नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस अवस्थामा फेला

नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो।  उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ। ‘सुरुमा किशोरीको अवस्था निकै गम्भीर थियो,’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बलात्कारका कारण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो।’ तर सुरुमा अत्यधिक रक्तस्राव भइरहेका बेला ल्याइएकी किशोरीको स्वास्थ्य अवस्था अहिले भने सामान्य बन्दै गएको उनको भनाइ छ।  

घटना गत बिहीबार रातिको हो। नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ। सुरुमा घटनामा संलग्नलाई पक्राउ गर्न नै चासो नदिएको उनीहरूको भनाइ छ। प्रहरी अधिकारीले पनि यस घटनालाई लुकाउने प्रयास गरेका छन्। अहिलेसम्म प्रहरीले यो घटना सार्वजनिक गरेको छैन।  

चौधरीले दुई साता अघि चिनजान भएकी ती किशोरीलाई सल्लाह गर्नुछ भन्दै ललाइफकाई आफ्नै घरमा बोलाएर रातभर राखी बलात्कार गरेको खुलेको प्रहरी स्रोतले बतायो। चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बस्छन् । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार भोलिपल्ट शुक्रबार बिहान केही होसमा आएपछि किशोरीलाई चौधरीले घर पठाएका थिए। तर युवती चौधरीकै घर नजिकको बाटोमा बेहोस अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि अस्पताल लगेपछि बलात्कारको घटना बाहिरिएको हो।  

बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका छन्। प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेर आइतबार उनलाई पनि स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल ल्याएको थियो। जाहेरी दिँदा पनि प्रहरीले बलात्कारमा संलग्नलाई संरक्षण गर्दै पक्राउ गर्न आलटाल गरेको र अहिले पक्राउ गरेपछि पनि घटनालाई अन्यत्रै मोड्ने प्रयास गरेको गुनासो आफन्तको छ। प्रहरीले सुरुमै जाहेरी लिन अस्वीकार गरेको एक आफन्तले बताए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo