२०८३ असार ७ देखि १३ सम्मको राशिफल ।।
काठमाडाैं । ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्- सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु। त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं। साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणिहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्।
तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनु भयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, प्रख्यात अंकज्योतिष, वास्तुविद् एवं नाडी ज्योतिष विशेषज्ञ डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
मेष राशिका लागि यो साता निकै शुभ र लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। आफ्नो बुद्धि, साहस र आत्मविश्वासका कारण विरोधीहरूलाई पनि पछि पार्न सफल हुनुहुनेछ। कठिन समयमा पनि मनोबल उच्च राख्न सके सफलता तपाईंको पक्षमा आउनेछ। पुराना विवाद तथा झन्झटहरू समाधान हुने संकेत छ। जागिर गर्नेहरूलाई कार्यक्षेत्रमा राम्रो वातावरण मिल्नेछ र वरिष्ठ अधिकारीहरू तपाईंको कामबाट खुसी हुनेछन्।
साताको मध्यतिर धार्मिक तथा आध्यात्मिक कामप्रति रुचि बढ्नेछ। पूजा, पाठ, मन्दिर दर्शन वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। साताको पछिल्लो भागमा यात्रा गर्ने योग बनेको छ, जसबाट नयाँ चिनजान र फाइदा प्राप्त हुनेछ। व्यापार व्यवसाय गर्नेहरूका लागि यो साता लाभदायक रहनेछ। आम्दानी बढ्ने र व्यवसायमा प्रगति हुने संकेत छन्।
पारिवारिक जीवनमा खुशीको वातावरण रहनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। जीवनसाथीलाई खुशी बनाउन विशेष उपहार वा सरप्राइज दिन सक्नुहुन्छ। यद्यपि, साना पारिवारिक समस्याहरू आउन सक्छन्, जसलाई धैर्य र समझदारीले समाधान गर्नुपर्छ।
विद्यार्थीहरूका लागि मेहनत गर्ने समय रहेको छ। नयाँ सीप वा प्रोफेशनल कोर्स सुरु गर्न चाहनेहरूका लागि समय अनुकूल छ। करियरमा केही चुनौती आए पनि धैर्य राखे सफलता मिल्नेछ।
प्रेम सम्बन्धमा केही उतारचढाव आउन सक्छ। प्रेमी वा प्रेमिकासँग गलतफहमी बढ्न नदिन खुला संवाद गर्नु राम्रो हुनेछ। वैवाहिक जीवन भने सुखद रहनेछ।
स्वास्थ्य सामान्य रहनेछ तर कामको तनाव र पारिवारिक चिन्ताले थकान महसुस हुन सक्छ। खानपान र आराममा ध्यान दिनु आवश्यक छ। आर्थिक पक्षमा खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ।
उपायः हरेक दिन दुर्गा चालीसा पाठ गर्नु शुभ हुनेछ।
वृष राशि
वृष राशिका लागि साताको सुरुवात शुभ रहनेछ। करियर र व्यवसायमा अगाडि बढ्ने राम्रो अवसर प्राप्त हुनेछ। तर आलस्य र घमण्डबाट टाढा रहनु आवश्यक छ, नत्र हातमा आएको अवसर पनि गुम्न सक्छ। जागिर गर्नेहरूले वरिष्ठ र सहकर्मीहरूसँग राम्रो सम्बन्ध बनाएर काम गर्दा फाइदा हुनेछ। व्यवसाय गर्नेहरूले बजारको राम्रो अवस्थाबाट लाभ लिन सक्नेछन्। विशेषगरी कुनै महिलाको सहयोगबाट व्यापारमा प्रगति हुने संकेत छन्।
साताको पछिल्लो भाग खर्चिलो रहन सक्छ। सुख–सुविधा, घर, जग्गा वा सवारी साधनमा ठूलो खर्च हुने सम्भावना छ। भूमि, घर वा सवारी किनबेचको योग पनि बनेको छ। साथीभाइ र परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। तर मजाक र व्यवहारमा सीमा नाघ्न नदिनुहोस्, नत्र प्रिय व्यक्तिसँग मनमुटाव हुन सक्छ।
यो साता नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रेम सम्बन्धमा रहेको दूरी वा मनमुटाव हट्नेछ। घरपरिवारको वातावरण सामान्य रहनेछ र तपाईंका कुरा परिवारका सदस्यहरूले महत्व दिनेछन्। कार्यक्षेत्रमा परिवर्तन गर्ने सोच आउन सक्छ। मार्केटिङ वा व्यापारसँग सम्बन्धित व्यक्तिहरूलाई करियरमा राम्रो प्रगति मिल्ने संकेत छन्। आध्यात्मिक तथा रहस्यमय विषयप्रति चासो बढ्न सक्छ।
स्वास्थ्यतर्फ भने विशेष ध्यान दिनुपर्नेछ। छालासम्बन्धी समस्या, रातो दाना वा एलर्जीको समस्या बढ्न सक्छ। परिवारका सदस्यहरूको असन्तुष्टि पनि सहनुपर्ने अवस्था आउन सक्छ। व्यवसाय गर्नेहरूले आफ्ना कर्मचारी वा सहकर्मीमाथि पूर्ण भरोसा गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ। आइतबार सन्तान पक्षबाट केही चिन्ता आउन सक्छ भने सोमबार यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोस्।
उपायः हरेक दिन “ॐ नमः शिवाय” मन्त्र १०८ पटक जप गर्नु शुभ हुनेछ।
मिथुन राशि
मिथुन राशिका लागि यो साता मिश्रित फल दिने खालको रहनेछ। कामकाजका कारण धेरै दौडधुप र व्यस्तता बढ्न सक्छ। साताको सुरुवातमा स्वास्थ्य र सम्बन्ध दुवैमा विशेष ध्यान दिनु आवश्यक छ। अरूसँग कुरा गर्दा नम्रता र धैर्य कायम राख्नु राम्रो हुनेछ। जागिर गर्नेहरूले कार्यक्षेत्रमा केही चुनौती र तनाव सामना गर्नुपर्ने हुन सक्छ। विरोधी वा प्रतिस्पर्धीहरूसँग सावधान रहनुहोस् र आफ्ना योजना पूरा नभएसम्म गोप्य राख्नु राम्रो हुनेछ। नयाँ काम सुरु गर्ने, ऋण लिने वा ठूलो लगानी गर्ने सोच भए केही समय पर्खनु उपयुक्त हुनेछ।
साताको मध्यतिर परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। साथै आफ्नै स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ। रोग, ऋण वा मानसिक तनावका कारण मन अशान्त रहन सक्छ। प्रेम सम्बन्धमा हतार नगर्नु राम्रो हुनेछ। जीवनसाथीसँग सामान्य कुरामा पनि मतभेद हुन सक्छ, त्यसैले धैर्य राखेर व्यवहार गर्नु आवश्यक छ। पढाइ, परीक्षा वा प्रतियोगिताको तयारी गरिरहेकाहरूले सफलता पाउन अझ बढी मेहनत गर्नुपर्नेछ।
यद्यपि साताको सुरुवात केही सुखद रहनेछ। आफ्नो जिम्मेवारीप्रति तपाईं निकै इमानदार र सक्रिय देखिनुहुनेछ। रोगसँग लड्ने क्षमता राम्रो रहनेछ। घरजग्गा वा रियल स्टेटबाट राम्रो धनलाभ हुन सक्छ। नयाँ जागिरमा सहकर्मीहरूको राम्रो साथ मिल्नेछ। आर्थिक अवस्था बलियो रहने संकेत छन्। सरकारी जागिर गर्नेहरूका लागि साता विशेष राम्रो रहनेछ। नयाँ सवारी साधन किन्ने योग पनि बनेको छ।
स्वास्थ्यतर्फ एसिडिटी, पेटसम्बन्धी समस्या वा युरिन इन्फेक्शनको समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्नुहोस्। विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ र नयाँ प्रेम सम्बन्ध सुरु हुने संकेत पनि छन्। गोप्य प्रेम सम्बन्ध बाहिर आउन सक्ने सम्भावना छ। दाम्पत्य जीवनमा अचानक तनाव आउन सक्छ। सोमबार र मंगलबार विशेष सावधानी अपनाउनु राम्रो हुनेछ। आवश्यक नभएको विषयमा प्रतिक्रिया दिँदा अपमान वा विवाद हुन सक्छ।
उपायः हरेक दिन भगवान गणेशलाई दूबो चढाई गणेश चालीसा पाठ गर्नुहोस्। साथै सोमवर शिवलिङ्गमा जल चढाउनु शुभ रहनेछ।
कर्कट राशि
कर्कट राशिका लागि यो साता मिश्रित तर प्रगतिदायक रहनेछ। वैवाहिक जीवनमा सुख र खुशीको अनुभव हुनेछ। व्यापार विस्तारका लागि साथीभाइसँग सल्लाह गर्नु लाभदायक हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बढ्नेछ र केही सकारात्मक समाचार प्राप्त हुन सक्छ। लामो समयदेखि रोकिएका काम वा योजनाहरू पुनः सुरु गर्ने राम्रो समय छ। कसैलाई दिएको पैसा फिर्ता आउने सम्भावना पनि देखिन्छ। राजनीति वा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि यो साता विशेष राम्रो रहनेछ। धन प्राप्ति सहज हुनेछ।
यद्यपि यो साता भावनात्मक रूपमा केही कमजोर महसुस हुन सक्छ। प्रेम सम्बन्धमा हतार वा अत्यधिक अपेक्षा गर्नु ठीक हुनेछैन। प्रेमी वा जीवनसाथीसँग गलतफहमी बढ्न सक्ने भएकाले खुला संवाद गर्नु आवश्यक छ। आफ्नो मनको कुरा स्पष्ट रूपमा राखे सम्बन्ध सुधार हुनेछ। गोप्य कुरा अरूलाई सजिलै नभन्नुहोस्, नत्र निजी कुरा सार्वजनिक हुन सक्छ। चुगली गर्ने वा नकारात्मक सोच भएका व्यक्तिहरूसँग दूरी राख्नु राम्रो हुनेछ।
पारिवारिक जीवन सामान्य रहनेछ। घरमा शान्ति र मेलमिलाप कायम राख्न परिवारलाई समय दिनु आवश्यक हुनेछ। साना कुरामा विवाद नगरी समझदारीका साथ व्यवहार गर्नु राम्रो हुनेछ।
आर्थिक पक्षमा सावधानी अपनाउनुपर्नेछ। ठूलो लगानी वा नयाँ योजनामा बिना सोचविचार पैसा लगानी गर्दा घाटा हुन सक्छ। मनोरञ्जन, घुमफिर वा विलासितामा खर्च बढ्न सक्छ। व्यापार गर्नेहरूका लागि केही चुनौती आउन सक्छन् र योजना बीचमै रोकिने सम्भावना छ। धैर्य राखे पछि राम्रो परिणाम प्राप्त हुनेछ। जागिर गर्नेहरूलाई करियरसँग सम्बन्धित महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ, जसले भविष्यमा लाभ दिनेछ।
विद्यार्थीहरूका लागि मेहनत र एकाग्रता बढाउने समय हो। सफलता पूर्ण रूपमा मेहनतमा निर्भर रहनेछ। नयाँ कोर्स सुरु गर्न वा प्रतियोगी परीक्षाको तयारी गर्न समय अनुकूल छ।
उपायः हरेक दिन सुन्दरकाण्डका पाँच दोहा पाठ गर्नु शुभ रहनेछ।
सिंह राशि
यो साता जीवनमा धेरै परिवर्तन ल्याउने खालको रहनेछ। केही परिवर्तन सकारात्मक हुनेछन् भने केहीले तनाव पनि दिन सक्छन्। साताको सुरुवातमा हरेक काम सोचविचार र सावधानीका साथ गर्नु आवश्यक हुनेछ। सानो गल्ती वा लापरवाहीले समस्या निम्त्याउन सक्छ। व्यवसाय गर्नेहरूका लागि यो समय राम्रो रहनेछ। व्यापार विस्तार गर्ने अवसर मिल्नेछ र ठूलो व्यावसायिक सम्झौता हुने सम्भावना पनि छ।
आर्थिक पक्ष बलियो रहनेछ। धन लाभका राम्रो योग बनेका छन्। शेयर बजार वा लगानीसँग सम्बन्धित व्यक्तिहरूले अनुभवी व्यक्तिको सल्लाह लिएर काम गर्दा राम्रो फाइदा प्राप्त गर्न सक्छन्। तर कसैलाई पैसा सापटी दिनु उपयुक्त हुनेछैन। परिवारको आवश्यकता र सुख–सुविधाका लागि खर्च बढ्न सक्छ।
करियरमा देखिएका समस्या हट्दै जानेछन्। नयाँ सम्पर्क र सम्बन्धले व्यवसाय तथा काममा ठूलो सहयोग पुर्याउनेछन्। जागिर खोजिरहेका व्यक्तिहरूलाई शुभ समाचार मिल्न सक्छ। हाल काम गरिरहेकाहरूलाई पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना बलियो छ। करियरसँग सम्बन्धित सपना पूरा हुने संकेत पनि देखिन्छ। परिवार र समाजमा तपाईंको प्रभाव र सम्मान बढ्नेछ।
विद्यार्थीहरूका लागि यो साता राम्रो भए पनि पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। मनमा अन्योल वा भ्रम बढ्नाले एकाग्रता कम हुन सक्छ। विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूका प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउने संकेत छन्। कामको सिलसिलामा यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ, जसले थकान बढाउन सक्छ। सोमबार र मंगलबार विशेष शुभ दिन रहनेछन्।
स्वास्थ्यतर्फ भने सावधानी आवश्यक छ। खानपानमा लापरवाही गर्दा पेटसम्बन्धी समस्या बढ्न सक्छ। बाहिरको खाना कम खानु र नियमित दिनचर्या अपनाउनु राम्रो हुनेछ। नयाँ काम सुरु गर्ने योजना बन्नेछ तर त्यसमा स्पष्टता कमी हुन सक्छ। कुनै पनि लगानी गर्नु अघि अनुभवी व्यक्तिको सल्लाह लिनु आवश्यक छ। अरूमाथि अत्यधिक निर्भर रहँदा भविष्यमा घाटा हुन सक्छ। रियल स्टेट वा घरजग्गासँग सम्बन्धित व्यवसाय गर्नेहरूले नगद अभावको समस्या सामना गर्नुपर्ने हुन सक्छ।
उपायः हरेक बिहान सूर्यदेवलाई जल अर्पण गरी शुद्ध घ्यूको दियो बाल्नु शुभ हुनेछ।
कन्या राशि
कन्या राशिका लागि साताको सुरुवातमा ठूला आर्थिक निर्णयहरू गर्दा सावधानी अपनाउनुहोस्।यो साताको सुरुवातमा अचानक लामो वा छोटो दूरीको यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ। यात्रा थकानपूर्ण रहनेछ र अपेक्षा अनुसारको फल नआउँदा मन केही निराश हुन सक्छ। घर र कार्यक्षेत्र दुवै ठाउँमा परिवार वा नजिकका व्यक्तिबाट साथ कम मिल्न सक्छ, जसले केही समस्या दिन सक्छ।
आर्थिक पक्ष सामान्य रूपमा लाभदायक रहनेछ। तपाईंका आवश्यकताहरू सजिलै पूरा हुनेछन् र भविष्यलाई ध्यानमा राखेर आर्थिक योजना बनाउने सोच आउन सक्छ। नयाँ सवारी साधन किन्ने विचार पनि आउन सक्छ। तर केही अनियोजित खर्चहरू आउन सक्छन्, जसले बजेटमा सामान्य असर पार्न सक्छ।
यस साता तपाईंको स्वास्थ्य राम्रो रहनेछ। दीर्घकालीन लक्ष्यप्रति दृढ सङ्कल्प बन्न सक्छ। रोकिएको पैसा फिर्ता आउने सम्भावना छ। दाजुभाइ दिदीबहिनीसँग सम्बन्ध अझ राम्रो हुनेछ। उच्च अधिकारीहरू तपाईंको कामबाट अत्यन्त खुसी हुनेछन् र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। तपाईंको उदार स्वभावको मानिसहरूले प्रशंसा गर्नेछन्। शरीरमा स्फूर्ति र ऊर्जा महसुस हुनेछ। व्यापार विस्तार गर्ने अवसर मिल्नेछ। इन्टरभ्यु वा प्रतिस्पर्धात्मक अवसरहरूका लागि समय अत्यन्त अनुकूल रहनेछ।
व्यापार र जागिर गर्नेहरूका लागि भने सावधानी आवश्यक हुनेछ। योजनाहरूमा उतारचढाव आउन सक्छ र मानसिक तनाव बढ्न सक्छ। नयाँ साझेदारी गर्नु हानिकारक हुन सक्छ, त्यसैले सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ। जागिर गर्नेहरूले समयमै काम पूरा नगरेमा उच्च अधिकारीसँग विवाद हुन सक्छ।
करियर र शिक्षामा विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ। रोकिएका कामहरू पूरा हुनेछन् र प्रतियोगिता तयारीमा राम्रो प्रगति हुनेछ। मेहनतको राम्रो फल भविष्यमा प्राप्त हुनेछ। । ससुराली पक्षका विषयमा केही चिन्ता हुन सक्छ। आर्थिक स्थितिलाई लिएर हल्का तनाव रहन सक्छ। धन लेनदेनका काममा विशेष सतर्कता अपनाउनु आवश्यक छ।
समाधान- विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
तुला राशि
यो साता औसत फल दिने खालको रहनेछ। साताको सुरुवातमा साना भाइबहिनीहरूसँग कुनै कुरामा मनमुटाव हुन सक्छ। घरसम्बन्धी कुनै विषयले मन चिन्तित बनाउन सक्छ। कार्यक्षेत्रमा अतिरिक्त कामको बोझ बढ्नेछ, जसलाई पूरा गर्न धेरै मेहनत र प्रयास गर्नुपर्नेछ।
जागिर गर्नेहरूलाई मेहनत अनुसारको पूर्ण फल तुरुन्तै नपाउँदा मन निराश हुन सक्छ, तर यो अवस्था लामो समय रहने छैन। साताको उत्तरार्धसम्म तपाईं कार्यक्षेत्रका समस्याहरू समाधान गर्न र तोकिएको लक्ष्य पूरा गर्न सफल हुनुहुनेछ। व्यापारीहरूका लागि बजारमा प्रतिस्पर्धा कडा रहनेछ। आफ्ना प्रतिस्पर्धीहरूसँग कडा टक्कर लिनुपर्ने अवस्था आउन सक्छ। बजारमा अड्किएको पैसा चिन्ताको कारण बन्न सक्छ। यस साता खुलेर खर्च गर्नु राम्रो हुनेछैन, नत्र अन्त्यतिर आर्थिक समस्या आउन सक्छ। कठिन समयमा प्रेम सम्बन्ध वा लभ पार्टनरबाट सहयोग मिल्ने सम्भावना छ।
यस साता तपाईंलाई असल मानिसहरूसँग भेटघाट गर्ने अवसर मिल्नेछ। विरोधीहरू तपाईंको अगाडि कमजोर रहनेछन्। स्वास्थ्यसम्बन्धी समस्यामा सुधार आउनेछ। घरका ज्येष्ठ व्यक्तिहरूको साथ र समर्थन प्राप्त हुनेछ। केही सुखद घटनाहरूले मनमा खुशी ल्याउनेछन्। तपाईंको जीवन सरल र शान्त रहनेछ। विदेश वा घरबाट टाढा रहेका व्यक्तिहरूले बिदा लिन सक्ने सम्भावना छ।
अरूको सहयोग गर्ने बानीले तपाईंलाई लोकप्रिय बनाउनेछ। दैनिक ज्यालादारी काम गर्नेहरूको जागिर स्थायी हुन सक्छ। यद्यपि यो साता आत्ममन्थनमा बढी समय बित्न सक्छ। परिवारमा आर्थिक विषयले हल्का तनाव दिन सक्छ। महिलाहरूले भारी सामान उठाउनबाट बच्नु राम्रो हुनेछ। कम्मर र घाँटी सम्बन्धि समस्या बढ्न सक्छ। लक्ष्यप्रति केही अन्योल रहन सक्छ र करियरका केही अवसरहरू छुट्न सक्छन्। नयाँ साथीहरूसँग अलि सावधानी अपनाउनु आवश्यक छ।
उपायः हरेक दिन श्रीसूक्तको पाठ गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि यो साता लामो समयदेखि चलिरहेको समस्या कुनै प्रभावशाली व्यक्तिको सहयोगले समाधान हुन सक्छ। साताको सुरुवात तपाईंको करियर, व्यवसाय र पारिवारिक जीवन तीनै पक्षका लागि शुभ र लाभदायक रहनेछ। यस समयमा स्वास्थ्य र सम्बन्ध सामान्य रहनेछन्। विगत केही समयदेखि रहेको शारीरिक समस्या कम हुँदै जानेछ र उपचारको राम्रो प्रभाव देखिनेछ।
