समाज गण्डकी

बेँसीशहरमा तीन दिनदेखि लागेको आगो नियन्त्रणमा

15 Shares

लमजुङको बेँसीशहर स्थित एक जङ्गलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ मा रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो । 

शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं ६ मा रहेको जङ्गलमा ठूलो आगलागी भएको थियो । जङ्गलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ । 

आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कसले आगो लगाएको भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०७:४१ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी