म्याग्दीको सिमगाउँमा भेटिए २०० वर्ष पुराना घर : सम्पदा संरक्षणमा घरमुली

म्याग्दीको सिमगाउँमा भेटिए २०० वर्ष पुराना घर : सम्पदा संरक्षणमा घरमुली

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा २०० वर्ष पुराना  मल्लकालीन वास्तुकलाका आकर्षक घर अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् । विसं १८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्तास्वरुप यो गाउँ पाएको र उनले नै यहाँ घर निर्माण गरेको जानकार बताउँछन् । त्यतिबेला जुन निर्माण सामग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत् अवस्थामा नै ती घर रहेका छन् ।

विर्तास्वरुप पाएको यो गाउँ कँडेलका सन्ततिले विसं १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गरेको र त्यस यता यहाँ कोमलसिंह खत्रीका सन्तानको बसोबास रहेको छ। सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् । 

बेनी–दर्बाङ सडकखण्डको नजिकै करीब ५०० मिटरको दूरीमा रहेको सिम गाउँमा ६ वटा पुराना घर रहेका छन् । तीमध्ये ‘बूढोघर नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आएका लप्टन कोमलसिंह खत्रीका नाति ६३ वर्षीय मनोजकुमार केसीले बताए। 

यी घर पुरातात्विक र प्राकृतिक खोज र अनुसन्धानका लागिसमेत निकै महत्वपूर्ण भएकाले आफूले यी सम्पदाको संरक्षण गरेको उनले बताए। घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट, सिँचाइ कुलो, ढुङ्गा बिच्छ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप र विभिन्न फलफूलको बगैँचा, खानेपानी, विद्युत् र सञ्चारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।
 
यहाँका घरको इतिहास २०० वर्ष पुरानो रहेको र आफूहरु यी सम्पदाको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंह खत्रीकी नातिनी बुहारी विष्णु केसीले बताइन् । खत्री परिवारका सदस्य अष्ट्रेलिया र अमेरिकामा छन् ।  

जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदाहुँदै पनि सिमगाउँ ओझेलमा परेको र सरोकारवालाले कुनै चासो नलिएको खत्री परिवारका सदस्यको भनाइ छ । मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरको प्रचारप्रसार गरी यी सम्पदाको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रवल सम्भावना रहेको छ।रासस

Logo