सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

केन्द्रबिन्दु
0
Shares

जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ ।

शनिबार रातिदेखि शुरु भएको हिमपातले दुई फिटमाथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिए। उनका अनुसार चार दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्न समेत कठिनाइ भएको छ ।  

पाँच महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलो पटक चार दिन अघिबाट हिमपात शुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बा लगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ । यसरी नै सङ्खुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिरमा, सेदुवा, हटिया, चेपुवा लगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए ।  

यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिइन् । पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल शुरु भएको खनालले जानकारी दिइन्।रासस

Logo