२०८३ सालमा तपाईंको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल

२०८३ सालमा तपाईंको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल

केन्द्रबिन्दु
24
Shares

२०८३ सालकाे वार्षिक राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह — सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु रहेका छन्। त्यसैगरी १२ राशी हुन्छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि मानिन्छ। हामी ग्रहको स्थिति अनुसार वार्षिक राशिफलको मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। यो राशिफल सबैलाई समान रूपमा लागू नहुन सक्छ। सटिक भविष्यवाणीका लागि कुन्डलीको सूक्ष्म विश्लेषण, दशा–अन्तरदशा तथा सम्पूर्ण चार्ट अध्ययन आवश्यक हुन्छ। तथापि, सामान्य रूपमा ग्रह गोचरको आधारमा यो वार्षिक राशिफल तयार गरिएको हो।

ज्योतिष अनुसार ग्रहहरूको राशि परिवर्तन दैनिक हुँदैन। प्रत्येक ग्रहको गोचर समय फरक–फरक हुन्छ। सूर्य, बुध र शुक्र करिब एक महिना एउटै राशिमा बस्छन्, मंगल करिब ५७ दिन, बृहस्पति एक वर्ष, राहु–केतु करिब डेढ वर्ष र शनि करिब अढाई वर्षमा राशि परिवर्तन गर्छन्। चन्द्रमा भने करिब सवा २ दिनमा राशि परिवर्तन गर्छ। त्यसैले कुनै ग्रहको गोचर भए पनि केही दिनसम्म एउटै प्रभाव देखिन्छ। यसकारण, व्यक्तिको कर्म पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।यस वर्षका राजा गुरु (बृहस्पति) र मन्त्री मंगल रहनेछन्। यो वर्ष १३ महिनाको (अधिकमास सहित) हुने भएकाले विशेष महत्व राख्छ।

यस वर्षमा ठूला परिवर्तन, राजनीतिक अस्थिरता तथा जल क्षेत्रसँग सम्बन्धित विवाद वा संघर्ष देखिन सक्ने सम्भावना रहेको छ। मिथुन, कन्या, मकर लगायत केही राशिका लागि करियरमा उन्नति र आर्थिक लाभको अवसर आउनेछ।

ज्योतिष शास्त्र अनुसार २०८३ साललाई ‘रौद्र संवत्सर’ भनिन्छ। यस वर्षमा ग्रहहरूको शक्तिशाली संयोजन रहने भएकाले यसको प्रभाव विश्व स्तरदेखि व्यक्तिगत जीवनसम्म गहिरो रूपमा पर्नेछ। ‘क्षय तिथि’ तथा विभिन्न ग्रहहरूको गोचरका कारण यो वर्ष परिवर्तन र चुनौतीहरूले भरिएको रहने संकेत देखिन्छ।

केही राशिहरूका लागि प्रगतिको नयाँ अवसर खुल्नेछ भने केहीलाई विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ। ग्रहहरूको बदलिँदो अवस्थाले करियर, स्वास्थ्य र आर्थिक क्षेत्रमा नयाँ सम्भावना पनि सिर्जना गर्नेछ। राजा गुरु (बृहस्पति): शिक्षा, ज्ञान, धर्म तथा आध्यात्मिक क्षेत्रमा विस्तार र सकारात्मकता ल्याउनेछ। मन्त्री मंगल: ऊर्जा, साहस, आक्रामकता र प्रविधि क्षेत्रमा तीव्रता ल्याउने संकेत गर्दछ।

नयाँ वर्ष २०८३ तपाईंका लागि समृद्धि, सफलता र सुख–शान्ति लिएर आओस् भन्ने शुभकामनासहित यो बार्षिक राशिफल तयार गरेका छौं। हामीले दिएका उपायहरूको नियमित पालनाले तपाईंको वर्ष अझ राम्रो, सफल र सुखमय बन्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो वार्षिक राशिफल–

मेष राशि

मेष राशि भएका व्यक्तिहरूका लागि विक्रम संवत २०८३ वर्ष मिश्रित तर महत्वपूर्ण परिवर्तन ल्याउने वर्ष रहनेछ। यो वर्ष ‘रौद्र संवत्सर’ भएकाले जीवनमा केही चुनौतीहरू आए पनि प्रगतिको ढोका पनि खुल्नेछ। सालको सुरुवातमा काममा अलि दबाब र अवरोध महसुस हुन सक्छ। तर बिस्तारै परिस्थिति तपाईंको पक्षमा जान थाल्नेछ। मेहनत गर्नेहरूका लागि यो वर्ष उपलब्धिमूलक बन्न सक्छ।

