काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा पुनःसञ्चालन भएको छ। कोरोनाका विरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर गत बर्ष नै ‘एकीकृत एम्बुलेन्स सेवा’ सुरु गरिएको थियो।
एकीकृत सेवा सञ्चालनार्थ काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मक रुपमा सञ्चालन गरिएको छ। काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपाल्चोकका ३१ एम्बुलेन्समा जीपीएस् प्रणाली जडान गरी एम्बुलेन्सको बर्गीकरण गरी सञ्चालन गरिएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानु श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना सङ्क्रमणको फैलावटका आधारमा विशेष गरी एम्बुलेन्स अभावको वर्तमान समयमा यो सेवा निकै प्रभावकारी मानिएको छ।
बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफाेन प्रयोगकर्ताले १०२ नंवरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको ब्यवस्थापन गर्ने प्रणाली ब्यवस्थित गरिएको छ । काभ्रेमा ‘क’ वर्गको भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवनरक्षा सामग्री भएको) एक, ‘ख’ वर्गको (प्यारामेडिक्ससहित स्वासप्रस्वास बन्द भएमा र मुटुको धड्कन बन्द भएको अवस्थामा डीफीब्रिलेशन गर्नसक्ने दक्ष जनशक्तिसहित) पाँच एम्बुलेन्स रहेका छन् । श्रेष्ठका अनुसार जिल्लामा ‘ग’ वर्गका सामान्य एम्बुलेन्स ३६ छन् ।
सिन्धुपाल्चोकमा रहेका ३१ एम्बुलेन्समध्ये तीन ‘ख’ वर्गका र बाँकी २८ ‘ग’ वर्गमा सामान्य रहेका छन् । सबै एम्बुलेन्समा जीपीएस् प्रणाली जडान गरिएपछि दुवै जिल्लाका एम्बुलेन्सकाे गतिविधि धुलिखेलस्थित डिस्प्याच सेन्टरले गर्दै आएको श्रेष्ठले जानकारी दिए। उनले भने “विरामीलाई अस्पताल ल्याउने सवालमा कुनै कमी गरिएको छैन।” उनका अनुसार दुवै जिल्लाका एम्बुलेन्समा हाल तालिमप्राप्त चालक र प्यारमेडिक्स परिचालन गरिएको छ।
सरकारले गत बर्ष एकीकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गर्दै देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो–छरितो रुपमा कोरोनाका विरामीलाई सेवा प्रदान गर्न भनेको थियो। उक्त निर्देशिकामा तीन अङ्कको टेलिफोन नंवरको ब्यवस्था गरी सञ्चार प्रणाली र डिस्प्याच सेन्टर स्थापना गरी उक्त केन्द्रमार्फत एकीकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख गरिएको छ। सरकारको निर्देशिकाअनुसार धुलिखेल अस्पतालमा सेन्टर स्थापना गरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स् सेवा सञ्चालन गरिएको नेपालमै पहिलो रहेको थियो।
काभ्रेका स्थानीय जनप्रतिनिधिले भने आफ्ना सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सहमति दिइरहेका छन्। पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नीजिसहित नगरका अन्य जनप्रतिनिधि र कर्मचारीको तीन गाडीलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गर्न सहमति दिएका छन्।
मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवासहितको तीन सवारी साधन, र भुम्लु गाउँपालिकाको अध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई सङ्क्रमितको उपचारमा प्रयाेग गर्न एम्बुलेसकाे रुपमा सञ्चालन गरिने भएको हो। पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादेले पनि आफ्नो नीजि गाडी गृहनगर बनेपामा कोरोनाका विरामी ओसार–पसार गर्न एम्बुलेन्स् बनाएका छन् । उनले काभ्रे अटो मेकानिक्स ब्यवसायी संघको सहकार्यमा ‘कोभिड–१९ एम्बुलेन्स्’ बनाएका हुन्। “यो अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ” उनले भने ।रासस





























प्रतिक्रिया