चीनले पठाएको सिलिन्डर वितरण थालियो, थप सिलिन्डर पनि छिटै आउने

चीनले पठाएको सिलिन्डर वितरण थालियो, थप सिलिन्डर पनि छिटै आउने


अक्सिजन सिलिन्डर अभावले कोरोना संक्रमितको उपचार हुन नपाएको र नेपालमा भएका सिलिन्डरले माग धान्न नसकेपछि चीन सरकारले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिन्डर ल्याउन सुरु गरिएको छ। पहिलो चरणमा चीनले पठाएको चार सय अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको जहाजमार्फत् काठमाडौं ल्याएसँगै बितरण सुरु भएको छ।

मंगलबार चार सय अक्सिजन सिलिन्डर, १ सय ६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको छ भने हवाई चार्टर गरी ल्याईएको चार सय थान अक्सिजन सिलिन्डर काठमाडौं उपत्यकाका विभिन्न  दश अस्पतालहरुमा पठाईएको छ र दुईवटा उपत्यका बाहिरका अस्पतालहरुमा पठाईएको छ।

जसमध्ये वीर अस्पतालमा ५० थान, पाटन अस्पतालमा ५० थान, एपिएफ अस्पतालमा २५ थान, सिभिल अस्पतालमा ४० थान, टिचिङ अस्पतालमा ५० थान, किष्ट मेडिकल कलेजमा २० थान, केएमसीमा २० थान, एनएमसीमा २० थान, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्रमा २० थान, मनमोहन अस्पतालमा २० थान रहेको छ। 

त्यस्तै २ बटा प्रादेशिक अस्पतालहरुमा पनि उक्त अक्सिजन सिलिन्डर पठाइएको छ। जसमध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा ४५ थान र सेती प्रादेशिक अस्पतालमा ४५ थान रहेको छ। 

नेपालमा कोरोना संक्रमण उच्च रुपमा फैलिएसँगै देशभरि बिरामीको उपचारमा प्रयोग हुने अक्सिजन हाहाकार भएको छ। अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनु परेको छ। अर्का तिर अक्सिजन सिलिन्डरको अभावमा अस्पतालहरुले हात उठाइरहेका छन्। अस्पतालहरुले विज्ञप्ति जारी गर्दै थप संक्रमित राख्न नसकिने जनाइरहेका छन्।

त्यसो त उद्योगबाट २४ घन्टा अक्सिजन उत्पादन भए पनि सिलिन्डर नहुँदा अस्पतालमा अक्सिजन अभाव देखिएको छ। अक्सिजन नहुँदा उपत्यकाका अधिकांश अस्पतालले उपचार गर्न नसक्ने भन्दै संक्रमितलाई फिर्ता पठाइरहेका छन्। 

२० हजार सिलिन्डरमध्ये चार सय थान आएको र बाँकी सिलिन्डर तयार हुनासाथ चीनबाट ल्याउन जहाजलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

त्यसो त नेपालमा अहिले करिव १८ हजार सिलिन्डरको दैनिक माग छ, तर उत्पादन भने यसको ठ्याक्क आधा रहेको उद्योगीहरुले बताएका छन्।

अक्सिजन सिलिन्डरको अभाव नहोस भनेर गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ। अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बेला संघले सिलिन्डर पठाउने भएको हो।

Logo