यो वर्ष करियरमा नयाँ अवसरहरू आउनेछन्। विशेष गरी सरकारी, प्राविधिक, निर्माण तथा व्यवस्थापन क्षेत्रमा रहेका व्यक्तिहरूले प्रगति गर्न सक्नेछन्। नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने वर्षको मध्य भाग उपयुक्त देखिन्छ।

व्यवसायीहरूले लगानी गर्दा सोच–विचार गरेर निर्णय लिनु आवश्यक छ। साझेदारीमा काम गर्दा विश्वासिलो व्यक्तिसँग मात्र अघि बढ्नु राम्रो हुन्छ। आर्थिक रूपमा यो वर्ष सामान्य भन्दा राम्रो रहने संकेत छ। आम्दानी बढ्ने सम्भावना भए पनि खर्च पनि बढ्न सक्छ। अचानक खर्च (घर, स्वास्थ्य, यात्रा) आउन सक्ने भएकाले बचतमा ध्यान दिनु आवश्यक छ।

प्रेम सम्बन्धमा उतार–चढाव आउन सक्छ। सानो कुरा ठूलो विवादमा बदलिन सक्छ, त्यसैले संयमता आवश्यक छ। विवाहित जीवनमा पनि समझदारी आवश्यक हुनेछ। वर्षको दोस्रो भागबाट सम्बन्धमा सुधार आउने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या जस्तै टाउको दुख्ने, रक्तचाप, तनाव वा चोटपटकको सम्भावना रहन्छ।

खानपान र दिनचर्यामा ध्यान दिनु अत्यन्त आवश्यक छ। नियमित व्यायामले फाइदा पुग्नेछ। विद्यार्थीहरूका लागि वर्ष मध्यम रहनेछ। मेहनत अनुसार परिणाम पाउन केही समय लाग्न सक्छ। प्रतियोगी परीक्षामा सफलता पाउन निरन्तर प्रयास आवश्यक हुनेछ।मेष राशिका लागि २०८३ साल मेहनत, धैर्यता र अनुशासनले सफलता दिने वर्ष हो। सुरुमा चुनौती आए पनि अन्त्यतिर राम्रो उपलब्धि प्राप्त हुने सम्भावना छ।

उपाय- यो वर्ष शुभ फल प्राप्त गर्न निम्न उपायहरू गर्नु लाभदायक हुनेछ।दैनिक “ॐ हं हनुमते नमः” १०८ पटक जप गर्नुहोस्। प्रत्येक मंगलबार हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालीसा पाठ गर्नुहोस्।शनिबार शनि मन्त्र “ॐ शं शनैश्चराय नमः” जप गर्नुहोस्।

वृष राशि

वृष राशिका व्यक्तिहरूका लागि २०८३ साल प्रारम्भिक रूपमा निकै शुभ र उपलब्धिमूलक रहनेछ। विशेषगरी २०८३ सालको सुरुवातदेखि जेठ/असार सम्मको समय अत्यन्त राम्रो रहने संकेत छ । यस अवधिमा गुरु (बृहस्पति) को कृपाले अड्किएका कामहरू पूरा हुने, नयाँ अवसरहरू खुल्ने तथा धन लाभका योगहरू बन्नेछन्।

वर्षको सुरुवाती चरण करियर र व्यवसायका लागि निकै अनुकूल रहनेछ। नयाँ अवसर, पदोन्नति वा व्यवसाय विस्तारको राम्रो सम्भावना देखिन्छ। असार अघि महत्त्वपूर्ण कामहरू सम्पन्न गर्नु उपयुक्त हुनेछ। जुनदेखि असोज (अक्टोबर) सम्म समय सामान्य रहनेछ भने त्यसपछि चुनौतीहरू बढ्न सक्छन्।

सालको पहिलो भागमा आम्दानी राम्रो रहनेछ र नयाँ आम्दानीका स्रोतहरू खुल्न सक्छन्। तर वर्षको दोस्रो भागमा खर्च बढ्ने तथा आर्थिक दबाब आउन सक्ने भएकाले ठूला लगानी गर्दा सावधानी अपनाउनु आवश्यक छ।

घर–परिवारमा सानो–सानो विवाद वा मनमुटाव हुन सक्ने संकेत छ।त्यसैले बोल्दा संयमता अपनाउनुहोस् र धैर्यपूर्वक सम्बन्धलाई सन्तुलनमा राख्नुहोस्।विवाहित जीवनमा समझदारी राखेमा सम्बन्ध राम्रो रहन सक्छ। यस वर्ष कानुनी झन्झट वा विवादमा पर्ने सम्भावना देखिन्छ, त्यसैले यस्ता विषयबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ ।

स्वास्थ्य सामान्य रहनेछ तर तनाव, थकान वा खानपानमा लापरवाहीले समस्या आउन सक्छ। नियमित दिनचर्या र सन्तुलित आहारमा ध्यान दिनु आवश्यक छ।अनावश्यक विवाद र झगडाबाट टाढा रहनुहोस्।खर्च नियन्त्रणमा राख्नुहोस् र ठूलो लगानी गर्दा सोच–विचार गर्नुहोस्।परिवारसँग समय बिताउनुहोस् र सम्बन्धमा मिठास राख्नुहोस्।
वृष राशिका लागि २०८३ सालको पहिलो भाग अत्यन्त लाभदायक रहनेछ भने दोस्रो भागमा सावधानी अपनाउनुपर्ने देखिन्छ। सही समयको सदुपयोग र संयमित व्यवहारले वर्षलाई सफल बनाउन सकिन्छ।

उपाय- प्रत्येक शुक्रबार “ॐ शुक्राय नमः” १०८ पटक जप गर्नुहोस्। लक्ष्मी माता वा विष्णु भगवानको पूजा गर्नु लाभदायक हुन्छ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूका लागि २०८३ साल उतार–चढावपूर्ण तर अवसरले भरिएको रहनेछ । वर्षको सुरुवातदेखि जेठ सम्मको समय केही चुनौतीपूर्ण रहन सक्छ। यस अवधिमा मानसिक तनाव, अन्योलता तथा निर्णय लिन कठिनाइ हुन सक्छ। तर यसैबीच सन्तान, शिक्षा वा अध्ययनसँग सम्बन्धित क्षेत्रमा राम्रो खबर प्राप्त हुने सम्भावना पनि देखिन्छ, जसले तपाईंलाई उत्साहित बनाउनेछ।

सालको सुरुवाती चरणमा काममा ढिलाइ, योजना अनुसार परिणाम नआउने जस्ता समस्या आउन सक्छन्। तर असार देखि असोज सम्मको समय तपाईंका लागि “सुनौलो अवसर” जस्तै रहनेछ। यस अवधिमा नयाँ काम, पदोन्नति, व्यवसाय विस्तार तथा राम्रो आम्दानीका अवसरहरू आउनेछन्।

व्यवसाय गर्नेहरूका लागि नयाँ प्रोजेक्ट, नयाँ ग्राहक तथा साझेदारीका अवसरहरू बढ्नेछन्। सुरुवातमा आर्थिक पक्ष सामान्य वा केही कमजोर देखिए पनि असार देखि असोज सम्म राम्रो धन लाभ हुने, आम्दानी बढ्ने र बचत गर्ने अवसर मिल्नेछ। कार्तिक पछि अवस्था फेरि सामान्य हुन सक्छ, त्यसैले राम्रो समयमा बचत गर्न आवश्यक छ।

प्रेम सम्बन्धमा सुरुवातमा केही दूरी वा गलतफहमी हुन सक्छ। तर वर्षको मध्य भागमा सम्बन्धमा सुधार आउने र नजिकिन अवसर मिल्नेछ। विवाहित जीवनमा पनि समझदारीले सम्बन्ध राम्रो बनाउन सकिन्छ। मानसिक तनाव, निद्राको समस्या वा टाउको दुख्ने जस्ता समस्या सुरुवाती समयमा देखिन सक्छन्।

ध्यान, योग र नियमित दिनचर्याले स्वास्थ्य सुधार गर्न मद्दत गर्नेछ। विद्यार्थीहरूका लागि सुरुमा मेहनत बढी गर्नुपर्ने देखिन्छ, तर पछि राम्रो परिणाम प्राप्त हुनेछ। सन्तान पक्षबाट खुसीको समाचार आउने सम्भावना छ।मिथुन राशिका लागि २०८३ साल सुरुमा चुनौतीपूर्ण भए पनि बीचको समय अत्यन्त सफल र लाभदायक रहनेछ। सही समयमा अवसरको सदुपयोग गर्न सकेमा वर्षलाई उत्कृष्ट बनाउन सकिन्छ।

उपाय- प्रत्येक बुधबार “ॐ बुं बुधाय नमः” १०८ पटक जप गर्नुहोस्।गणेश भगवानको पूजा गर्नुहोस्, विशेष गरी मङल्बार र बुधबार।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूका लागि २०८३ साल मिश्रित फल दिने वर्ष रहनेछ । वर्षभर केही उतार–चढाव आए पनि धैर्य र संयमले राम्रो परिणाम हासिल गर्न सकिनेछ। राहु र गुरु (बृहस्पति) को अवस्थाका कारण विशेषगरी स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ। पेट, पाचन प्रणाली तथा खुट्टासम्बन्धी समस्या आउन सक्ने सम्भावना भएकाले सतर्क रहनु आवश्यक छ।

यो वर्ष करियरमा नयाँ अवसरहरू आउनेछन्, विशेषगरी जेठ पछि गुरुको अनुकूल प्रभावले प्रगतिको ढोका खोल्नेछ। तर अवसर आए पनि त्यसको पूर्ण लाभ लिन केही कठिनाइ हुन सक्छ। त्यसैले आफ्नो क्षमता अनुसार मात्र काम लिनु र योजनाबद्ध रूपमा अघि बढ्नु राम्रो हुनेछ।

व्यवसायीहरूले अनावश्यक जोखिम नलिई स्थिर रूपमा अघि बढेमा फाइदा हुनेछ। आर्थिक रूपमा वर्ष सामान्य रहनेछ। आम्दानी आउने भए पनि खर्च बढ्न सक्ने संकेत छ। ठूला लगानी गर्दा सोच–विचार गर्नु आवश्यक छ। परिवार र सम्बन्धमा सन्तुलन आवश्यक रहनेछ। सानो कुरामा तनाव आउन सक्ने भएकाले धैर्यता अपनाउनुहोस्।

समझदारीले सम्बन्धलाई राम्रो बनाउन सकिन्छ। स्वास्थ्य यो वर्षको मुख्य चिन्ताको विषय बन्न सक्छ। पेट, पाचन समस्या, थकान तथा खुट्टामा समस्या देखिन सक्छ।
धेरै दौडधुप र कामको बोझले स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले नियमित दिनचर्या र आराममा ध्यान दिनुहोस्। कर्कट राशिका लागि २०८३ साल सावधानी र सन्तुलनको वर्ष हो। अवसरहरू आउने भए पनि स्वास्थ्य र निर्णय क्षमतामा ध्यान दिन आवश्यक छ।

उपाय- दैनिक वा विशेषगरी सोमबार “ॐ सोमाय नमः” १०8 पटक जप गर्नुहोस्।माता दुर्गाको पूजा गर्नुहोस् र दुर्गा सप्तशती वा दुर्गा मन्त्र जप गर्नु लाभदायक हुन्छ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूका लागि २०८३ साल सावधानी र सजगता अपनाउनुपर्ने वर्ष रहनेछ । राहु, केतु र शनि ग्रहको प्रभावका कारण हरेक कदम सोच–विचार गरेर चाल्नु उपयुक्त हुनेछ।

यो वर्ष हतारमा लिएको निर्णयले समस्या ल्याउन सक्छ, त्यसैले धैर्य र बुद्धिमत्ताले अघि बढ्नु अत्यन्त आवश्यक छ। करियरमा प्रगति सम्भव भए पनि सजिलै सफलता मिल्ने छैन। असार सम्मको समय ठीकठाक रहनेछ तर राम्रो नतिजा पाउन कडा मेहनत आवश्यक पर्नेछ। व्यवसाय गर्नेहरूले जोखिमपूर्ण निर्णयबाट टाढा रहनुहोस्। नयाँ लगानी गर्दा वा साझेदारी गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ।

आर्थिक रूपमा आम्दानी हुने भए पनि बचत गर्न गाह्रो हुन सक्छ। धन अड्किने वा गलत ठाउँमा लगानी हुने सम्भावना देखिन्छ, त्यसैले आर्थिक निर्णयमा निकै सतर्क रहनुहोस्। कसैलाई आँखा बन्द गरेर भरोसा गर्नु उपयुक्त हुँदैन।

जीवनसाथी वा पार्टनरसँग सानो कुरामा विवाद हुन सक्छ। बोलचालमा नरमपन राख्नुहोस् र अनावश्यक बहसबाट टाढा रहनुहोस्। समझदारी र धैर्यले सम्बन्धलाई सुरक्षित राख्न सकिन्छ।

अत्यधिक काम र थकानका कारण स्वास्थ्यमा असर पर्न सक्छ। शारीरिक कमजोरी, थकान वा तनाव देखिन सक्छ।नियमित आराम, सन्तुलित आहार र व्यायाममा ध्यान दिनु आवश्यक छ।अनावश्यक खर्च र जोखिमपूर्ण लगानीबाट बच्नुहोस्।क्रोध नियन्त्रणमा राख्नुहोस् र धैर्यपूर्वक निर्णय लिनुहोस्।

