काठमाडौँ महानगर क्षेत्रभित्र दुई दिनमा साढे १८ हजारले लगाए खोप

काठमाडौँ महानगर क्षेत्रभित्र दुई दिनमा साढे १८ हजारले लगाए खोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका छन्।  

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ। खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७  सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। 

पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए। दोस्रो दिन ४ हजार ८ सय ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको पनि विभागले जानकारी दिएको छ। ‘दोस्रो दिन दोस्रो डोज लिन छुटेका थप ४ सय ७५ सहित ९ हजार ८ सय ४१ जना खोप कार्यक्रममा सहभागी भएका छन्,’ कुँवरले भने, ‘काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भइरहेको छ।’ 

कुँबरले पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोवास गर्ने सबै नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे। 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पनि कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरे । ‘सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी हुन आग्रह गर्छु,’ उनले भने, ‘खोप लगाइ सकेका नागरिक र हामी सबैले छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नुपर्छ।’

Logo