‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा भव्य रूपमा सम्पन्न

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत् श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आयोजना गरेको “गीता मैत्री मिलन २०८३” कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रममा झन्डै २,००० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो भने देश–विदेशमा रहेका लाखौँ साधक–सेवीहरूले अप्रत्यक्ष रूपमा सहभागी जनाएका थिए । “गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नाराका साथ कमलादीस्थित गणेशस्थानबाट शोभायात्रा सुरु भई प्रज्ञा भवन पुगेर कार्यक्रम सम्पन्न भएको थियो ।

गीता परिवारका संस्थापक तथा श्रीरामजन्मभूमि तीर्थ क्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेव गिरी जी महाराजको पावन सान्निध्यमा सम्पन्न कार्यक्रममा उहाँले आशीर्वाद प्रदान गर्नुभयो ।

“गीता एउटा पुस्तक मात्र होइन, आमा हो,” भन्दै स्वामी जीले भन्नुभयो, “आमाले जसरी आफ्नो सन्तानको पालनपोषण गर्छिन्, त्यसैगरी गीतामाताले पनि सबैको कल्याण गर्दछिन् । जीवनमा कुनै कठिनाइ आएमा गीतामातालाई सम्झेर प्रार्थना गरेमा भगवान् श्रीकृष्णको कृपाले सहजै पार लाग्न सकिन्छ ।”

उहाँले नेपालमा गीता परिवारले आयोजना गरेको कार्यक्रमको भव्यताको प्रशंसा गर्दै भगवान् पशुपतिनाथको पावन भूमिमा गीतामाताको सन्देश फैलाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका मूल समारोह समिति अध्यक्ष श्री जय किसन सारडाले स्वागत मन्तव्य राख्दै गीता परिवारको संक्षिप्त परिचय दिनुभयो । उहाँका अनुसार ४० वर्षअघि परम श्रद्धेय स्वामी गोविन्ददेव गिरी जी महाराजको आशीर्वाद र स्व. ओंकारनाथ मालपानीको मार्गदर्शनमा सुरु भएको गीता परिवार अहिले भारतका २८ प्रान्तसहित विश्वका १८२ देशमा फैलिएको छ । नेपाल यसको पहिलो अन्तर्राष्ट्रिय शाखा हो ।

कोरोना महामारीका बेला स्थापना भएको गीता परिवार नेपालले आफ्नो छैटौँ वर्ष पार गरिसकेको छ । भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गाउँ–गाउँसम्म गीताको चेतना पुर्‍याउने लक्ष्यसाथ संस्था अघि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयल, गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवाल र अन्य वक्ताहरूले पनि सम्बोधन गर्नुभएको थियो । उपाध्यक्ष श्री गुणराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव श्री रामप्रसाद अधिकारी, का.स. सदस्य श्रीमती स्वर्णा शर्मा आचार्य, श्रीमती सिर्जना वाग्ले र श्री पशुपति तामाङले गर्नुभएको थियो ।

गीता परिवार नेपालका संरक्षक जय किसन सारडाको अध्यक्षतामा गठित मूल समारोह समितिका साथै अध्यक्ष श्रीमती सारिका अग्रवाल, उपाध्यक्षद्वय गुणराज पोखरेल र बबिता लखोटिया, सचिव रामप्रसाद अधिकारी, कोषाध्यक्ष संजय अटल लगायत पदाधिकारी, गीता प्रशिक्षक तथा सेवीहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

Skip This
Skip This
Logo