जब चिल जस्तै गरि मानिस आकाशमा उडे…!

जब चिल जस्तै गरि मानिस आकाशमा उडे…!

केन्द्रबिन्दु
0
Shares

आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफैंमा दङ्ग परेका थिए। कतिपय हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म थिएन । 

मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ। मनमा रहर हुँदाहुँदै यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने। 

गाउँपालिका उपाध्यक्ष देवा अर्यालले भने  "प्याराग्लाइडिङ गर्ने अवसर जुर्यो । सुरुमा त मनमा कताकता डर लागेको थियो ।  धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरें।" आकाशमा चरा जस्तै उड्दै गर्दा उनले नजिकबाट सुन्दर पाखापखेरा र डाँडाकाँडा देख्दा निकै रमाइलो लागेको अनुभव सुनाए।  

मालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यको खोजीमा टेवा पुर्याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा ८६ उडान गरिएको थियो । 

गत मङ्सिर अन्तिम साता स्काइ लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत मालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । स्काइ लाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यवसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्न सक्ने जानकारी दिए।  

भौगोलिक दृष्टिकोणले मालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे दौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ। पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचूर सम्भावना रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ। गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यवसायिक केन्द्र बन्न सक्ने बताए। उनले गाउँपालिकाकोतर्फबाट आगामी दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने जानकारी दिए। बाह्य पर्यटकले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य हुन सक्ने गाउँपालिकाले जनाएको छ । 

बजार र व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाको तर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए। गाउँपालिका आफैँले महोत्सव सञ्चालन नगरे पनि स्थानीय सङ्घसंस्थाले गरेका कार्यक्रममा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।रासस

Skip This
Skip This
Logo