्तन गर्ने सोच पनि आउन सक्छ।
तर हप्ताको सुरुवाततिर बिना कारण यात्रा गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा केही कमजोरी र थकान महसुस हुन सक्छ। साथीहरूबाट धेरै अपेक्षा नगर्नु राम्रो हुनेछ। महिलाहरूले सुरक्षामा ध्यान दिनु आवश्यक छ। विवाह सम्बन्धी निर्णयमा हतार नगर्नुहोस्। केही मानिसहरूले तपाईंको ध्यान भड्काउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। प्रेम सम्बन्धमा धोका पाउने सम्भावना पनि रहन सक्छ।साताको अन्त्यतिर नजिकका आफन्तसँग विचार नमिल्न सक्छ, त्यसैले विवाद र बहसबाट टाढा रहनु नै राम्रो हुनेछ।
उपाय- नियमित रूपमा हनुमान चालीसाको पाठ गर्नु शुभ हुनेछ।
कर्कट राशि
यो साताले कर्कट राशिका व्यक्तिहरूका लागि मिश्रित परिणाम दिने देखिन्छ । तपाईंले सोचेका धेरै कामहरू पूरा हुनेछन् तर बीच–बीचमा केही ढिलाइ वा अवरोध आउन सक्छ। त्यसैले धैर्य राख्नु अत्यन्त आवश्यक छ। हतारमा निर्णय गर्दा समस्या बढ्न सक्छ, त्यसैले योजनाबद्ध र सन्तुलित रूपमा काम गर्नु नै तपाईंका लागि फाइदाजनक हुनेछ।
हप्ताको सुरुवात विशेष रूपमा सुखद रहनेछ। व्यवसायमा सहकर्मीहरूसँग सम्बन्ध राम्रो राख्न सक्नुहुनेछ र व्यावसायिक काममा निकै व्यस्त रहनुहुनेछ। तपाईंको ज्ञान र क्षमताको कदर हुनेछ र समाजमा सम्मान बढ्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। भौतिक सुख–सुविधा बढाउने योजना बन्न सक्छ। रोकिएका कामहरू पनि समाधानतर्फ जानेछन्। समान सोच भएका साथीहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। करियरका नयाँ विकल्पबारे सोच्ने समय पनि यही हुनेछ र तपाईं सकारात्मक सोचमा रहनेछ।
तर परिवारमा अनुशासन कायम राख्नु आवश्यक हुनेछ। घरका ज्येष्ठ सदस्यहरूको सम्मान गर्न नबिर्सनुहोस्। केही अवस्थामा ऋण लिनुपर्ने हुन सक्छ तर त्यसलाई छिट्टै तिर्ने प्रयास गर्नु राम्रो हुनेछ। रिस र चिडचिडापनका कारण जीवनसाथीसँग विवाद हुन सक्छ, त्यसैले आफ्नो व्यवहारमा नियन्त्रण राख्नु आवश्यक छ। पछाडि कुरा गर्ने मानिसहरूबाट टाढा रहनुहोस्। कुनै अप्रिय घटना पनि हुन सक्छ जसले मन खिन्न बनाउन सक्छ। नयाँ प्रेम सम्बन्धमा अत्यधिक आसक्त नहुनु राम्रो हुनेछ। मौसमका कारण आलस्य र सुस्ती बढ्न सक्छ।
व्यवसाय गर्नेहरूका लागि यो साता सतर्क रहने संकेत देखिन्छ। कुनै नयाँ लगानी वा योजना अघि बढाउँदा राम्रोसँग जाँच–पड्ताल गरेर मात्र निर्णय लिनुहोस्। हतार वा भ्रममा लिएको निर्णयले आर्थिक नोक्सानी गराउन सक्छ, त्यसैले प्रत्येक कदम सोचविचार गरेर चाल्नु आवश्यक छ।
हप्ताको बीचतिर स्वास्थ्य र सम्बन्ध दुवैमा केही चुनौती आउन सक्छ। खानपान र दैनिक दिनचर्यामा विशेष ध्यान दिनुहोस्। पहिलेबाट कुनै स्वास्थ्य समस्या छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। हप्ताको अन्त्यतिर जागिर गर्नेहरूलाई अचानक अतिरिक्त कामको जिम्मेवारी आउन सक्छ। कामको दबाब बढ्दा मानसिक तनाव पनि हुन सक्छ, तर सही योजना र धैर्यका साथ काम गर्नुभयो भने सबै कुरा व्यवस्थित गर्न सक्नुहुनेछ।
