काठमाडौं । ललितपुरको ग्वार्कोमा गत बुधबार चोरी गर्न गएको आरोपमा निर्घात कुटपिट गरी हत्या गरिएको घटनामा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ भइ ललितपुरको ग्वार्को बस्ने २६ वर्षीय गणेश मगर र गोदावरी नगरपालिका १०, चापागाउँ बस्ने २६ वर्षीय मनोज दाहाल छन् ।
ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार, उनीहरुले ग्वार्कोमा रहेको ग्यारेजमा चोरी गर्न गएको भनेर ललितपुरको महालक्ष्मी नगरपालिका ४ का अशोक कार्की भनिने अशोक सुवेदीलाई निर्घात कुटपिट गरेर अचेत बनाएका थिए ।
अचेत अवस्थामा छाडेर भागेको अवस्थामा पछि उनलाई उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा मृत्यु भयो । घट्नापछि फरार रहेका उनीहरुलाई प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले पक्राउ गरेको एसपी मिश्रले बताए ।
उनका अनुसार, दुवै जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।






























