काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल रहेकी छन्। उनको शव शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा फेला परेको हो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान जारी रहेकाले घटनाको कारणबारे तत्काल केही भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।




