सिंह राशिका लागि २०८३ साल सावधानी, धैर्यता र समझदारीको वर्ष हो। सही निर्णय र संयम अपनाएमा चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ।

उपाय- दैनिक “ॐ घृणि सूर्याय नमः” १०८ पटक जप गर्नुहोस्। प्रत्येक आइतबार सूर्य भगवानलाई अर्घ्य दिनुहोस्। शनिबार “ॐ शं शनैश्चराय नमः” जप गर्नुहोस्।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूका लागि २०८३ साल सुरुवातमा केही तनावपूर्ण भए पनि मध्य भागमा राम्रो प्रगति दिलाउने वर्ष रहनेछ। वर्षको पहिलो तीन महिना घर–परिवारका समस्या र काममा अवरोधका कारण मन अशान्त रहन सक्छ।

तर धैर्य र संयम अपनाएमा परिस्थिति बिस्तारै सुधार हुँदै जानेछ। सुरुवातमा काममा ढिलाइ र अवरोध देखिए पनि असार देखि असोज सम्मको समय करियरका लागि निकै राम्रो रहनेछ। नोकरीमा नयाँ जिम्मेवारी, पदोन्नति वा नयाँ अवसर प्राप्त हुन सक्छ।

व्यवसाय गर्नेहरूले पनि यस अवधिमा राम्रो प्रगति गर्न सक्नेछन्। तर कामको चापका कारण स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। आर्थिक रूपमा वर्ष मध्यम रहनेछ।अनावश्यक यात्रा र खर्च बढ्न सक्ने भएकाले बजेटमा असर पर्न सक्छ।

असार देखि असोज सम्म आम्दानी बढ्ने र आर्थिक सुधार हुने सम्भावना छ। परिवारमा सुरुवातमा केही तनाव वा मनमुटाव हुन सक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। समझदारी र सहनशीलता अपनाउनु अत्यन्त आवश्यक हुनेछ।

स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने वर्ष हो।थकान, पाचन समस्या वा तनावका कारण समस्या आउन सक्छ।कामको दबाबले स्वास्थ्य बिग्रन सक्ने भएकाले समयमै आराम र सन्तुलित आहार आवश्यक छ।अनावश्यक यात्रा र खर्च नियन्त्रणमा राख्नुहोस्।नियमित स्वास्थ्य जाँच र सन्तुलित जीवनशैली अपनाउनुहोस्।निर्णय गर्दा धैर्य र विवेक प्रयोग गर्नुहोस्।

कन्या राशिका लागि २०८३ साल सुरुवातमा चुनौतीपूर्ण भए पनि बीचको समय अत्यन्त लाभदायक रहनेछ। सही समयमा अवसरको सदुपयोग र स्वास्थ्यमा ध्यान दिएमा वर्ष सफल बनाउन सकिन्छ।

उपाय- ॐ गम गणपताय नम दैनिक १०८ पटक जप गर्नुहोस्। गणेश भगवानको पूजा गर्नुहोस्, विशेष गरी बुधबार। हरियो वस्तु (जस्तै: हरियो सागसब्जी, कपडा) दान गर्नुहोस्।

तुला राशि

तुला राशिका व्यक्तिहरूका लागि २०८३ सालको सुरुवाती समय निकै शुभ र प्रगतिशील रहनेछ। विशेषगरी वैशाख–जेठ सम्मको अवधि भाग्यले साथ दिने र कामहरू सजिलै सम्पन्न हुने संकेत छ।

यदि घरमा कुनै शुभ कार्य, लगानी वा सन्तानको शिक्षा सम्बन्धी निर्णय लिनु छ भने यो समय अत्यन्त उपयुक्त रहनेछ। वर्षको सुरुवाती तीन महिना करियरका लागि निकै महत्वपूर्ण रहनेछ। यस समयमा पदोन्नति, नयाँ अवसर वा काममा सफलता प्राप्त हुने सम्भावना छ।

तर असार पछि कार्यालय वा व्यवसायमा केही चुनौती र उल्झन बढ्न सक्छ। काममा दबाब, ढिलाइ वा अपेक्षा अनुसार परिणाम नआउने अवस्था आउन सक्छ। सुरुवातमा आर्थिक स्थिति राम्रो रहनेछ र आम्दानी बढ्ने संकेत छ। तर वर्षको दोस्रो भागमा लगानी गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। बजारको राम्रो अध्ययन नगरी लगानी गर्दा नोक्सान हुने सम्भावना रहन्छ।

प्रेम र पारिवारिक जीवन सुरुवातमा सुखद रहनेछ।

परिवारमा खुशीको वातावरण रहनेछ र सम्बन्धहरू मजबुत बन्नेछन्। तर वर्षको दोस्रो भागमा सानो–सानो गलतफहमी आउन सक्ने भएकाले बोलचालमा संयमता अपनाउनु राम्रो हुनेछ।ठूलो लगानी गर्दा राम्रोसँग अध्ययन गर्नुहोस्।सम्बन्धमा मिठास कायम राख्न धैर्यता अपनाउनुहोस्।अनावश्यक तनावबाट टाढा रहनुहोस्।

स्वास्थ्य सामान्य रहनेछ तर तनाव र कामको दबाबका कारण थकान महसुस हुन सक्छ।नियमित आराम र सन्तुलित जीवनशैली अपनाउनु आवश्यक छ। तुला राशिका लागि २०८३ सालको सुरुवात अत्यन्त राम्रो रहनेछ भने पछि केही चुनौतीहरू देखिन सक्छन्। सही समयको सदुपयोग र सावधानी अपनाएमा वर्ष सफल बनाउन सकिन्छ।

उपाय- प्रत्येक शुक्रबार “ॐ शुक्राय नमः” १०८ पटक जप गर्नुहोस्।लक्ष्मी माताको पूजा गर्नुहोस्।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरूका लागि २०८३ साल अधिकांश रूपमा अनुकूल र प्रगतिशील रहनेछ। वर्षभर अवसरहरू प्राप्त हुने र मेहनतको राम्रो फल पाउने संकेत देखिन्छ। विशेषगरी असार देखि असोज सम्मको समय अत्यन्त शुभ रहनेछ, जसमा तपाईंले उत्कृष्ट परिणाम प्राप्त गर्न सक्नुहुन्छ।

यदि तपाईंले कुनै ठूलो योजना बनाउनु भएको छ भने त्यसलाई यही अवधिमा कार्यान्वयन गर्नु लाभदायक हुनेछ। कामको सुरुवातमा केही साना–साना अवरोध आउन सक्छन्, तर तपाईंको मेहनत र आत्मविश्वासले ती समस्याहरू पार गर्न सकिनेछ।

व्यवसायीहरूका लागि पनि यो वर्ष विस्तार र लाभको संकेत दिनेछ।
आर्थिक रूपमा वर्ष राम्रो रहनेछ।असार देखि असोज सम्मको समय आम्दानी बढ्ने र आर्थिक प्रगति हुने मुख्य समय हुनेछ। तर लगानी गर्दा हतार नगरी अनुभवी व्यक्तिको सल्लाह लिनु लाभदायक हुनेछ।

सम्बन्धमा स्थिरता र समझदारी रहनेछ। साना–साना मतभेद भए पनि संवादले समस्या समाधान गर्न सकिनेछ। परिवारमा खुसी र सहयोगको वातावरण रहनेछ। विद्यार्थीहरूका लागि सुरुवातमा केही कठिनाइ आउन सक्छ। तर मेहनत र निरन्तर प्रयासले राम्रो सफलता प्राप्त हुनेछ।निर्णय गर्दा धैर्य अपनाउनुहोस्। अनुभवी व्यक्तिको सल्लाह लिएर मात्र लगानी गर्नुहोस्।

क्रोध नियन्त्रणमा राख्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ।तर तनाव र कामको दबाबबाट बच्न आवश्यक छ। वृश्चिक राशिका लागि २०८३ साल प्रगति, अवसर र सफलता दिने वर्ष हो। सही समयको उपयोग गर्न सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।

उपाय- प्रत्येक मंगलबार “ॐ भौमाय नमः” १०८ पटक जप गर्नुहोस्। हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालीसा नियमित पाठ गर्नुहोस्। रातो वस्तु (जस्तै: मसूर दाल, कपडा) दान गर्नुहोस्।

धनु राशि

धनु राशिका व्यक्तिहरूका लागि २०८३ साल उतार–चढावपूर्ण रहनेछ। कहिले खुशी त कहिले चुनौतीको सामना गर्नुपर्ने संकेत देखिन्छ। शनि ग्रहको प्रभाव (ढैय्या) का कारण घर–परिवारमा कहिलेकाहीँ तनाव र अशान्ति उत्पन्न हुन सक्छ। त्यसैले धैर्य र संयम अपनाउनु अत्यन्त आवश्यक हुनेछ।

वर्षको सुरुवातदेखि असार सम्मको समयलाई राम्रोसँग उपयोग गर्नु लाभदायक हुनेछ। जुनपछि गुरु र शनि ग्रहको प्रभावका कारण काममा ढिलाइ, अवरोध वा दबाब आउन सक्छ। यस वर्ष एकै पटक धेरै कामको बोझ नलिनुहोस्, नत्र मानसिक थकान बढ्न सक्छ।

