हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपालमा कोरोनाको दोस्रो लहर आएसँगै संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। अस्पतालमा विरामीको संख्या बढ्दै जाँदा निजी तथा सरकारी अस्पतालमा सेवा प्रभावित हुन थालेको छ। पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै जाँदा स्वास्थ्यकर्मी तथा बेडको अभाव देखिएको छ। अभावका कारण विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था आउँदा स्थिति नियन्त्रण बाहिर गएको छ। उपत्यकासहित बढी संक्रमित भेटिएका जिल्लाका निजी अस्पतालमा पनि समस्या देखिन थालेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस गरेका नेकपा एमालेका ४ जना प्रदेश सभा सदस्य को पद रिक्त भएको छ। प्रदेशसभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन्। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेश संसद्मा ‘टेबुल’ भएको छ। अविश्वासको प्रस्ताव कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ल्याएका हुन्।
त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु स्थागित गरेको छ। सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यो सँगै त्रिविका जारी परीक्षा तथा अब हुने तयारीमा रहेका सबै परीक्षा स्थगित भएका छन्।
आइतबार ७५ अंकले घटेको नेप्से आज सोमबार पनि पुनः ६५.५८ अंकले घट्दै बन्द भएको छ। सोमबार २.५५ प्रतिशत घट्दै नेप्से २५०६.६२ विन्दुमा रोकिएको हो। कोरोबारको दोस्रो दिन आज १ करोड २९ लाख ११ हजार ७२१ कित्ताको कारोबारमा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रूपैयाँ बराबरको कारोबार भएको छ। घटेको बजारमा विशाल बजार र महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । यस्तै सोमबार माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै ३१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
कोरोना भाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन देशहरूले आपत्कालीन मेडिकल सहयोग गर्ने बताएका छन्। भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ भने, यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन लगायतका उपकरणहरू पठाउन थालेको छ। यस्तै भारतको अवस्थालाई मध्यनजर गर्दै युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँन थालेका छन्





























प्रतिक्रिया