उपाय- हरेक दिन “ॐ चन्द्राय नमः” मन्त्र जप गर्नुहोस्। सोमबारका दिन दूध वा सेतो मिठाई दान गर्नु लाभदायक हुनेछ।
सिंह राशि
यो साता सिंह राशिका व्यक्तिहरूका लागि सतर्कता र सन्तुलन आवश्यक रहने देखिन्छ । विशेषगरी आफ्नो रिस र अहंकारमा नियन्त्रण राख्नु अत्यन्त जरुरी हुनेछ, किनकी सानो गल्तीले पनि बनेका काम बिग्रन सक्छन् । संयम र समझदारीका साथ अघि बढ्नुभयो भने धेरै सम्भावित समस्याबाट बच्न सक्नुहुनेछ।
यो साता तपाईं निकै व्यस्त रहनुहुनेछ। उच्च पदमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेछन्। विदेश यात्रा गर्ने योजना छ भने समय अनुकूल देखिन्छ। अरूको खुशीमा खुशी हुने स्वभावले तपाईंलाई सन्तुष्टि दिनेछ। साथीभाइ र सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ। व्यवसायमा क्रमिक प्रगति हुने संकेत छ। सम्बन्धहरूलाई नयाँ ऊर्जा दिन आवश्यक महसुस हुनेछ। जीवनसाथीले घुम्न जाने इच्छा व्यक्त गर्न सक्छ। अनिद्राको समस्या कम हुँदै जानेछ।
तर कार्यक्षेत्रको तनाव पारिवारिक जीवनमा असर नपरोस् भन्नेमा ध्यान दिनु आवश्यक छ। आँखासम्बन्धी समस्या देखिन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। तनाव कम गर्न योग वा ध्यान गर्नु लाभदायक हुनेछ। अरूको मामिलामा अनावश्यक राय दिनुबाट टाढा रहनुहोस्, नत्र नजिकका मानिसहरू रिसाउन सक्छन्। राजनीति वा सामाजिक क्षेत्रमा लागेकाहरूले आफ्नो प्रतिष्ठामा विशेष ध्यान दिनुपर्नेछ। विरोधीहरूले तपाईंविरुद्ध कुरा गर्ने प्रयास गर्न सक्छन्। हप्ताको अन्त्यतिर केही प्रतिकूल परिस्थिति देखिन सक्छ, त्यसैले धैर्य राख्नु नै उत्तम हुनेछ।
हप्ताको सुरुवातमा कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुन सक्छ, चाहे छोटो होस् वा लामो । यो यात्रा आवश्यक पनि हुन सक्छ र नयाँ अनुभव दिनेछ, तर यात्रा गर्दा सतर्क रहनुहोस्।
हप्ताको बीचतिर कार्यस्थलमा केही चुनौती आउन सक्छ। वरिष्ठ र कनिष्ठबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। साथै विरोधीहरू सक्रिय भएर काममा बाधा पुर्याउने प्रयास गर्न सक्छन्। यस्तो अवस्थामा आफ्नो काममा ध्यान केन्द्रित गर्नु र साना कुराहरूलाई बेवास्ता गर्नु राम्रो हुनेछ।
हप्ताको पछिल्लो भागतिर अवस्था विस्तारै तपाईंको पक्षमा आउन थाल्नेछ। घरका महिलाहरू धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि राख्नेछन्, जसले घरको वातावरण शान्त र सकारात्मक बनाउनेछ। जागिर गर्नेहरूका लागि अतिरिक्त आम्दानीको स्रोत बन्ने सम्भावना छ, जसले आर्थिक अवस्था मजबुत बनाउनेछ।
उपाय- ॐ नम शिवाय मन्त्रको दैनिक १०८ जप गर्नुहाेस् ।
कन्या राशि
यो साता कन्या राशिका व्यक्तिहरूका लागि समग्रमा राम्रो रहने देखिए पनि आफ्नो जिद्दीपन वा अहंकारका कारण समस्या आउन सक्ने संकेत छ । कुनै पनि समस्या समाधान गर्दा रिस र घमण्डबाट टाढा रहनु अत्यन्त आवश्यक हुनेछ, चाहे त्यो कामको क्षेत्र होस् वा व्यक्तिगत जीवन।
