सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।
बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाममा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गरेका हुन् । घेराउ कार्यक्रममा उपस्थित बालाजुका स्थानीयले सडक विस्तार गर्ने नाममा घर भत्काइदिँदा आफूहरुको उठिबास भएको बताएका छन् । अहिलेसम्म एक रुपैयाँ क्षतिपूर्ति नपाएको पनि पीडित स्थानीयको गुनासो छ ।
यस्तै बृहत नागरिक आन्दोलनका अभियान्ताहरुले कमल पोखरीमा कंक्रिट प्रयोग गरी कमलको फूल फुलाउँदा पोखरीको मौलिकता नष्ट हुने बताएका छन् । जनताले कंक्रिटको प्रयोग नगर्न माग गरिरहे पनि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नसुनेको उनीहरुको आरोप छ । उनीहरुले जनताको आवाज सुन्न र बुझ्न नसक्ने मेयरले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।





























प्रतिक्रिया