आर्थिक दृष्टिले साताको सुरुवात निकै राम्रो रहनेछ। भाग्यको साथ मिल्ने भएकाले व्यापारमा मनचाहा लाभ प्राप्त हुनेछ। राम्रो धन आगमनको योग पनि बनेको छ। युवाहरूको समय मनोरञ्जन र रमाइलोमा बित्नेछ। कामकाजी व्यक्तिहरूले परिवारसँग खुसीका क्षणहरू बिताउने अवसर पाउनेछन्। समग्रमा पारिवारिक जीवन सुखद रहनेछ। तर साताको अन्त्यतिर भने रिस र बोलीमा नियन्त्रण राख्नु आवश्यक हुनेछ, नत्र ठूलो समस्या आउन सक्छ। लामो समयदेखिको कुनै सम्बन्धमा दरार पर्न सक्ने सम्भावना पनि छ, त्यसैले व्यवहारमा सावधानी अपनाउनु राम्रो हुनेछ।
आर्थिक पक्षमा यो साता राहत दिने खालको रहनेछ। पुराना आर्थिक समस्या समाधान हुनेछन् र रोकिएको पैसा फिर्ता आउने सम्भावना छ। शेयर बजार वा अन्य लगानी क्षेत्रबाट लाभ मिल्ने संकेत छन्।
व्यापार र जागिरमा भने सतर्कता आवश्यक हुनेछ। काममा लापरवाही वा ध्यान नदिँदा घाटा हुन सक्छ। प्रतिस्पर्धीहरूले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्, त्यसैले योजनामा पूर्ण ध्यान दिनु आवश्यक छ। विद्यार्थीहरूका लागि यो समय मेहनत र अनुशासनको हुनेछ। पढाइमा भएका कमजोरीहरू सुधार गर्न बढी प्रयास गर्नुपर्नेछ। नयाँ कोर्स वा सीप सिक्न चाहनेहरूका लागि समय राम्रो रहनेछ।
उपायः हनुमान चालीसा पाठ गर्नु शुभ हुनेछ।
धनु राशि
यो साता निकै दौडधुप र व्यस्तताले भरिएको रहनेछ। सानासाना कामका लागि पनि धेरै भागदौड गर्नुपर्ने अवस्था आउन सक्छ। कार्यक्षेत्रमा कामको चाप बढ्नेछ भने घरायसी जिम्मेवारीहरूले पनि चिन्ता दिन सक्छन्। साताको सुरुवातमा अचानक लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। यात्रा थकानपूर्ण रहनेछ र अपेक्षा अनुसारको फल नपाइन सक्छ। यस समयमा घर र कामसँग सम्बन्धित निर्णयहरू निकै सोचविचार गरेर मात्र लिनु राम्रो हुनेछ, किनकि त्यसको असर लामो समयसम्म रहन सक्छ।
साताको उत्तरार्ध भने केही राहत दिने खालको रहनेछ। व्यापारमा गति आउनेछ र लाभ पनि प्राप्त हुनेछ। तर आम्दानीसँगै खर्च पनि बढ्ने भएकाले आम्दानी र खर्चबीच सन्तुलन मिलाउन गाह्रो हुन सक्छ। सम्बन्ध सुधारका लागि कम बोल्नु र अरूको कुरा ध्यान दिएर सुन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा पार्टनरको भावनाको कदर गर्नु आवश्यक छ। वैवाहिक जीवन सुखद बनाउन विवाद होइन, संवादको सहारा लिनु उपयुक्त हुनेछ।
व्यवसाय गर्नेहरूका लागि यो साता मेहनत धेरै गर्नुपर्नेछ। जागिर गर्नेहरूले अपेक्षाकृत सजिला काम पाउन सक्छन्। ठूलो बोनस वा शुभ समाचार फोनमार्फत प्राप्त हुने सम्भावना छ। घरमा मर्मत वा सुधारका काम गर्ने सोच बन्न सक्छ। परिवारका सदस्यहरूको साथ र सहयोगले मन प्रसन्न हुनेछ र कुनै मांगलिक कार्यक्रमको आयोजना हुने सम्भावना पनि छ।
यो साता आशाले भरिएको भए पनि त्यसअनुसार सफलता पाउन मेहनत अनिवार्य हुनेछ। अरूलाई सहयोग गर्दा उनी वास्तवमै आवश्यकतामा छन् कि छैनन् भन्ने कुरा बुझेर मात्र सहयोग गर्नु राम्रो हुनेछ। नियमअनुशासन कायम राख्न कहिलेकाहीँ कठोर निर्णय लिनुपर्ने हुन सक्छ, जसले केही आफन्तहरूलाई असन्तुष्ट बनाउन सक्छ। विद्यार्थीहरू पढाइलाई लिएर अलमलमा पर्न सक्छन्। पेटसम्बन्धी समस्या जस्तै ग्यास र कब्जियतले सताउन सक्छ।
