काभ्रेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विवरण सङ्कलन सँगसँगै

काभ्रेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विवरण सङ्कलन सँगसँगै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पनि आगामी फागुन पहिलो सातादेखि सो अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले सरकारले सबै नेपाली नागरिकको डिजिटल पहिचान स्थापित गर्ने गरी राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने गरी सञ्चालन गरिएको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला २१औँ नम्बरमा रहेको बताए ।

अहिलेसम्ममा पाँचवटा जिल्लामा अभियान सम्पन्न गरिसकेको र सातैवटा प्रदेशका १५ वटा जिल्लामा एकैसाथ अभियान चलिरहेको उनले जानकारी दिए । ‘‘सतहत्तर जिल्लामध्ये २१औँ जिल्लाको रुपमा काभ्रेपलाञ्चोक जिल्ला परेको छ’’ उनले भने, “सबै जिल्ला प्रशासन कार्यालयबाट विवरण दर्ता गर्ने काम गरिरहेकै अवस्थामा ती कार्यालयबाट मात्रै विवरण दर्ता गर्न वर्षौं समय लाग्ने भएकाले एक पटकको लागि देशैभरिका सबै वडा कार्यालयभित्रका नागरिकलाई पायक गर्ने टोलटोलमा पुगेर विवण सङ्कलन गर्ने ध्येयका साथ अभियानलाई अगाडि बढाइराखेका छौँ ।”

राष्ट्रिय परिचयपत्र भोलिका दिनमा असाध्यै महत्वपूर्ण विवरण हुने भएकाले यो अभियान टोलटोलमा पुगेको बेलामा कुनै पनि नागरिकलाई नछुटाई विवरण दिन उनले आग्रह गरे । सबै विवरण त्यही पत्रको आधारमा गर्ने सरकारको योजना रहेकाले पछि सेवा लिने क्रममा राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा सेवा सुविधा रोकिने अवस्था हुने भएकाले सबै नागरिकले आफ्नो विवरण टिपाउने काममा सहयोग गर्न स्थानीय तहलाई आग्रहसमेत गरे ।  

भोलिको दिनमा राज्यले राष्ट्रिय परिचयपत्र लागू गरिसकेपछि सो पचियपत्रबिना कुनै पनि काम नहुने अवस्था हुने भएकाले सबै नागरिकले सो परिचयपत्र बनाउन आवश्यक रहेको उनको भनाइ छ । परिचयपत्रको लागि राज्यले ठूलो लगानी गरी राज्यले अहिले करीब एक हजार जना जनशक्ति गरिचालन गरिरेहको बताए ।  

अभियान दोहोरिएर गाउँमा नजाने भएकाले एकपटक आएको अवसरलाई उचित रुपमा सदुपयोग गर्न र सञ्चालन भएको अभियानमा सबै चिजको सुरक्षा व्यवस्था कायम गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । सो अभियानसँगै व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमलाई पनि सञ्चालन गरिने भएको उनले बताए । अहिले सञ्चालन भएको अभियानअन्तर्गत साँढे दुई महिनाभित्रमा दुई लाख विवरण सङ्कलन गर्ने राज्यको लक्ष्य रहेको उनको भनाइ छ ।  

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले राज्यसँग नागरिकको पूर्ण विवरण हुने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र महत्वपूर्ण बनेको बताए । अहिले सञ्चालन भएको अभियानलाई सम्पन्न गर्नको लागि सबै स्थानीय तहहरु पूर्ण रुपमा सक्रिय भएर लाग्न उनले आग्रह गरे । रासस

Logo