कैलाली । घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित एक होटलमा आगलागी हुँदा कामदारको जलेर मृत्यु भएको छ । बिबेक रेस्टुरेन्ट एण्ड लजमा शुक्रबार राति भएको आगलागीमा डडेल्धुराका मिनबहादुर बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब पौने १ बजे उनी सुतिरहेको कोठामा आगलागी भएको थियो । आगोमा परेर गम्भीर रूपमा जलेपछि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।
घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार लामखुट्टे भगाउन बालिएको अण्डाको क्रेटबाट आगलागी सुरु भएको आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल मा राखिएको छ ।





























प्रतिक्रिया