समाज सुदूरपश्चिम

बाजुराका ग्रामीण सडकको भाडादर निर्धारण

15 Shares

बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त  भाडा दर कायम गरेको हो ।  

पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले जानकारी दिए । 

जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी  यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।  

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताए । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने  र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ । 

यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र  सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा  सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् । 

जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताए । जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो ।

प्रकाशित: ११ फाल्गुन २०७७ १४:२४ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी