पूरै मुलुकलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ। जनचेतना जगाउने क्रममा नगरका १० वटै वडामा नगरपालिकाले माइकिङ सुरु गरेको छ।
नयाँ भेरिएन्टको कोरोना भाइरस ७० प्रतिशतसम्म फैलन सक्ने भएकाले नगरवासीलाई बढी होसियारी अपनाउन आग्रह गर्दै माइकिङ गर्न थालिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘यो काममा प्रत्येक वडाका जनप्रतिनिधि, टोलटोलमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका लगायत लागेका छन् । समय साँच्चै चुनौतीपूर्ण बनेको छ,’ उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक काम त गरिहाल्छ, यो विषम परिस्थितिमा नगरवासीका तर्फबाट सचेतता अपनाउनु जरुरी छ ।’ यसका लागि नगरपालिकाले १९ बुँदे अपिल सार्वजनिक गरेको, जसमा आफूलाई कोरोना संक्रमण नहोस् भन्नका लागि नगरवासीले कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने भनी जानकारी गराइएको, उक्त अपिल सम्पूर्ण नगरबासीमाझ पुर्याउने काम भइरहेको पनि उनले बताए।
नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाको विशेष पहलमा किष्ट हस्पिटलमा चलाइएको खोप अभियान कार्यलाई पीएसजीमा समेत सञ्चालनमा ल्याइएको छ । नगरपालिकाभित्र ३० बेड क्षमताको अक्सिजनसहितको युनिट स्थापनाको कार्य अगाडि बढाइएको छ । त्यसलाई ५० बेड क्षमतामा विस्तार गर्न टेक एन्ड केयर हस्पिटलसँग सहकार्य गरी केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ‘यसका लागि अक्सिजन तथा जनशक्ति व्यवस्थापनको कार्य नगरपालिकाले गरिरहेको छ,’ उनले भने।
नगरप्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाभित्र कोही संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन छुट्टै एम्बुलेन्सकोसमेत व्यवस्था गरिएको छ । नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितहरूका लागि यो सेवा उपलब्ध गराइएको छ । उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिएका छौं। नगरपालिकाले एन्टिजेन परीक्षण सुरु गरिसकेको छ । एन्टिजेनबाट शंका लागेमा पीसीआर टेस्टकोसमेत व्यवस्था नगरपालिकाले गरेको छ।’
नगरपालिकाले सबै वडामा एक–एक स्वास्थ्यकर्मीसमेत खटाएको छ । होम आइसोलेसनमा रहेका नगरवासीहरुको सुरक्षाको प्रत्याभूति गर्नका लागि र कोरोना भाइरसको नयाँ भेरिएन्टबारे जो कोहीलाई बुझ्नु परेमा नगरपालिकाले चौबीसै घण्टा चार जना डाक्टरबाट परामर्श दिने काम गरिरहेको छ । ‘आजको दिनसम्म ३०० जनाभन्दा बढी नगरवासीले यो सेवा लिइसक्नुभएको छ,’ श्रेष्ठले जानकारी दिए, ‘होम आइसोलेसनमा रहनुभएका नगरवासीहरुको मानसिक अवस्थालाई ध्यानमा राख्दै एक जना मनोचिकित्सकको पनि चाँडै व्यवस्था गर्ने योजनामा छौं।’
नगरपालिकाले न्युन आर्थिक अवस्था भएका नगरवासीहरूलाई रोजगारी दिने र नगरपालिकाभित्र कसैले पनि भोकै रहनु नपरोस् भनेर खाद्यान्नको समेत व्यवस्थापन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए। ‘यो कठिनाइको घडीमा सम्पूर्ण नगरवासीको पछाडि नगरपालिका हरदम खडा छ भनी आश्वस्त पार्न चाहन्छौं,’ उनले भने ।





























प्रतिक्रिया