सहर छाडी गाउँ फर्कनेको लर्को, बसको टिकट नपाउँदा सरकारमाथि आक्रोश

सहर छाडी गाउँ फर्कनेको लर्को, बसको टिकट नपाउँदा सरकारमाथि आक्रोश


कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ दिनका लागि निषेधाज्ञा घोषणा गरेको छ। निषेधाज्ञा जारी भएसँगै उपत्यका छाड्नेहरूको लर्को लागेको छ।

दुई दिनदेखि उपत्यका छाडेर गाउँ फर्किर्नेहरूको भिड थामिनसक्नु देखिएको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वरलगायत उपत्यका छाड्ने नाकाहरूमा सर्वसाधारणको भिड थामि नसक्नुको छ। उपत्यकाबाट अन्य जिल्लाहरूका लागि छुट्ने सवारी साधनको चाप पनि उत्तिकै बाक्लो छ। 

सामान्य अवस्थामा भन्दा उपत्यका छाड्ने सवारीको चाप उच्च देखिएको छ भने सार्वजनिक यातायातमा यात्रुको खचाखचले संक्रमण जोखिम झनै उच्च देखिन्छ।

टिकट काट्न र बस चढ्ने हतारोले बसपार्कमा सर्वसाधारणको लाम देखिएको छ भने हतारोमा यात्रुले न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको समेत देखिँदैन। यसले उपत्यकाबाट गाउँ–गाउँसम्म संक्रमण फैलाउने त्रास बढाएको छ। 

अघिल्लोपटक सरकारले अकस्मात लकडाउनको घोषणा गर्दा कैयौं सर्वसाधारण बिचल्लीमा परेका थिए। गाउँ फर्कने योजनासमेत नपाउँदै लकडाउन हुँदा उपत्यकाबाट सयौं व्यक्तिले हजारौं माइलको पैदल यात्रा तय गर्नुपरेको थियो। 

सोही अवस्थालाई मध्यनजर गर्दै यस वर्ष सरकारले सुरुका दुई दिन उपत्यका छाड्नेका लागि समय भन्दै बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरेको छ। तर, यो समय पनि पर्याप्त नभएको सर्वसाधारणको गुनासो छ।  

सोमबारदेखि घन्टौं पर्खेर टिकट काट्ने र घन्टौं कुरेर बस चढ्नेको पीडा पनि उस्तै छ। कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा सरकार निषेधाज्ञा गर्न बाध्य देखिन्छ। तर, सर्वसाधारण बन्दको विकल्प खोज्नुपर्नेमा अडिग छन्। 

दोलखा सदरमुकाम चरिकोटमा औषधि नपाएर उपचारका लागि काठमाडौं आएका केदारप्रसाद घिमिरे निषेधाज्ञाको घोषणासँगै घर फर्किदैछन्। बुधबार बिहानी दोलखाको मैनापाखरी जान भनेर कोटेश्वर पुगेका घिमिरे घन्टौं पर्खदा पनि गाडी नपाएर सुस्केरा हाल्दै थिए। सरकारले बन्दको विकल्प त खोजेन नै हतारमा निर्णय गर्दा जनतालाई समस्या भएको उनको गुनासो छ।

निषेधाज्ञा छल्न आफ्नो गाउँ सिन्धुली हिँडेकी सिर्जना राईको पीडा पनि उस्तै छ। मंगलबारदेखि टिकट खोजे पनि नपाएपछि बिहीबार बिहानै उनी कोटेश्वर–जडिवुटी पुगिन्। उभिएरै भए पनि गाउँ फर्कने निर्णयमा पुगेकी राई हरेकपटक सरकारले हतारोमा निर्णय सुनाउँदा सर्वसाधारणले दुःख पाउने गरेको गुनासो गर्छिन्। 

यस्तै, चपेटामा परेका यात्री हुन् रणबहादुर थापा, यात्रुको चाप बढेको छ तर सवारी छैनन्। सवारी नहुँदा यात्रुले घर जाने रहर गर्दा पनि नपाउने अवस्था आउनुमा सरकारको कमजोरी देख्छन् उनी। 

कोटेश्वरमा मात्र होइन, नयाँ बसपार्कमा पनि यात्रुको अवस्था उस्तै छ। बिहानबाट टिकट खोज्दा पनि नपाएपछि भोकै कतै टिकट मिलिहाल्छ कि भनेर बस्नेको संख्या धेरै छ। अझै, सरकारले बेलैबाट सावधानी नअपनाएर अपर्झट लकडाउन र निषेधाज्ञा गर्दा सर्वसाधारणमा ठूलो असर पुगेको उनीहरूको गुनासो छ। 

स्वास्थ्य उपचारका लागि उपत्यका भित्रिएका हुन् या वैदेशिक गन्तव्यमा हिँडेका यात्रु सबै गाउँ फर्किएका छन्। काठमाडौंमै बसौं खाने बस्ने कुनै व्यवस्था छैन।  लकडाउन कहिलेसम्म लम्बिने हो कुनै टुंगो छैन। खर्च दिनदिनै सकिँदै जाँदा उनीहरू उपत्यका बसिरहने कुनै सम्भावना नै देख्दैनन्। 

यस्तै पीडामा रुमलिएका यात्रु हुन् सुर्खेतका भरतबहादुर सिंजाली। ट्युमरका बिमारी सिंजाली मंसिरदेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत थिए। तर, हाल सरकारले निषेधाज्ञा जारी गरेसँगै उनलाई अस्पतालले डिस्चार्ज दियो। 

दिसापिसाबका लागिसमेत सहारा चाहिने सिंजाली ह्विलचियरको सहारामा नयाँ बसपार्कमा घन्टौं टिकटको पर्खाइमा बस्दा दिक्क देखिन्थे। उनलाई पुनः काठमाडौं फर्कने इच्छा नै छैन तर, उपचारका लागि भए पनि अवस्था कहिले सामान्य होला, त्यसैको पर्खाइमा छन् उनी। 

गाउँ फर्किनेको लर्को
सरकारले निषेधाज्ञा जारी गरेको भोलिपल्ट अर्थात् मंगलबार मात्रै ६९ हजार ५० जनाले उपत्यका छाडेको तथ्यांक छ। ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालका अनुसार देशका अन्य गन्तव्य जिल्लाका लागि छुट्ने लामो दूरीका ८ हजार सवारीसाधन विभिन्न नाकाबाट बाहिरिए।

तर, यो तथ्यांक बुधबार ह्वात्तै बढेको छ। ट्राफिक प्रहरीको प्रारम्भिक आँकलनमा ३ लाख बढी सर्वसाधारणले उपत्यका छाड्ने देखिन्छ।

Logo