हप्ताको सुरुवातमा सानो दाजु–भाइ वा दिदी–बहिनीसँग कुनै विषयमा विवाद हुन सक्छ । यस्तो अवस्थामा कुराकानीमार्फत समाधान खोज्नु राम्रो हुनेछ र आफ्ना हितैषीहरूको सल्लाहलाई बेवास्ता नगर्नुहोस्। कार्यस्थलमा विरोधीहरूले तपाईंलाई लक्ष्यबाट विचलित गराउने प्रयास गर्न सक्छन्, त्यसैले साना कुराहरूलाई बेवास्ता गरेर आफ्नो काममा केन्द्रित रहनु उत्तम हुनेछ।
हप्ताको दोस्रो भागमा अनपेक्षित रूपमा स्थानान्तरण हुन सक्छ वा मन नपरेको जिम्मेवारी आउन सक्छ। व्यवसाय गर्नेहरूले बजारमा अड्किएको पैसा वा नयाँ योजना अघि बढाउँदा हतार नगर्नुहोस्, सोचविचार गरेर निर्णय लिनु आवश्यक हुनेछ।प्रेम सम्बन्धलाई अगाडि बढाउँदा सावधानी अपनाउनुहोस्, नत्र समस्या आउन सक्छ। जीवनसाथीको भावना र आवश्यकतालाई बेवास्ता नगर्नुहोस्।
यद्यपि समग्रमा यो साता सकारात्मक रहनेछ । कुनै पुरस्कार वा सम्मान प्राप्त हुने सम्भावना छ।। रोकिएको पैसा प्राप्त हुन सक्छ। मानिसहरूले तपाईंको सल्लाह लिन रुचि देखाउनेछन्। तपाईंभित्र सकारात्मक ऊर्जा महसुस हुनेछ। अविवाहित व्यक्तिहरूको विवाहको कुरा अघि बढ्न सक्छ। अनुभवी व्यक्तिहरूबाट मार्गदर्शन प्राप्त हुनेछ।
तर हप्ताको सुरुवातमै सहकर्मीसँग विवाद हुन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। आफ्ना महत्वपूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्। मंगलबारपछि बुबाको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ। मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले धेरै शारीरिक श्रम नगर्नु राम्रो हुनेछ। अचानक अस्पताल जानुपर्ने अवस्था पनि आउन सक्छ । निराश व्यक्तिहरूको संगतबाट टाढा रहनुहोस्। कामको दबाबका कारण व्यक्तिगत जीवन प्रभावित हुन सक्छ।
उपाय- दैनिक रूपमा सूर्यदेवलाई अर्घ्य दिनु शुभ हुनेछ।
तुला राशि
यो साता तुला राशिका व्यक्तिहरूका लागि सुरुको भाग निकै व्यस्त रहनेछ। हप्ताको सुरुवातमै अचानक ठूला खर्चहरू आउन सक्छन् जसले तपाईंको बजेट बिगार्न सक्छ। कुनै आवश्यक काम पूरा गर्न संचित धनसमेत खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। कार्यक्षेत्रमा कामको चाप बढी रहनेछ र त्यसलाई व्यवस्थापन गर्न अतिरिक्त मेहनत गर्नुपर्नेछ । वरिष्ठ र कनिष्ठबाट अपेक्षित सहयोग नपाउँदा मन केही खिन्न हुन सक्छ।
हप्ताको बीचतिर परिवारमा कुनै प्रिय व्यक्तिको आगमनले खुशीको वातावरण बन्नेछ। यस समयमा पिकनिक वा तीर्थयात्रा जस्ता योजना बन्न सक्छन् जसले मनलाई हल्का बनाउनेछ।
व्यवसायिक दृष्टिले हप्ताको दोस्रो भाग पहिलेभन्दा राम्रो र लाभदायक रहनेछ। ठूलो डिल गर्ने वा व्यापार विस्तार गर्ने योजना सफल हुन सक्छ। हप्ताको अन्त्यतिर प्रेमी वा जीवनसाथीबाट कुनै सरप्राइज उपहार पाउने सम्भावना छ। दाम्पत्य जीवन सुखद रहनेछ।
यो साता नयाँ काम सुरु गर्नका लागि राम्रो समय हुनेछ। बालबालिकाको व्यवहारबाट खुशी मिल्नेछ। घरमा सुख–समृद्धिको वातावरण रहनेछ। फिल्म, शिक्षा वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि समय विशेष राम्रो रहनेछ। सूर्यको अनुकूल प्रभावका कारण आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। कामको व्यस्तताका बाबजुद पनि पारिवारिक जिम्मेवारी राम्रोसँग निभाउन सक्नुहुनेछ। रचनात्मक कार्यप्रति रुचि बढ्नेछ।
तर हप्ताको सुरुवातमा घरायसी विषयमा केही चिन्ता रहन सक्छ र कुनै घटनाले मन खिन्न बनाउन सक्छ। राजनीति वा सामाजिक क्षेत्रमा लागेकाहरूलाई केही समस्या आउन सक्छ। आफ्नो बोलीमा नम्रता राख्नु आवश्यक छ। खराब संगतबाट टाढा रहनुहोस्, नत्र सामाजिक छविमा असर पर्न सक्छ। दाजुभाइसँग मनमुटाव हुन सक्छ। अरूले तपाईंको काममा हस्तक्षेप गर्न सक्छन्। इन्टरभ्युमा सफलता पाउन कठिन हुन सक्छ। आइतबार यात्रा नगर्नु राम्रो हुनेछ र मंगलबार कसैलाई ऋण दिनबाट बच्नुहोस्।
उपाय- दैनिक रूपमा सूर्यदेवलाई तिल र गुड मिसाएर अर्घ्य दिनु शुभ हुनेछ।
वृश्चिक राशि
यो साता वृश्चिक राशिका व्यक्तिहरूका लागि समग्रमा शुभ र सफलतादायक रहनेछ, यद्यपि साना–तिना समस्याहरू आउन सक्छन्। हप्ताको सुरुवातमा रोजगारीसम्बन्धी प्रयासहरू सफल हुनेछन्। यदि तपाईं जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्थ्यो भने कुनै ठूलो संस्थाबाट राम्रो अफर आउन सक्छ। विदेशमा करियर वा व्यवसाय गर्न खोज्नेहरूका लागि देखिएका अवरोधहरू हट्नेछन्। उच्च शिक्षाका लागि गरेका प्रयासहरू पनि सफल हुनेछन्।
साझेदारीमा व्यवसाय गर्नेहरूले पैसाको लेनदेनमा विशेष सावधानी अपनाउनु आवश्यक छ। सबै कुरा स्पष्ट गरेर मात्र अगाडि बढ्नु राम्रो हुनेछ। तपाईंको जीवनशैली अनुशासित रहनेछ। पुरानो लगानीबाट राम्रो लाभ मिल्ने सम्भावना छ। सामाजिक गतिविधिहरूमा रुचि बढ्नेछ। बायोटेक्नोलोजी वा अनुसन्धानसँग सम्बन्धित क्षेत्रमा लागेकाहरूले विशेष लाभ पाउन सक्छन्।
तपाईंले आफ्नो कमाइलाई सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ। मानिसहरूले आफ्ना समस्या तपाईंलाई साझा गर्न सक्छन् र तपाईंले केही महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। परिवारका सदस्यहरूलाई खुशी राख्ने प्रयास गर्नु राम्रो हुनेछ।
तर हप्ताको सुरुवात केही खर्चिलो हुन सक्छ। अपरिचित व्यक्तिहरूमा धेरै विश्वास नगर्नुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा उतार–चढाव देखिन सक्छ। शरीरमा रगतको कमी जस्ता समस्या भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस्। नियमित व्यायाम गर्नु आवश्यक छ। यात्रा गर्दा आफ्ना कागजात र सामानको राम्रोसँग हेरचाह गर्नुहोस्। लिभरसम्बन्धी समस्या वा शरीरमा गर्मी बढ्ने सम्भावना हुन सक्छ, त्यसैले खानपानमा नियन्त्रण राख्नुहोस्।
हप्ताको पछिल्लो भाग स्वास्थ्यका दृष्टिले अलि कमजोर रहन सक्छ। पुराना वा मौसमी रोगहरू देखिन सक्छन्, त्यसैले दैनिक जीवनशैली र खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। प्रेम सम्बन्धका दृष्टिले यो साता राम्रो रहनेछ। यदि तपाईं कसैलाई आफ्नो भावना व्यक्त गर्न चाहनुहुन्छ भने सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ र आपसी समझदारी बढ्नेछ।
