केन्द्रबिन्दु डटकमको सम्पादकमा छत्र कार्की नियुक्त भएका छन्। केन्द्रबिन्दु मिडिया प्रालिको बोर्ड बैठकले कार्कीलाई सम्पादक नियुक्त गरेको हो।
केन्द्रबिन्दु मिडियाका प्रबन्ध निर्देशक विदुर खतिवडाले नवनियुक्त सम्पादक कार्कीलाई स्वागत गर्दै आगामी दिनमा केन्द्रविन्दुलाई अझै सशक्त बनाउँदै लगिने बताए। सम्पादक कार्कीले पत्रकारिताका मूल्य–मान्यतालाई आत्मसात गर्दै मानवीय अभिरुचिका खोजमूलक समाचारका साथै मल्टीमिडियालाई विशेष जोड दिइने धारणा राखे।
यसअघि नेपालन्युजको सम्पादक भइसकेका कार्कीले नागरिक राष्ट्रिय दैनिकको ब्युरो चिफ भएर काम गरिसकेका छन्। देशान्तर साप्ताहिकबाट पत्रकारिताको करिअर थालेका उनीसँग नेपाल समाचारपत्रको सहप्रकाशन खोजमूलक पत्रिका ‘साधना’ र समय म्यागेजिनमा समेत काम गरेको अनुभव छ।
दुई दशकभन्दा बढी अवधिदेखि पत्रकारितामा क्रियाशील कार्कीले राजनीति, विज्ञान–प्रविधि, शिक्षा, स्वास्थ्य, विकास, वातावरणलगायत विषयमा समाचार, फिचर तथा खोजमूलक लेख लेख्दै आएका छन्। उनी नेपाल फोरम अफ साइन्स जर्नलिस्ट्सका संस्थापक अध्यक्षसमेत हुन्।
अमेरिका, युरोप तथा एसियाली मुलुकमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा मिडिया, दिगो विकास, न्युरो साइन्स, साइन्स जर्नलिज्मलगायत विषयमा उनले आफ्नो कार्यपत्र प्रस्तुत गरिसकेका छन्।
नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको अध्ययन पूरा गरेका कार्कीले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध कलेजहरूमा स्नातकोत्तर तहमा करिब एक दशकदेखि ग्रामीण विकास, समाजशास्त्र, जेन्डर स्टडीजलगायत विषय अध्यापन गर्दै आएका उनी माइन्डफुलनेस र दिगो ऊर्जा विषयमा पिएचडीका लागि अनुसन्धानरत पनि छन्।





























प्रतिक्रिया