नवलपरासी ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न अवकाशपछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयंसेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।
अब नगरभित्रका महिला स्वयंसेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए। नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।
यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भने, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ । ”
बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयंसेविका छन् । अवकाशपछि उनीहरुलाई एकमुष्ठ रु दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ । समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयंसेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उनले बताए।रासस





























प्रतिक्रिया