उपाय- हरेक दिन “ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
धनु राशि
यो साता धनु राशिका व्यक्तिहरूका लागि व्यस्तता र भागदौडले भरिएको रहनेछ। हप्ताको सुरुवातमा कामको चाप निकै बढ्न सक्छ । कार्यक्षेत्रमा अचानक ठूलो जिम्मेवारी आउन सक्छ, जसका लागि तपाईंले अतिरिक्त समय र मेहनत दिनुपर्नेछ। परीक्षा वा प्रतिस्पर्धाको तयारी गरिरहेका विद्यार्थीहरूले मनचाहा सफलता पाउन आलस्य त्यागेर कडा मेहनत गर्नुपर्नेछ।
हप्ताको बीचतिर कुनै प्रभावशाली व्यक्तिसँग भेट हुने सम्भावना छ, जसको सहयोगले भविष्यमा लाभदायक अवसर प्राप्त हुन सक्छ। लामो समयदेखि रोकिएको काम पूरा हुँदा मन प्रसन्न रहनेछ। यस समयमा परिवारसँग तीर्थयात्रा वा घुमघामको योजना बन्न सक्छ।
हप्ताको सुरुवात निकै राम्रो रहनेछ । आफन्तहरूसँग सम्बन्ध मधुर रहनेछ र मानिसहरूको विश्वास तपाईंप्रति बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा रमाइलो अनुभव हुनेछ। जीवनसाथीले तपाईंको मनोबल बढाउनेछ। व्यवसायमा राम्रो अर्डर प्राप्त हुन सक्छ। प्रशासन वा सरकारी क्षेत्रमा लागेकाहरूका लागि समय विशेष अनुकूल रहनेछ। केही जटिल समस्याहरूको समाधान तपाईंले नै गर्न सक्नुहुनेछ, जसले तपाईंको सम्मान बढाउनेछ। मंगलबार र बुधबार विशेष शुभ रहनेछन्।
तर स्वास्थ्यका दृष्टिले हप्ताको दोस्रो भाग केही कमजोर रहन सक्छ। खानपान र दिनचर्यामा विशेष ध्यान दिनुहोस्। व्यवसायमा छोटो फाइदाका लागि ठूलो नोक्सानी हुने निर्णय नगर्नुहोस्। कुनै पनि योजना वा कागजातमा हस्ताक्षर गर्नु अघि राम्रोसँग बुझ्नु आवश्यक छ।
प्रेम जीवनमा नजिकियत बढ्नेछ र प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर मिल्नेछ । दाम्पत्य जीवन पनि सुखद रहनेछ। व्यवसाय विस्तार गर्न बढी दौडधूप गर्नुपर्ने हुन सक्छ। बच्चाहरूमा आत्मविश्वासको कमी देखिन सक्छ, त्यसमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धका समस्याहरूलाई संवादमार्फत समाधान गर्नु राम्रो हुनेछ।
स्वास्थ्यतर्फ किड्नीसम्बन्धी समस्या भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनुहोस्। भारी वा गरिष्ठ खाना नखानु राम्रो हुनेछ। आवश्यक ठाउँमा खर्च गर्न कन्जुसी नगर्नुहोस्। महिलाहरूमा हड्डीसम्बन्धी कमजोरी देखिन सक्छ। नकारात्मक सोचबाट टाढा रहनुहोस् र पर्याप्त निन्द्रा लिनु अत्यन्त जरुरी छ।
समाधान- शिवलिङ्गमा उखुको रसले अभिषेक गर्नु शुभ हुनेछ।
मकर राशि
यो साता मकर राशिका व्यक्तिहरूका लागि केही चुनौतीपूर्ण रहने संकेत देखिन्छ । जागिर गर्नेहरूलाई कार्यस्थलमा वरिष्ठ र कनिष्ठबाट अपेक्षित सहयोग कम मिल्न सक्छ। परिवारका सदस्यहरूसँग सानो विषयमा विवाद हुँदा मनमा चिन्ता बढ्न सक्छ।
हप्ताको सुरुवातमा घरायसी समस्या बढ्न सक्छ, जसका कारण स्वभावमा रिस र चिडचिडापन देखिन सक्छ। यस्तो अवस्थामा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस्, किनकि चोटपटक लाग्ने सम्भावना छ। कठिन समयमा कुनै नजिकको साथीले ठूलो सहयोग गर्न सक्छ, जसले तपाईंलाई पेशागत तथा पारिवारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेछ।