उपायः हरेक दिन भगवान विष्णुको पूजा गरी श्री विष्णु सहस्रनाम पाठ गर्नु शुभ हुनेछ।
मकर राशि
मकर राशिका लागि यो साता आर्थिक रूपमा बलियो रहनेछ। धनसँग सम्बन्धित नयाँ योजना बनाउने अवसर मिल्नेछ। सम्पत्ति वा घरजग्गा खरिद गर्ने योग पनि बनेको छ, जसमा गरिएको लगानी दीर्घकालीन रूपमा लाभदायक हुनेछ। तर धार्मिक कार्य वा अन्य आवश्यक खर्च पनि बढ्न सक्छ, त्यसैले खर्चमा अलि सतर्क रहनु राम्रो हुनेछ।
व्यापार र जागिरमा भने सावधानी आवश्यक हुनेछ। व्यवसाय गर्नेहरूले साझेदारीमा ठूलो निर्णय लिनुबाट बच्नु उपयुक्त हुनेछ। जागिर गर्नेहरूलाई सहकर्मीहरूको सहयोग मिल्नेछ, जसले कामको बोझ कम गर्न मद्दत गर्नेछ। तर अहिले जागिर परिवर्तन गर्ने सोच नगर्नु राम्रो हुनेछ, वर्तमान अवस्थामा नै टिकेर अघि बढ्नु लाभदायक हुनेछ।
करियर र शिक्षामा विद्यार्थीहरूका लागि यो साता ऊर्जा र उत्साहले भरिएको रहनेछ। पढाइमा मन लाग्नेछ र नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। तर बीचमा केही चुनौती आउन सक्छन्, त्यसैले धैर्य राख्नु आवश्यक हुनेछ।
तपाईंको गम्भीर स्वभावको प्रशंसा हुनेछ। लामो समयदेखि रहेको स्वास्थ्य समस्या सुधार हुँदै जानेछ। समाजमा तपाईंको लोकप्रियता बढ्नेछ। तपाईंले लिएका निर्णयहरू भविष्यमा अत्यन्त लाभदायक हुनेछन्। मनोबल उच्च रहनेछ र कार्यशैलीमा सुधार आउनेछ। सन्तानको सहयोगले व्यापारमा राम्रो प्रगति हुनेछ। साताको उत्तरार्ध विशेष रूपमा शुभ रहनेछ।
स्वास्थ्यतर्फ ध्यान दिन आवश्यक छ। उच्च अधिकारीबाट आलोचना हुन सक्छ, त्यसैले संयमित भएर काम गर्नु राम्रो हुनेछ। अरूको विषयमा अनावश्यक प्रतिक्रिया दिनु हुँदैन। आइतबार घरमा विवाद हुन सक्छ। मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनुहोस्। बिहान–साँझ योग र प्राणायाम गर्नु लाभदायक हुनेछ। कामको चापका कारण परिवारलाई समय दिन नसक्ने अवस्था आउन सक्छ।
परिवारका सदस्यहरूको व्यवहार केही कठोर देखिन सक्छ। तपाईंको सफलता अरूसँग बाँड्नुपर्ने अवस्था आउन सक्छ, जसले हल्का असन्तुष्टि दिन सक्छ।
उपायः हरेक दिन “ॐ नमो भगवते वासुदेवाय” मन्त्रको जप गर्नु शुभ हुने छ ।
कुम्भ राशि
कुम्भ राशिका लागि यो साता निकै राम्रो र राहत दिने खालको रहनेछ। साताको सुरुवात अत्यन्त शुभ रहनेछ। ससुराली पक्षबाट उपहार प्राप्त हुन सक्छ। प्रेमी वा प्रेमिकासँग भेटघाटको उत्साह बढ्नेछ। नयाँ सम्पत्ति खरिद गर्ने योग पनि बनेको छ। धर्म र अध्यात्मप्रति विशेष रुचि बढ्नेछ।
साथीहरूको विवाह आदि विषयमा चर्चा हुने सम्भावना छ। इन्टरभ्यु वा प्रतिस्पर्धात्मक अवसरहरूमा सफलता मिल्न सक्छ। महत्त्वपूर्ण सम्मेलन वा कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। तपाईंका गुणहरूको प्रशंसा हुनेछ र उच्च लक्ष्य प्राप्त गर्न सफलता मिल्नेछ। विदेशमा बस्ने योजना बनाइरहनुभएको छ भने यो साता अत्यन्त अनुकूल रहनेछ।
