भागरथी हत्या : दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी जाहेरी दर्ता

भागरथी हत्या : दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी जाहेरी दर्ता

केन्द्रबिन्दु
0
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

मृतक भागरथीका दाजु शङ्कर भट्टले बुधबार दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले दिनेशलाई नै अपराधी हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शङ्करले बताए। उनले भने, “दिनेश एक्लैले त्यतिसम्म गर्यौँ होला भन्ने विश्वास त छैन, प्रहरीले अपराधी त्यही हो भनेपछि हामीले जाहेरी दिएका हौँ ।” घटनाको अनुसन्धानका लागि डिआइजी सुवेदीसँगै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी लगायतको टोली खटिएको थियो ।  

आफन्तद्वारा अझै पनि शव बुझ्न अस्वीकार  

प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन् । उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ । अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ ।  “दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ”, भागरथीका काका शिवराज भट्टले भने, “परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ ।”

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र र विभत्स अवस्थामा शव फेला परेको थियो । यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् । भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए ।  

यस्तै सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताए । उनले भने, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नु पर्छ ।”

Logo