भिडभाड, राजनीतिक दलको जुलुस र नागरिकले मापदण्ड अंगीकार नगरेका कारण कोरोना नयाँ भेरियन्टको जोखिम बढेको विज्ञहरुले बताएका छन्।
कोरोना महामारीको पहिलो तरंग समाप्त नहुँदै सबै कुरा खुकुलो गरेकाले अहिलेको यो अवस्था निम्तिएको चीनको उहानस्थित होङसी अस्पतालमा अनुसन्धान गरिरहेका नेपाली चिकित्सक डा. रमेश आचार्यले बताए।
उनका अनुसार अहिलेको यो भेरियन्ट अबको तीनदेखि ४ महिनासम्म रहन सक्छ। त्यसपछि यो भेरियन्टबाट अर्को आनुवंशिक उत्परिवर्तित भएर नयाँ भेरियन्टको जन्म हुनसक्छ। त्यो पनि यतिकै वा योभन्दा बढी घातक हुन सक्छ।
संक्रमणको चक्र तोड्न अपनाउन सकिने नीति–नियमलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके यसको जोखिम कम गर्न सकिने आचार्यको भनाइ छ।
जीवाणु वैज्ञानिक डा.सन्तोष दुलाल स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नभएका देशमा अहिले संक्रमण भयावह भइरहेको बताउँछन्।उनका अनुसार हाम्रो देशमा पनि नयाँ भाइरसको विस्तार जारी छ।
विगतभन्दा राम्रो ‘एक्सन प्लान’ बनाएर प्रभावकारी कार्यान्वयन गर्नसके संक्रमण परास्त गर्न सकिने उनको धारणा छ। ‘अब हामी नै गैरजिम्मेवार भयौं भने यसको विस्तार कस्तो होला, यसले पुर्याउने क्षति कस्तो होला? सोच्न पनि सकिँदैन। हामीले नीति नियमको प्रभावकारी कार्यान्वयनको बाटो अवलम्बन गर्याैं भने संक्रमण नियन्त्रणमा आउँछ र जोखिम पनि कम हुन्छ, नभए पटक–पटक नयाँ प्रारुपमा यसले दुख दिइरहन्छ,’ दुलाल भन्छन्।
नेपालमा कोरोना संक्रमणको पहिलो र दोस्रो तरंगको तथ्यांक विश्लेषण र व्याख्या गर्दा, हालको दोस्रो तरंग अत्यधिक आक्रामक र गम्भीर देखिएको प्रस्ट छ।
कोरोनाको प्राकृतिक मृत्यु नभइकन तत्काल अन्त्य हुन नसक्ने तर्क विज्ञहरुको छ। ‘कोरानाको प्राकृतिक मृत्युका लागि यसको विस्तारमा कमी ल्याउन आवश्यक छ, जसका लागि महामारी नियन्त्रणमा सरकारले बनाएको नीति कार्यक्रम र निर्देशिकाको सफल कार्यान्वयन गरिनुपर्छ,’ उनी थप्छन्।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टले त्राहिमाम मच्चाएको छ। नेपालमा विगत दुई सातामा २ लाख १० हजार व्यक्तिको नमुना परीक्षण गर्दा ८३ हजार संक्रमित थपिए भने ४ सय ५७ जनाले कोभिड–१९ का कारणले ज्यान गुमाए। यस अवधिमा कोरोना संक्रमण सरदर ४० प्रतिशत छ भने मृत्युदर ०.५५ प्रतिशत छ ।
नेपालमा कोरोना संक्रमणको पहिलो तरंगको उत्कर्ष विन्दु २०७७ साल असोज २३ देखि कात्तिक ७ सम्म दुई सातामा २ लाख २१ हजार व्यक्तिको नमुना परीक्षण गर्दा ५२ हजार ३ सय ३२ जनामा संक्रमण र २ सय २९ जनाको मृत्यु भएको थियो। त्यस अवधिमा संक्रमण दर २४ प्रतिशत र मृत्युदर शून्य दशमलव ४४ प्रतिशत थियो।
अहिले ठ्याक्कै नयाँ भेरियन्ट उत्कर्षमा पुगेको बेला संक्रमण दर दोब्बर र मृत्युदर उही शून्य दशमलव ५० भन्दा तल छ।
नेपालमा कोरोना संक्रमणको पहिलो र दोस्रो तरंगको तथ्यांक विश्लेषण र व्याख्या गर्दा, हालको दोस्रो तरंग अत्यधिक आक्रामक र गम्भीर देखिएको प्रस्ट छ ।
यसले के प्रस्ट पार्छ भने हालको आनुवंशिक र उत्परिवर्तित नयाँ भेरियन्टहरूको कोरोना संक्रमण अत्यासलाग्दो देखिएको छ, जसको कहरले जीवनको चक्रमाथि नकारात्मक असर परेको छ।
के यसरी नै आनुवंशिक उत्परिवर्तित भई नयाँ भेरियन्टले दुःख दिइ रहन्छ त ? यो महामारी कहिलेसम्म जोखिमयुक्त रहन्छ भन्ने प्रश्नमा बरिष्ठ जनस्वास्थ्य विज्ञ प्रा.डा. शरदराज वन्तको जवाफ यस्तो छ–अहिले नै केही अनुमान लगाउन सकिँदैन।
संक्रमणको जोखिम समय हाम्रो व्यवहार अनुसार फरक पर्न जान्छ। संक्रमण कहिलेसम्म रहन्छ, संक्रमणको स्वरुप कस्तो हुन्छ भन्ने कुरा हाम्रो व्यवहारले नै निर्धारण गर्ने हो।
विज्ञको यो दाबीले संक्रमण कति जोखिमयुक्त छ भन्ने कुरा हाम्रो व्यवहारले फरक पार्ने प्रष्ट भएको छ।
यसो भनिरहँदा पहिलो लहरका केही कुरा गर्न जरुरी छ। पहिलो लहर संक्रमण सुरु हुँदा प्रायः सबैले जनस्वास्थ्यका मापदण्ड सही तरिकाले अंगीकार गरेको तथ्यांक बेला–बेलामा स्वास्थ्य मन्त्रालयले निकाल्ने गरेको थियो।
एकताका काठमाडौं उपत्यकामा कति मानिसले जनस्वास्थ्यको मापदण्ड अंगीकार गर्छन् भनी अध्ययन गर्दा ७० प्रतिशतले अंगीकार गरेको तथ्यांक सार्वजनिक भएको थियो।





























प्रतिक्रिया