अक्सिजनको मात्रा घट्यो, अस्पतालमा बेड छैन, कोभिड बिरामीलाई स्टेरोइड औषधि दिऔं: डा.अनूप सुवेदी

अक्सिजनको मात्रा घट्यो, अस्पतालमा बेड छैन, कोभिड बिरामीलाई स्टेरोइड औषधि दिऔं: डा.अनूप सुवेदी


कोरोना भाइरस नयाँ भेरियन्टले मुलुकभर संक्रमितको संख्या तीव्र रुपमा बढ्नुका साथै मृत्यु संख्यासमेत बढेको छ। उपत्यकालगायत मुलकभरका अस्पतालका बेड कोरोना बिरामीले भरिभराउ छन्।

सिकिस्त बिरामीले आइसियु र भेन्टिलेर पाउन सकेका छैनन्। अक्सिजन ग्यास नपाउँदा बिरामीको ज्यान गइरहेको छ। 

यदि घरमा बस्दाबस्दै कोरोना संक्रमित बिरामीको अक्सिजनको मात्रा घट्न थाल्यो र, त्यस्तो अवस्थामा  अस्पताल भर्ना भएर अक्सिजन र अन्य उपचार नपाएको बेलामा ह्याम्स अस्पताल, धुम्बाराहीका संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीले यस्तो बेलामा अपनाउनुपर्ने वैकल्पिक उपायबारे केही सुझाएका छन्।

डा. सुवेदीको फेसबुक वालबाट लिइएको यो सामग्री उपयोगी हुने ठानेर प्रकाशन गरेका छौं। यदि अक्सिजन लेभल कम छ र, अन्य उपचार नपाएको बेला निम्न उपाय अपनाइहाल्नु पर्छ : 

–स्टेरोइड औषधि खान सुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्वपूर्ण र प्राणदायी औषधि हो। 

याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे यसबाट हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा प्राण जोगाउन मद्दत पुग्ने देखिन्छ। 

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

कुन औषधि खाने?
Tab Methylprednisolone 32 mg  (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको एकपटक

Tab Dexamethasone 6 mg  (०.५ mg का १२ चक्की) एकैचोटी दिनको एकपटक।

Tab Prednisolone 40 mg दिनको एकपटक खानापछि खाने।

यो औषधिले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुनसक्छ।

औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छाड्नु हुँदैन।

तर यो औषधि सुरु गर्दा रोगको वेग केही मत्थर हुने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ।

यी औषधि बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेका बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।

डा. सुवेदी अन्यमा लेखेका छन्–असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।

Logo