हप्ताको पछिल्लो भागमा व्यवसायको सिलसिलामा लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। यात्रा गर्दा स्वास्थ्य र सामानको राम्रोसँग हेरचाह गर्नुहोस्। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोस् र कागजी काममा लापरवाही नगर्नुहोस्।
यद्यपि यो साता घर र कार्यक्षेत्र दुवैमा केही हदसम्म खुशीको वातावरण पनि रहनेछ। करियरमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। तपाईंको व्यवहारमा नम्रता रहनेछ। तीर्थयात्राको अवसर मिल्न सक्छ। उच्च अधिकारीहरूसँग विचार नमिले पनि पदोन्नतिको सम्भावना देखिन्छ। कुनै महत्वपूर्ण बैठकमा सहभागी हुन सक्नुहुन्छ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध राम्रो राख्नु फाइदाजनक हुनेछ र राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क मजबुत बन्न सक्छ।
प्रेम जीवनमा सावधानी अपनाउनुहोस् र आफ्नो पार्टनरको भावना तथा अवस्थालाई बुझ्ने प्रयास गर्नुहोस्। जीवनका कठिन समयमा जीवनसाथीले साथ दिनेछ। परिवारका सदस्यहरूको स्वास्थ्यप्रति चिन्ता हुन सक्छ। महत्वपूर्ण कामहरूमा मन केन्द्रित गर्न कठिन हुन सक्छ। आफन्तहरूसँग सम्बन्ध राम्रो राख्नुहोस्। सानो कुरालाई बढाइचढाइ गरेर नबताउनुहोस्, नत्र तपाईंप्रतिको विश्वास घट्न सक्छ। कतिपय अवस्थामा अरूमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। आफ्ना गल्तीहरू लुकाउने प्रयास नगर्नुहोस् र अनावश्यक चिन्ताबाट टाढा रहनुहोस्। कुनै ठूलो निर्णयमा अन्योलता हुन सक्छ। साना बच्चाहरूमा रुघाखोकीको समस्या देखिन सक्छ।
उपाय- दैनिक रूपमा ‘गजेन्द्र मोक्ष’को पाठ गर्नु शुभ हुनेछ।
कुम्भ राशि
यो साता कुम्भ राशिका व्यक्तिहरूका लागि शुभता र सौभाग्य ल्याउने देखिन्छ । लामो समयदेखि ट्रान्सफर वा प्रमोशनको प्रतीक्षामा रहेका व्यक्तिहरूका लागि हप्ताको सुरुवात विशेष रूपमा शुभ रहनेछ। मनचाही स्थानमा सरुवा हुने सम्भावनाले घरमा खुशीको वातावरण बन्नेछ। व्यवसाय गर्नेहरूले राम्रो नाफा कमाउने योग देखिन्छ।
यदि तपाईं लामो समयदेखि व्यवसाय विस्तारको योजना बनाइरहनुभएको छ भने, यो साता त्यो इच्छा पूरा हुने संकेत छ। यसमा परिवार र नजिकका साथीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ।
हप्ताको बीचतिर तपाईंले विलासितासँग सम्बन्धित कुनै वस्तु किन्ने सम्भावना छ। जग्गा–जमिन वा घर किनबेच गर्ने चाहना पनि पूरा हुन सक्छ। समाज सेवासँग जोडिएका व्यक्तिहरूको मान–सम्मान बढ्नेछ र उनीहरूले पुरस्कार समेत पाउन सक्छन्। हप्ताको पछिल्लो भागमा कुनै प्रभावशाली व्यक्तिसँग भेट हुने अवसर मिल्नेछ, जसको सहयोगले सरकारी योजनाबाट लाभ लिन सकिने सम्भावना छ। दाम्पत्य जीवन सुखद रहनेछ र जीवनसाथीसँग धार्मिक यात्राको योजना बन्न सक्छ।
कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्धमा रोमान्स बढ्नेछ। जीवनसाथी तपाईंप्रति खुसी रहनेछन्। धेरै कामको दबाब भए पनि तपाईंले सजिलै व्यवस्थापन गर्न सक्नुहुनेछ। पुराना साथीहरूसँग भेटघाट हुन सक्छ। आफ्नो क्षमता र प्रतिभा विकास गर्ने अवसर प्राप्त हुनेछ। ज्येष्ठ व्यक्तिहरूको सल्लाह लिनु लाभदायक हुनेछ।
