गत वर्षको लकडाउनद्वारा सिर्जित काकाकुल अवस्थाले चेतिएकाहरु लकडाउनको घोषणासँगै आ–आफ्नो गाउँ लागे । गाउँमा कोरोना कोसेली लगेर गए। अघिल्लो वर्षझैं ठूला सहरबाट लकडाउनको घोषणासँगै धेरैले गाउँको बाटो समाए।
निश्चित घेरामा नियन्त्रण गरी कोरोना भाइरस फैलन नदिने र नियन्त्रण गर्ने उद्देश्यले गरिएको लकडाउन यसपालि पनि त्यस अनुरुप हुन सकेन। लकडाउनको घोषणासँगै सहर छाड्ने उल्लेख्य भए।
लकडाउनमा विविध बहाना बनाइ ओहोरदोहोर गर्ने चलन दोहोरियो। कोरोनालाई निश्चित घेरामा सीमित गर्ने योजना फेल खायो।
मुगु जिल्ला उल्लिखित घटनाक्रमद्वारा अछुतो हुन सकेन। मुगुमा पनि देशका ठूला सहरहरुबाट कोरोना प्रवेश भयो। आज मुगु जिल्ला त्रसित छ।
.jpg)
वैशाख २४ गतेदेखि मुगु जिल्लाको सदरमुकाम गमगढीमा निषेधाज्ञा छ। कोरोना जोखिम न्यूनीकरणमा केही फाइदा पुगेको देखिन्छ। तर, जोखिमको मात्रा गमगढी बजारसँगै हिमाली गाउँतिर फैलिएको देखिन्छ।
यो आलेख तयार पार्दै गर्दा, मुगुमा १ सय ४९ जनालाई कोरोना पोजिटिभ देखिएको छ। चार स्थानीय तह रहेको मुगुमा एउटा जिल्ला अस्पताल छ, जहाँ १० बेड कोभिडका बिरामीका लागि छुट्याइएको छ। जम्मा दुई बेड मात्र छ। भेन्टिलेटर छैन।
२० बेडको आइसोलेसन वार्ड बनाउने योजना छ। भौतिक पूर्वाधार, पूर्वतयारी तथा प्रतिकार्य क्षमताको हिसाबले मुगु कमजोर छ।
यार्सागुम्बा संकलनले निम्त्याएको जोखिमः
सदरमुकामदेखि उत्तरपट्टि रहेको मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँमा दर्जनौं लेकमा यार्सागुम्बा पाइन्छ। त्यस्तै, डोल्फु गाउँको केही लेकमा यार्सागुम्बा पाइन्छ। उक्त बहुमूल्य यार्सागुम्बा संकलनको अनुमति गाउँपालिकाले दिने गर्दछ। पोहोर साल अनुमति नदिने निर्णय गरेको गाउँपालिका यो वर्ष अनुमति दिने मनस्थितिमा थिए।
त्यही प्रकारले हल्लाखल्ली चारैतिर गए, जसले गर्दा हिमालतिर मान्छे ओइरो लागे। अहिले गाउँपालिकाले यार्सा संकलनलाई निषेध गर्ने निर्णय गरेको छ। तर, यार्सा टिप्नकै लागि छिमेकी जिल्ला तथा क्षेत्रहरुबाट विभिन्न चोरबाटो प्रयोग गरी हिमाली क्षेत्रतिर प्रवेश गरिसकेका छन्। उल्लेख्य संख्यामा लेक पुगिसकेका छन्।
कति लुकिछिपी रातको समयमा प्रहरी चौकी पार गरिरहेका छन्। कति लालाबालासहितको परिवार हिमालतर्फ जाँदै गरेको देखिन्थ्यो।
यो आलेख तयार पार्दै गर्दा, मुगुमा १ सय ४९ जनालाई कोरोना पोजिटिभ देखिएको छ। चार स्थानीय तह रहेको मुगुमा एउटा जिल्ला अस्पताल छ, जहाँ १० बेड कोभिडका बिरामीका लागि छुट्याइएको छ। जम्मा दुई बेड मात्र छ। भेन्टिलेटर छैन।
यसपालि चहलपहल उच्च देखियो। लकडाउन छल्न र यार्सा टिप्न आउनेहरुले कोरोना बोकी ल्याएको सम्भावना देखिन्थ्यो। अनुमान गरेअनुरुप नै संक्रमण देखियो। सहरहरुबाट गाउँ जानेहरु र गाउलेहरुबीच हिचमिच भैसकेका छन्।
धेरै गाउँहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षणको रोग देखिएको छ। गाउँहरुमा कोरोना पोजिटिभ पुष्टि हुने क्रम जारी छ। थप गाउँ संक्रमणको नजिक छन्।
स्थानीय सरकार तथा प्रशासनको भूमिका के?
