खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गरेका छन्। 

खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन्। प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरुलगायत अनुगमनमा सहभागी रहेका थिए। 

‘काठमाडौँ महानगरले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,’ शाक्यले भने, ‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्ने छैन। उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटा मध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ।’ 

उनले साथमा उमेर समूह खुल्ने परिचयपत्र बोक्न र पायक पर्ने ठाउँमा खोप लगाउन पनि आग्रह गरे। ‘उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोलमा माइकिङ गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘हामीले घरघरमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेका छौँ। त्यसकारण कोही छुट्ने छैनन भन्ने हामीले अनुमान गरेका छौँ ।’ उनले यो चरणमा मात्रै एक लाख सहभागी हुने लक्ष्य लिएको जानकारी दिए।   

शाक्यले आज वडा १३ को जनप्रभात मावि कालीमाटी, वडा २१ को यंगाल सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा २३ को ओम वहाल र वडा २५ कन्या मन्दिर माध्यमिक विद्यालयमा राखिएका खोप केन्द्रको अनुगमन गरेका छन्।

विगतका दिनमा विभिन्न अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका गुनासो आएपछि त्यसलाई सम्वोधन गर्दै महानगरले ३२ वटा वडामा ३२ वटै केन्द्र बनाएर खोप अभियानलाई व्यवस्थापन गरेको बताए।

वडाध्यक्ष, सदस्य, स्वयंसेवक, सामाजिक संस्थाका प्रतिनिधिहरुको निरन्तरको खटाइले थप सहज भएको पनि शाक्यले जानकारी दिए। अनुगमनका क्रममा सकेसम्म छिट्टै सबैलाई खोपको व्यवस्था मिलाउन सुझाव दिए। 

Logo