तर हप्ताको सुरुवात केही कमजोर रहनेछ। परिवारका सदस्यहरूसँग विचार नमिल्न सक्छ, त्यसैले घरायसी विषयमा शान्त र संयमित रहनुहोस्। अनावश्यक विवादबाट टाढा रहनुहोस्। शेयर बजार वा लगानीमा सावधानी अपनाउनु आवश्यक छ। आफ्ना हितहरूमा लापरवाही नगर्नुहोस्। कानुनी मामिलामा अदालतसम्म जानुपर्ने अवस्था आउन सक्छ। अत्यधिक आत्मविश्वासका कारण काम बिग्रने सम्भावना छ। कुनै कुरा लुकाएर वा गलत तरिकाले गर्ने प्रयास नगर्नु नै राम्रो हुनेछ।
उपाय- शनिदेवको आशीर्वादका लागि दैनिक “ॐ शं शनैश्चराय नमः” जप गर्नु लाभदायक हुनेछ।
मीन राशि
यो साता मीन राशिका व्यक्तिहरूका लागि पहिलो भाग दोस्रो भागको तुलनामा बढी शुभ र लाभदायक रहने देखिन्छ । हप्ताको सुरुवातमा करियर र व्यवसायसँग सम्बन्धित यात्राले अपेक्षित सफलता दिलाउनेछ। यस समयमा वरिष्ठ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ, जसको सहयोगले भविष्यमा ठूलो योजनामा काम गर्ने अवसर मिल्न सक्छ।
यस अवधिमा तपाईंले कुनै महत्वपूर्ण जिम्मेवारी वा पदोन्नति पनि प्राप्त गर्न सक्नुहुन्छ। रोजगारी खोजिरहेका व्यक्तिहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ। हप्ताको बीचतिर युवावर्ग मनोरञ्जन र रमाइलोमा समय बिताउनेछन्। यस समयमा कुनै प्रिय व्यक्तिको आगमनले घरमा खुशीको वातावरण बन्नेछ। व्यवसाय गर्नेहरूको बजारमा प्रभाव बढ्नेछ र मनचाहो नाफा कमाउने सम्भावना बलियो रहनेछ।
नयाँ सम्बन्ध सुरु हुने सम्भावना छ। अविवाहित व्यक्तिहरूका लागि समय निकै अनुकूल रहनेछ। नयाँ सवारी साधन खरिद गर्ने योग पनि देखिन्छ। तपाईंले आफ्नो मेहनतको उचित फल प्राप्त गर्नुहुनेछ। व्यवसायिक उद्देश्यका लागि विदेश यात्रा हुन सक्छ। व्यापारमा नयाँ साझेदारहरू जोडिन सक्छन्। तपाईंको प्रतिभा र क्षमता अरूको अगाडि उजागर हुनेछ। कुनै महत्वपूर्ण बैठकमा सहभागी हुने अवसर मिल्नेछ। योजनाबद्ध रूपमा काम गर्दा सम्मान र प्रतिष्ठा बढ्नेछ। रियल स्टेटसँग सम्बन्धित क्षेत्रमा ठूलो डिल हुने सम्भावना छ।
प्रेम जीवनमा घनिष्टता बढ्नेछ र प्रेमी–प्रेमिकासँग सुखद समय बिताउने अवसर मिल्नेछ। तर हप्ताको पछिल्लो भागमा जीवनसाथीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ।
तर परिवारका ज्येष्ठ सदस्यहरूको कमजोर स्वास्थ्यले चिन्ता दिनसक्छ । वरिष्ठ व्यक्तिहरूसँग मनमुटाव हुन सक्छ। केही मानिसहरूले तपाईंको बारेमा गलत कुरा फैलाउन सक्छन्, त्यसैले सावधानी अपनाउनु आवश्यक छ। भोग–विलासमा अनावश्यक खर्च बढ्न सक्छ। अनावश्यक सम्बन्धहरूमा समय खेर नफाल्नुहोस्। नजिकका मानिसहरूमा ध्यान दिनुहोस्। खर्च बढ्ने सम्भावना छ। आफ्ना गोप्य कुराहरू अरूलाई नभन्नु राम्रो हुनेछ।
उपाय- मंगलबार र शनिबार हनुमान जीको पूजा गर्नुहोस् र हनुमान चालिसा नियमित पाठ गर्नुहोस् ।





























प्रतिक्रिया