शान्त गाउँहरुमा कोरोना संक्रमण पुष्टि भैसकेको अवस्था छ। मुगु सदरमुकामबाट ४/५ दिनमा पुगिने खर्कमा यार्सा टिप्नेहरु पुगिसकेको अवस्था छ। कति बाटोघाटोमै होलान्।
शंकास्पद कोरोना संक्रमित र गाउँलेहरुको भेटघाट तथा हिचमिच भैसकेको अवस्था छ। चिसो लेकमा संक्रमणको जोखिम र प्रभाव उच्च देखिन्छ। भौगोलिक हिसाबले दूरदराजमा रहेको उक्त क्षेत्रहरुमा भयानक स्थिति नहोला भन्न सकिँदैन।
अब के गर्नुपर्ला?
अन्तमा, स्थानीय सरकार र प्रशासनले उक्त क्षेत्रहरुमा प्रवेश गरेका सबैलाई पिसिआर परीक्षणको व्यवस्था तुरुन्त मिलाउनुुपर्दछ। मुगुम कार्मारोङ गाउँपालिका प्रवेश गर्ने नाका छाइला या पुलुमा (जहाँ गाउँपालिकाको कार्यालय छ) पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने देखिन्छ।
यदि कोही जानीनजानी लेक पुगेको अवस्थामा लेकमै पिसिआर परीक्षण गर्नुपर्ने देखिन्छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका गाउँलेहरुको तुरुन्त परीक्षण गरी होम आइसोलेसनमा राख्नुपर्दछ। परीक्षणको दायरा ज्यादै फराकिलो बनाउनुपर्ने देखिन्छ।
परीक्षणसँगै कोभिड संक्रमण न्यूनीकरण गर्ने सामग्रीहरु (मास्क, स्यानिटाइजर, साबुन आदि) वितरण गर्नुपर्ने देखिन्छ। सुरक्षित भई जनचेतनाका कार्यक्रम समुदाय तहमा फैलाउनुपर्ने देखिन्छ।
सदरमुकाम गमगढीमा निषेधाज्ञा छ। तर, आसपासका गाउँहरुसँगको ओहोरदोहोर रोकिएको छैन। कोरोना संक्रमण भेटिएका स–साना बजार क्षेत्रहरुलाई समेत निषेधाज्ञा गर्नुपर्ने देखिन्छ। परीक्षणको दायरा तुरुन्त वृद्धि गर्नुपर्ने देखिन्छ।
यार्सा हिमाली क्षेत्रको जिन्दगी हो। यार्सा टिपेर जिन्दगी चलाउने सपनासहित आउने जोकोहीको जीवन रोकिनु हुँदैन। निर्दोष गाउँलेहरुले कोरोना कोसेली पाउनु हुँदैन। सबैलाई सुरक्षित बनाउने राज्यको दायित्व हो।
कठिन भूगोल, सीमित भौतिक पूर्वाधार तथा मानव स्रोत साधन, विपद् प्रतिकार्य क्षमता कम भएको विकट जिल्लाले पूर्वतयारीमै विशेष भूमिका खेल्नुपर्ने देखिन्छ। आमनागरिक, संघसंस्था तथा साझेदार निकाय जिम्मेवार बन्नुपर्ने देखिन्छ। स्थानीय तह या सरकार र प्रशासनलाई साथ र सहयोग गर्नुपर्ने देखिन्छ।
(विपद् व्यवस्थापनमा लामो अनुभव सँगालेका लेखक मुगुमा रहेर एउटा गैरसरकारी संस्थामा काम गर्छन्।)































प्रतिक्रिया