पाँचथर । अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।
पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ । उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए । यस्तै, नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुष्मा माबोको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ ।
पहिरोका कारण यहाँ रहेको मृदङ्गा झरना विद्यालयसमेत जोखिममा छ । बाढी पहिरोका कारण यस वडाका सबै सडक क्षतिग्रस्त बनेका छन् । खानेपानीका योजनासमेत अवरुद्ध भएका छन् । मुहानमा क्षति पुग्दा ६ सिंचाइ योजना र पाँच खानेपानी योजना अवरुद्ध छन् । हिलिहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा विपद्बाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कार्यक्रम तय गरेको गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।
यसैगरी बाढी पहिरोले अलैँची खेतीमा क्षति पुर्याउँदा कृषक मारमा परेका छन् । बालीनाली तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुहाङले बताए ।
































