सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।
चितवन ।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परी मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् ।
पूर्व पश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना ५९ प ८७७ नम्बरको मोटरसाईकल बुधबार बिहान ठक्कर खाएको थियो । ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।





























प्रतिक्रिया