साना–साना लक्ष्य बनाएर अघि बढेमा सफलता प्राप्त गर्न सकिनेछ । आर्थिक रूपमा वर्ष सामान्य रहनेछ। आम्दानी आउने भए पनि खर्च र जिम्मेवारी बढ्न सक्छ। योजना बिना खर्च गर्दा समस्या आउन सक्ने भएकाले बजेट नियन्त्रणमा राख्नु आवश्यक छ।

घर–परिवारमा कहिलेकाहीँ विवाद वा गलतफहमी हुन सक्छ। अनावश्यक झगडाबाट टाढा रहनु नै राम्रो हुनेछ। सम्बन्धमा धैर्य र समझदारीले स्थिति सुधार गर्न सकिन्छ।धैर्य र संयम अपनाउनुहोस्।

अनावश्यक विवाद र झगडाबाट टाढा रहनुहोस्। आफ्नो क्षमताअनुसार मात्र कामको जिम्मेवारी लिनुहोस्। मानसिक तनाव र थकान बढ्न सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। नियमित आराम, योग र ध्यानले लाभ दिनेछ। धनु राशिका लागि २०८३ साल मिश्रित फल दिने वर्ष हो। सही योजना, धैर्य र मेहनतले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ।

उपाय- प्रत्येक बिहीबार “ॐ बृहस्पतये नमः” १०८ पटक जप गर्नुहोस्। हनुमानजी तथा विष्णु भगवानको पूजा गर्नुहोस्। पहेंलो वस्तु (चना, कपडा, बेसार) दान गर्नु लाभदायक हुन्छ।

मकर राशि

मकर राशिका व्यक्तिहरूका लागि २०८३ साल केही चुनौतीपूर्ण र संघर्षपूर्ण रहने संकेत देखिन्छ। वर्षको सुरुवातदेखि असार सम्मको समय केही भारी र मानसिक दबाबयुक्त हुन सक्छ। यस अवधिमा सन्तानको स्वास्थ्य वा भविष्यलाई लिएर चिन्ता बढ्न सक्छ। साथै आफ्नो स्वास्थ्यमा पनि विशेष ध्यान दिनु आवश्यक हुनेछ। करियरमा सुरुवातमा केही अवरोध र ढिलाइ देखिन सक्छ।

असार पछि केही सुधार आउने र राहत महसुस हुने संकेत छ। तर वर्षको अन्त्यतिर फेरि केही चुनौतीहरू आउन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ। ठूला निर्णयहरू हतारमा नगरी सोच–विचार गरेर मात्र गर्नु राम्रो हुनेछ।

आर्थिक रूपमा वर्ष मिश्रित रहनेछ। आम्दानी भए पनि खर्च र जिम्मेवारी बढ्न सक्छ। पुरानो आर्थिक दबाब वा दायित्व फेरि सक्रिय हुन सक्छ, त्यसैले योजना बनाएर खर्च गर्नु आवश्यक छ। घर–परिवारमा साना–साना विवाद वा असमझदारी आउन सक्छ। सम्बन्धलाई बचाउन धैर्य र समझदारी अत्यन्त आवश्यक हुनेछ।

बोलचालमा सावधानी अपनाउनु राम्रो हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने वर्ष हो। पुराना रोगहरू पुनः सक्रिय हुन सक्छन् वा शारीरिक कमजोरी देखिन सक्छ। नियमित जाँच, आराम र सन्तुलित जीवनशैली अपनाउनु आवश्यक छ।अनावश्यक विवाद र क्रोधबाट टाढा रहनुहोस्। ठूला निर्णयहरू गर्दा परिवार वा अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्। मकर राशिका लागि २०८३ साल संघर्ष र धैर्यको वर्ष हो। सावधानी, संयम र सही निर्णयले कठिनाइलाई नियन्त्रणमा राख्न सकिन्छ।

उपाय- प्रत्येक शनिबार “ॐ शं शनैश्चराय नमः” १०८ पटक जप गर्नुहोस्। शनि देवको पूजा गर्नुहोस् र तिल वा कालो वस्तु दान गर्नुहोस्। हनुमान चालीसा नियमित पाठ गर्नुहोस्।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरूका लागि २०८३ सालको सुरुवाती तीन महिना मात्र तुलनात्मक रूपमा राम्रो रहनेछ। त्यसपछि वर्षभर मानसिक तनाव, उतार–चढाव र चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्नुपर्ने संकेत देखिन्छ। शनि ग्रहको साढेसाती पहिले नै चलिरहेको छ, जसका कारण जीवनमा जिम्मेवारी र दबाब बढ्न सक्छ। असार पछि गुरु ग्रहको स्थिति पनि केही चुनौतीपूर्ण हुने भएकाले सावधानी अपनाउनु आवश्यक छ।

करियर तथा व्यवसायमा वर्षभर उतार–चढाव रहनेछ। सुरुवाती समयमा केही अवसर देखिए पनि त्यसपछि काममा अवरोध, ढिलाइ र तनाव बढ्न सक्छ। यस वर्ष कुनै पनि ठूलो जोखिमपूर्ण लगानी वा निर्णय लिनु उपयुक्त हुँदैन। धैर्य र योजनाबद्ध रूपमा काम गर्नु नै सफलताको उपाय हुनेछ।

आर्थिक रूपमा वर्ष दबाबपूर्ण रहन सक्छ। अनावश्यक खर्च बढ्ने र बचत गर्न कठिनाइ हुने सम्भावना छ। पैसा सोच–सम्झेर मात्र खर्च गर्नु आवश्यक हुनेछ, नत्र आर्थिक तंगी आउन सक्छ। जीवनसाथीसँग सानो–सानो कुरामा विवाद वा मनमुटाव हुन सक्छ।

सम्बन्धमा समझदारी र धैर्य अपनाउनु अत्यन्त आवश्यक हुनेछ। स्वास्थ्यमा वर्षभर ध्यान दिनुपर्ने देखिन्छ। मानसिक तनाव, थकान र अनिद्राको समस्या आउन सक्छ।नियमित आराम, ध्यान र योगले लाभ दिनेछ। कुम्भ राशिका लागि २०८३ साल चुनौतीपूर्ण र संयमको वर्ष हो। धैर्य, सतर्कता र सही निर्णयले कठिन परिस्थितिलाई नियन्त्रणमा राख्न सकिन्छ।

उपाय- प्रत्येक शनिबार “ॐ शं शनैश्चराय नमः” १०८ पटक जप गर्नुहोस्। हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालीसा नियमीत पाठ गर्नुहोस्।

मीन राशि

मीन राशिका व्यक्तिहरूका लागि २०८३ सालको सुरुवाती चार महिना केही चुनौतीपूर्ण रहने संकेत छ। शनि ग्रहको साढेसातीको प्रभावका कारण घर–परिवारमा मनमुटाव र काममा असफलता जस्ता कारणले मानसिक तनाव बढ्न सक्छ।

तर धैर्य र संयम अपनाएमा परिस्थितिमा बिस्तारै सुधार आउनेछ। वर्षको सुरुवातमा काममा अवरोध र ढिलाइ देखिन सक्छ। तर असार देखि असोज सम्मको समय निकै अनुकूल रहनेछ। यस अवधिमा मान–सम्मान बढ्ने, नयाँ अवसरहरू प्राप्त हुने र काममा सुधार आउने संकेत छ।

वरिष्ठ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ, जसबाट भविष्यमा ठूलो फाइदा मिल्न सक्छ।आर्थिक रूपमा वर्ष मिश्रित रहनेछ। सुरुवातमा खर्च बढ्न सक्छ तर मध्य भागमा सुधार आउनेछ। अनावश्यक खर्च र लामो यात्राबाट बच्नु लाभदायक हुनेछ।

परिवारमा बोलचाल गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। सानो कुरामा गलतफहमी हुन सक्ने भएकाले धैर्य र समझदारीले सम्बन्ध जोगाउन सकिन्छ। स्वास्थ्यमा सुरुवाती समयमा केही कमजोरी वा तनाव देखिन सक्छ। तर असोज पछि स्वास्थ्यमा सुधार आउने संकेत छ।

नियमित आराम, ध्यान र सन्तुलित जीवनशैली अपनाउनु लाभदायक हुनेछ।परिवारसँग राम्रो सम्बन्ध राख्नुहोस् र बोलचालमा सावधानी अपनाउनुहोस्। अनावश्यक खर्च र यात्रा कम गर्नुहोस्।ध्यान, योग र सकारात्मक सोच अपनाउनुहोस्। मीन राशिका लागि २०८३ साल सुरुवातमा चुनौतीपूर्ण भए पनि मध्य भागमा राम्रो सुधार र सफलता ल्याउने वर्ष हो।

उपाय- प्रत्येकदिन “ॐ नमो नारायणाय” १०८ पटक जप गर्नुहोस्। विष्णु भगवानको पूजा गर्नुहोस्। पहेंलो वस्तु (चना, कपडा, बेसार) दान गर्नु लाभदायक हुन्छ।

Logo