भक्तपुर बस्दै आएकी ३८ वर्षिया प्रतिमा (नाम परिवर्तित) गत साता एक्कासि बिरामी भइन्। उनमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणका लागि मध्यपुर अस्पताल लगियो। तर, पिसिआर रिपोर्ट नेगेटिभ आयो। पूरै परिवारको पिसिआर परीक्षण गर्ने क्रममा उनका छोरामा भने कोरोना संक्रमण भएको पत्ता लाग्यो।
कोभिड–१९ सँग लक्षण मिल्ने तर पिसिआर रिपोर्ट नेगेटिभ आउने यस किसिमका केस काठमाडौँका अन्य अस्पताल र ल्याबमा पनि देखिँदै आएका छन्।
काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल इन्टरनल मेडिसिन विभागका सह–प्राध्यापक डा. सुभास पन्तका अनुसार कोरोनाको लक्षण भएका केसमध्ये कोरोना संक्रमण पिसिआर परीक्षणमा नेगेटिभ देखिने प्रकृतिका केस १५ प्रतिशत हाराहारी छन्।
कोरोना लक्षण भएर पनि पिसिआर परीक्षणमा नदेखिनुलाई चिकित्साको भाषामा ‘फल्स नेगेटिभ’ भनिन्छ। ‘भाइरोलोजी जर्नल’मा प्रकाशित एक अध्ययनमा ९५ हजार ९ सय १९ मानिसमा कोरोना परीक्षण गर्दा भेटिएका ५२ शंकास्पद नेगेटिभ केसको गहन पुनः परीक्षण गर्दा ५२ मध्ये ५ वास्तवमा पोजिटिभ रहेको पाइयो। यहाँ फल्स नेगेटिभ ९.३ प्रतिशत हुन आउँछ।
नेपालमा भने त्यस किसिमको अध्ययन भएको पाइँदैन।
पिसिआर परीक्षण कति सटिक?
डा. पन्तका अनुसार कोरोना संक्रमण कुन चरणमा छ र स्वाब कहाँबाट लिइएको हो भन्ने कुराले पिसिआर परीक्षणको प्रामाणिकता निर्धारण गर्छ।
‘संक्रमणको सुरुआती र अन्तिम चरणमा शरीरमा भाइरल लोड (भाइरसको घनत्व) कम हुन्छ। लोड कम भएका बेला गरिएको परीक्षणमा भाइरस पत्ता नलाग्न सक्छ,’ उनले भने।
‘पिसिआर परीक्षणका लागि नाक, घाँटी वा फोक्सोबाट स्वाब निकाल्न सकिन्छ। सबैभन्दा प्रामाणिक परिणाम दिने फोक्सोबाट निकालिएको स्वाबले हो। यसमा ९२ प्रतिशतसम्म एक्युरेट परिणाम पाउन सकिन्छ। नाकबाट निकालिएको स्वाबले ६३ प्रतिशत एक्युरेट परिणाम दिएको पाइन्छ। सबैभन्दा कम ३२ प्रतिशत एक्युरेसी घाँटीबाट लिएको स्वाबले दिन्छ,’ डा. पन्तले भने।
काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल इन्टरनल मेडिसिन विभागका सह–प्राध्यापक डा. सुभास पन्तका अनुसार कोरोनाको लक्षण भएका केसमध्ये कोरोना संक्रमण पिसिआर परीक्षणमा नेगेटिभ देखिने प्रकृतिका केस १५ प्रतिशत हाराहारी छन्।
नयाँ भेरियन्टले पिसिआर परीक्षण छल्न सक्छ कि सक्दैन?
कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ भेरियन्ट (प्रकार) हरू पनि देखिन थालेका छन्। भाइरसको जीन (वंशाणु) मा म्युटेसन (उत्परिवर्तन) भएर नयाँ भेरियन्टको विकास हुने गर्छ। अहिलेसम्म संयुक्त अधिराज्य, भारत, ब्राजिल र दक्षिण अफ्रिका लगायत विभिन्न ठाउँमा नयाँ भेरिएन्ट विकास भई संसारका विभिन्न देशमा पुगेका छन्।
फेब्रुअरीमा फिनल्यान्डको भाइटा ल्याबोरेटरिजका वैज्ञानिकले कम्तिमा एक किसिमको स्तरीय पिसिआर परीक्षण छल्न सक्ने भेरिएन्ट पत्ता लगाएका थिए। यद्यपि, त्यस भेरियन्टले सबै किसिमका पिसिआर परीक्षण छल्न सक्ने भन्ने पुष्टि भएको छैन। भाइरसको वंशाणुको कुन भागको खोजी गर्ने भन्ने कुराले पिसिआर परीक्षणको प्रकार निर्धारण गर्ने गर्छ।
रुइ वाङको नेतृत्वमा अमेरिकी विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानले भाइरसमा हुने उत्परिवर्तनले भाइरसको परीक्षण छल्न सक्ने क्षमतामा प्रभाव पार्न सक्ने र त्यसै अनुसार परीक्षण किट र प्रविधिलाई विकास गर्दै लैजानुपर्ने निष्कर्ष निकालेको थियो। अहिले प्रयोगमा रहेको पिसिआर प्रविधिले पहिचान गर्नै नसक्ने कोभिड–१९ भेरिएन्ट भने भेटिएको छैन।
नेपालमा कोरोना भाइरसका कुनकुन भेरिएन्ट सक्रिय छन् अनि तिनमा कस्ता खालका उत्परिवर्तन हुँदैछन् भन्ने यकिन नभएकाले लक्षण भएको तर पिसिआर परीक्षणमा नेगेटिभ आएका केसमा भेरियन्टको भूमिका छ कि छैन भन्ने स्पष्ट नभएको डा. पन्तले बताए।
अध्ययनको अभावमा कोरोना महामारी कुन रूपमा विकास हुँदैछ भन्ने अस्पष्ट हुँदै गएको देखिन्छ।
पिसिआर नेगेटिभ भएको तर लक्षण देखिएकालाई नेपालमा के गरिँदैछ?
लक्षण देखिएको तर कोरोना पुष्टि नभएका मानिसलाई कोभिड–१९ कै सरह चिकित्सकीय कदम लिँदै आएको काठमाडौँ मेडिकल कलेजका प्राध्यापक डा. सुनिल कुमार जोशीले बताए।
‘पिसिआरमा पोजिटिभ नेगेटिभ जे आए पनि हामीले लक्षण अनुसारको उपचार विधि अपनाउँदै आएका छौँ,’ डा. जोशीले भने।
कोरोना पुष्टि भएका र लक्षण मात्र देखिएका दुवैलाई रेम्डेसिभिर र स्टेरोइड दिँदै आइएको डा. पन्तले जानकारी दिए।





























प्रतिक्रिया