व्यास गाउँपालिका१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोरेटो बाटो निर्माण सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको व्यास विशेष कार्यक्रम अन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो।
व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो। यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो। पञ्चायतकाल यता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ।
प्रदेश सरकारको रु ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए। छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ। उनले भने, “यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो। त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो। भत्किएका केही ठाउँमा नयाँ बनाइएको उनले जानकारी दिए। उनी भन्छन्, “अहिले यो बाटो विगतकै जस्तो चौडा बाटो निर्माण भइरहेको छ।”
विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ। तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे। नेपालले आफ्नो भूमि भएको दाबी गर्दै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उनको भनाइ छ।
“हाम्रा बुबा बाजेहरु चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिड्ने पुख्र्यौली बाटो यहि हो”, व्यास १ का विमल बोहराले भने, “ठाउँठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरु छन्। भत्किएका घरहरु अहिले पनि देखिन्छन्। अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ।”
निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ। वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ। भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउने घोषणा गरेका थिए।
हिउँ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र प्रहरी
व्यासमा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो। नम्बर ५० गुल्म प्रमुख शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ।
नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ। गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ। कालापानीभन्दा ३०० मिटर नजिककै गस्ती गर्ने गरेका छौं, व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भने।
गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन्। सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो ।
छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो। यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो।रासस





























प्रतिक्रिया