तनहुँमा यस वर्ष देउसीभैलो खेल्न नपाइने

तनहुँमा यस वर्ष देउसीभैलो खेल्न नपाइने

केन्द्रबिन्दु
0
Shares

तनहुँ।

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले भने, “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।” पछिल्लो समय कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो ।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए। सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सुरक्षा व्यवस्थामा कडाइ

दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। “सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ”, उनले भने, “चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको छ ।”

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Logo