कुनै समयदेखि करियर, व्यवसाय वा व्यक्तिगत जीवनमा समस्या झेलिरहनुभएको छ भने यो साता त्यसको समाधानतर्फ प्रगति हुने संकेत छ। पारिवारिक निर्णयहरूमा तपाईंको भूमिका महत्त्वपूर्ण रहनेछ, त्यसैले कुनै पनि निर्णय हतार वा आवेगमा नगर्नु राम्रो हुनेछ। करियर र व्यवसायका लागि गरिने यात्राहरू लाभदायक र सुखद रहनेछन्।
व्यापारिक दृष्टिले समय राम्रो रहनेछ तर ठूला निर्णयहरू गर्दा शुभचिन्तकहरूको सल्लाह लिनु आवश्यक हुनेछ। जागिर गर्नेहरूलाई वरिष्ठ र सहकर्मी दुवैबाट राम्रो सहयोग मिल्नेछ। उच्च अधिकारीहरू तपाईंप्रति अनुकूल रहनेछन् र साताको अन्त्यसम्ममा ठूलो जिम्मेवारी वा पद प्राप्त हुने सम्भावना पनि छ।
स्वास्थ्यतर्फ साताको सुरुवात सामान्य रहनेछ तर अन्त्यतिर मौसमी रोगहरूबाट सावधान रहनु आवश्यक हुनेछ। प्रेम सम्बन्धमा आपसी विश्वास र नजिकोपन बढ्नेछ। वैवाहिक जीवन सुखद रहनेछ।
व्यवसायमा समन्वय कायम गर्न मेहनत गर्नुपर्नेछ। महिलाहरूलाई महिनावारीसम्बन्धी अनियमितता जस्ता समस्या हुन सक्छ। मनमा नकारात्मक विचार आउन नदिनु राम्रो हुनेछ। नयाँ कोर्स वा अध्ययन सुरु गर्दा पहिले त्यसबारे राम्रो जानकारी लिनु उपयुक्त हुनेछ। जीवनसाथीसँग संवादहीनता हुन नदिनुहोस्। रिस नियन्त्रण गर्नु आवश्यक हुनेछ।
उपायः हरेक दिन हनुमान चालीसा पाठ गर्नु शुभ हुनेछ।
मीन राशि
यो साता भाग्य साथ दिने खालको रहनेछ। लामो समयदेखि चलिरहेको कुनै समस्या समाधान हुन सक्छ। अदालत–मुद्दा सम्बन्धी काममा तपाईंको पक्षमा निर्णय आउने सम्भावना छ। सरकारी योजनामा अड्किएको पैसा फिर्ता आउन सक्छ। समग्रमा आर्थिक, शारीरिक र मानसिक अवस्था सुधार हुँदै जानेछ। जागिर गर्नेहरूका लागि समय अत्यन्त राम्रो रहनेछ। मेहनत अनुसार पूर्ण फल प्राप्त हुनेछ र उच्च अधिकारीहरूले तपाईंको कामको प्रशंसा गर्दै पदोन्नति दिने सम्भावना पनि छ।
यस साता अवसरहरूको राम्रो उपयोग गर्नुपर्ने समय छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि तपाईं राम्रो प्रदर्शन गर्न सफल हुनुहुनेछ। नयाँ काम सिक्ने वा नयाँ सीप विकास गर्ने अवसर मिल्नेछ। यात्रा गर्ने सम्भावना पनि छ। अविवाहित व्यक्तिहरूका लागि समय निकै राम्रो रहनेछ। वैवाहिक सम्बन्धमा प्रेम र समझदारी बढ्नेछ। लक्ष्यप्रति एकाग्रता रहनेछ र आर्थिक रूपमा मजबुती महसुस हुनेछ। सोमबार र मंगलबार विशेष रूपमा सुखद दिन रहनेछन्।
तर मनमा केही शंका र असुरक्षा पनि आउन सक्छ। आफ्नो पार्टनरको भावनालाई बुझ्नु आवश्यक हुनेछ। आफन्तहरूसँग सम्बन्ध बिग्रने जस्तो अनुभूति हुन सक्छ, त्यसैले धैर्य राख्नु राम्रो हुनेछ। सरकारी जागिर गर्नेहरूले कार्यक्षेत्रमा केही चुनौती सामना गर्नुपर्ने हुन सक्छ। रिस नियन्त्रण गर्नु र संयम अपनाउनु आवश्यक हुनेछ। विरोधीहरू सक्रिय हुन सक्छन्, त्यसैले सावधानी अपनाउनुहोस्। मधुमेह भएका व्यक्तिहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ र चिकित्सकको सल्लाह पालन गर्नु राम्रो हुनेछ।अरूको बहकाउमा नपर्नुहोस्।
उपायः हरेक दिन श्रीसूक्तको पाठ गर्नु शुभ हुनेछ।





























प्रतिक्रिया