विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ।
‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ।
सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताए। उनले मुख स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताए। मन्त्री श्रेष्ठले भने, “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो। हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्ने लगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ।”
शिक्षामन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशुल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा घिमिरेको उदाहरणीय कामको प्रसंशा गरे। चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको भन्दै उनले अस्पताललाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकता अनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताए। उनले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निक्र्योल गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए। देशका सबै भेगका जनतालाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन आयोग लागि पर्ने उनले बताए।
सांसद नरोत्तम बैद्यले मुख स्वास्थ्यबारे समाजमा सचेतना अभिवृद्धि गर्न र यसको सर्वसुलभ पहुँचका लागि सबै सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिए। हस्पिटलका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरेले मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताए।
डेन्टल एशोसियशनका अध्यक्ष प्रविन्द्र अधिकारीले सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पुर्याउनु पर्नेमा जोड दिए। उनले नेपालमा चार हजारभन्दा बढी दन्त चिकित्सक रहे पनि सरकारले दरबन्दी खडा गर्न नसक्दा दन्त चिकित्सकहरूले अवसर नपाएको बताए।रासस
प्रकाशित: ७ चैत २०७७ १७:४० शनिबार