काठमाडौं । केही दिनदेलेखि परिरहेको बर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका लमजुङ खण्ड अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्।
काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा र खोलाले सडक बगाउँदा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।
त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्।
त्यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।






























प्रतिक्रिया