बढ्दै बालबालिकामाथि अनलाईन यौन शोषणका घटना

बढ्दै बालबालिकामाथि अनलाईन यौन शोषणका घटना

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  

बाल अधिकार र बाल संरक्षणसम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समुहका १ हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताइन् ।  

कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उनको भनाइ छ । बालबालिकाहरुले अनलाइनमार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उनले बताइन् ।

अनलाइनमार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पनि पाइएको संस्थाको दावी छ । बालबालिकालाई अनलाईनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरको तर्क छ । अनलाईनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उनले बताइन् ।

सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्येक्ष रुपमा भेटेर, अन्र्तवार्ता गरेर, समुह छलफल गरेर तथ्य निकालेको जनाएको छ । शुक्रबार सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो । 

Logo