बैतडीमा बिहीबार साँझ मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले बताए । पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखिएको सुवेदीले जानकारी दिए ।
घटनाका बारेमा सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप परीक्षण पनि भइरहेको प्रहरीले जनाएको छ । बुधबार हराएकी भट्टको बिहीबार विभत्स अवस्थामा शव फेला परेको थियो ।
यता, मृतक भागरथीको ‘भेजाइनल स्वाब’ पनि काठमाडौं पठाइएको छ । अनुसन्धानमा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए । डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।
घटनालाई प्रहरीले गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा भने पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बताउँदै आएको प्रहरी हत्यारा पत्ता लगाउनबाट चुकिरहेकै छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो ।
यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । हत्या पत्ता लगाउन नसक्दा, किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छन् भने, आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिले जनाएको छ ।
यसैबीच, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई चाँडै पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षिया भागरथी हत्याबारे गृहमन्त्री थापाको ध्यानाकर्षण गराउन पुगेका राष्ट्रियसभा र विघटित प्रतिनिधि सभाका सदस्यसँगको छलफलमा उनले अनुसन्धानमा कुनै पनि कमी नराखी दोषी चाँडै पत्ता लगाएर कडा कारवाही गरिने र पीडित परिवारलाई राहतको तत्काल व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।
माघ २१ गते हत्या गरिएकी किशोरी भट्टका दोषीलाई कारवाही गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराइएको राष्ट्रियसभा सदस्य बिमला राईले जानकारी दिइन् । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संयुक्तरुपमा गृहमन्त्री थापालाई भेटेका थिए ।





























प्रतिक्रिया